गायक प्रेमध्वजलाई सम्झँदै चार स्रष्टालाई सम्मान

जेष्ठ २८, २०८२

अनिश तिवारी

Tribute to four creators remembering singer Premadhwaj

सिन्धुपाल्चोक — गायक प्रेमध्वज प्रधानको ८९औँ जन्मजयन्ती सिन्धुपाल्चोकको चौतारामा मंगलबार भव्य रूपमा मनाइएको छ । प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा र चौतारा साँगाचोकगढी नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा चार जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केका अनुसार वरिष्ठ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान गरिएको छ । सम्मानस्वरूप उनलाई एक लाख एक हजार रुपैयाँ राशिको नगद पुरस्कार दिइएको हो । नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले राणालाई प्रदान गरिएको सम्मान हस्तान्तरण गरेका थिए ।

वरिष्ठ वादक मोहनकृष्ण कार्की ढलीलाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसंगीत सम्मान २०८२’ प्रदान गरिएको थियो । उनले ५० हजार एक रुपैयाँ राशिको पुरस्कार प्राप्त गरे । गायक सुरजकुमार थापा ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा संगीत पुरस्कार २०८२’बाट सम्मानित भएका थिए । पुरस्कार राशि ५० हजार एक रुपैयाँ रहेको थियो ।

सिन्धुपाल्चोक निवासी गायक चन्द्रसिंह घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा संगीत पुरस्कार २०८२’ प्रदान गरिएको थियो । उनलाई २५ हजार एक रुपैयाँ राशिको नगद पुरस्कार दिइएको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रेमध्वज प्रधानकी धर्मपत्नी समेत रहेकी किरण प्रधानले पुरस्कारहरू हरेक दुई वर्षमा संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रदान गरिने जानकारी दिइन् ।

कार्यक्रममा गायक प्रेमध्वज प्रधानका कालजयी गीतहरू प्रस्तुत गरिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । गायक प्रधानले आफ्नो स्मृतिमा जन्मभूमिमा यस्ता कार्यक्रम आयोजना गरियोस् भन्ने इच्छा जीवनकालमै व्यक्त गरेका थिए ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully