एक हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी देविका वन्दनालाई रेडियो कान्तिपुरले 'सलाम ज्यूँदो इतिहासलाई' कार्यक्रममा सम्मान गरेको छ
काठमाडौँ — एक हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी वरिष्ठ गायिका देविका वन्दनालाई रेडियो कान्तिपुरले शनिबार 'सलाम ज्यूँदो इतिहासलाई' कार्यक्रममा सम्मान गरेको छ । ४ दशकयता नेपाली संगीतको उन्नयनमा सक्रियतापूर्वक लागेकामा रेडियोले उनलाई सम्मान गरेको हो ।
कुनै समय नेपाली पार्श्व गायनमा एकछत्र राज गरेकी उनले १ सयभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । नेपालीबाहेक नेवारी, मैथली, भोजपुरी, मराठी र हिन्दी भाषामा पनि उनले गीत गाएकी छन् । उनको एकल एल्बमको संख्या डेढ दर्जन हाराहारी छ ।
रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले संगीतमा देविका वन्दनाले पुर्याएको योगदानका साथै प्राणघातक क्यान्सर लाग्दासमेत संगीत कर्म नछोड्ने उनको साहसका बारेमा चर्चा गर्न पनि कार्यक्रम सफल भएको बताए । रेडियोका तर्फबाट सम्मानपत्र र दोसल्ला ओढाएर आचार्यले देविका वन्दनालाई सम्मान गरे ।
विद्यालयस्तरबाटै सांगीतिक कार्यक्रमहरूमा भाग लिएकी देविकाले भारतीय संस्था प्रयाग संगीत समिति, भारतबाट एम म्युज (संगीतविशारद) सम्मको औपचारिक अध्ययन पूरा गरेकी छन् । उनको पहिलो गीत 'हे मायालु तिमीलाई’ २०४६ सालमा रेकर्ड भएको थियो । सो गीत प्रवीण गुरुङको एल्बम 'संगम’ मा समावेश थियो ।
उनको पहिलो एल्बम 'परदेशी’ २०५२ सालमा सार्वजनिक भयो । सो एल्बमको 'एउटा परदेशी आई' बोलको गीतले नै उनलाई चर्चाको शिखरमा पुर्यायो । गीतमा ललिजन रावलको शब्द र नरेन्द्र प्यासीको संगीत रहेको छ । त्यतिबेला नै यादव खरेलको शब्द र शम्भुजित बास्कोटाको संगीतमा सजिएको गीत 'यस्तै रहेछ यहाँको चलन’ सार्वजनिक भयो र त्यसपछि देविकाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
'सुरुमा संगीतमा लाग्दा रहर थियो । पछि साधना गरेँ । अहिले क्यान्सर जितेर आएपछि मेरो जन्म नै संगीतको लागि भएको हो कि भन्ने लाग्दै छ,' देविकाले सुनाइन् ।
गायिकाका रूपमा मात्र नभई देविका सिर्जनात्मक लेखनमा पनि सक्रिय छिन् । उनको 'यहाँको चलन’, 'सपनी’, र 'जित्नेको हाँसो’ नामक पुस्तक प्रकाशित छ । पुस्तकहरूको बिक्रीबाट आएको आम्दानी अनाथ बालबालिका र वृद्धवृद्धाको सहयोगमा खर्चिने गरेको उनले सुनाइन् ।
भजन गाउन मन पराउने देविकालाई नेपाली भाषाको आरती गाउने गायिकाका रुपमा पनि धेरैले चिन्छन् । 'घरमा आमा र सासूले पूजा गर्दा हिन्दीमा आरती गरेको सुनेपछि मैले नेपालीमै आरती रेकर्ड गराउने सोच बनाएकी थिएँ । अहिले विदेशका मन्दिरमा पनि नेपालीमा आरती हुँदा खुसी लाग्छ,' उनले भनिन् ।
जीवनको पछिल्लो कालखण्ड भने उनको स्तन क्यान्सरसँग लडेर बित्यो । क्यान्सर लागेकै बेला पनि उनले गीतहरु रेकर्ड गर्न छाडिनन् । 'किमो चलाएको ४–५ दिनपछि म गीत रेकर्ड गर्न जान्थेँ, 'उनले भनिन्, 'मलाई संगीतले नै शक्तिशाली बनाएको अनुभव भयो । त्यसकारण जस्तोसुकै परिस्थितिमा पनि यसलाई अँगाल्ने गरेको छु ।'
कार्यक्रममा चर्चित कलाकार रुपक डोटेल, प्राश्ना शाक्य, निशा देशार, सरिता शाही र मञ्जु थापाले देविकाका केही कालजयी गीत प्रस्तुत गरेका थिए । कार्यक्रम रेडियो कान्तिपुर र कान्तिपुर म्याक्स टेलिजिभनबाट प्रत्यक्ष प्रसारण भएको थियो ।
