इजरायली प्रोड्युसरको वाचा– 'म फेरि नेपालमा फिल्म बनाउन चाहन्छु'

जेष्ठ २८, २०८२

समर्पण श्री

Israeli producer's promise - 'I want to make a film in Nepal again'

काठमाडौँ — गत जेठ ५मा इजरायली फिल्म ‘ह्वेन क्लाउड्स फल’को एक महिना लामो छायाङ्कन नेपालमा सम्पन्न भयो ।मनाङ, पोखरा हुँदै काठमाडौंमा अन्तिम छायाङ्कन गरेर निर्माण टिम इजरायल फर्केको छ । इजरायली र नेपाली पात्रहरूको कथामा आधारित फिल्मका अधिकांश दृश्य नेपालमै खिचिएका थिए । रोचक कुरा त फिल्ममा इजरायलका चर्चित अभिनेता एलोन अबुटबुलसँग नेपालकी अभिनेत्री मेनुका प्रधान र डेब्यु कलाकार रिकेन परियारले स्क्रिन सेयर गरेका थिए ।

फिल्मलाई केहात फिन्केल र मातान पोर्टनोयले संयुक्त निर्देशन गरेका थिए । छायाङ्कनको क्रममा फिल्मका निर्माता एलेक्स अस्मोलोभ्स्कीसँग नेपाल र इजरायली टिमको सहकार्यबारे जिज्ञासा राखिएको थियो । एलेक्स इजरायली अभिनेता, निर्देशक र फिल्म निर्माता हुन् । उनले ‘इन्डिगो’, ‘पोर कोकेन’, ‘लास्ट एड’, साइलेन्ट गेम, मेक लभ र ओसियन अन फायर लगायतका फिल्ममा निर्माता तथा निर्देशकका रूपमा काम गरेका छन् । उनै एलेक्ससँग ई–कान्तिपुरका लागि समर्पण श्रीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

फिल्म ‘ह्वेन क्लाउड्स फल’ नेपाली कथामा आधारित कथा हो ? यसको आइडिया कसरी आयो ?

सबैभन्दा मुख्य कुरा त कथा हो । जब कथा राम्रो हुन्छ, त्यसलाई जीवन्त बनाउने सबै प्रयास गरिन्छ । यो कथा पनि निकै महत्वपूर्ण थियो । नेपालको अन्नपूर्ण क्षेत्रमा सन् २०१४ मा हिमपहिरो गएको थियो । त्यो हिमपहिरोमा इजरायली नागरिकको पनि मृत्यु भयो ।

जब यो कथाबारे छलफल भयो । हामी उत्साहित भयौँ ।  मलाई लाग्यो, ‘यसबारे फिल्म बनाउनैपर्छ ।’ यो भावनात्मक कथा थियो । यो सत्य कथा म इजरायली दर्शकहरूलाई सुनाउन चाहन्थेँ । अर्को एक महत्वपूर्ण कुरा के भने, मलाई नेपाल संसारकै सुन्दर देशहरूमध्ये एउटा लाग्छ ।  प्रकृतिले नै यहाँ धेरै कुरा सिकाउँछ ।

राम्रो कथा, सुन्दर लोकेशनहरू । यी सबै कुराको संयोजनबाट उत्कृष्ट फिल्म बनाउन सकिन्छ । हाम्रो बलियो आधार नै के हो भने, फिल्म वास्तविक घटनामा आधारित कथा हो । 

सुटिङका दौरान तपाईंहरू नेपालका सुन्दर ठाउँ मानिने मनाङ र पोखरा पुग्नुभयो । खासमा कथा भन्नका लागि नेपाल कति उपयुक्त ठाउँ रहेछ ?

म यसपालिसहित दोस्रो पटक नेपाल आएँ । पहिलोपटक नोभेम्बरमा आएको थिएँ । मैले केही भिडियोहरू हेरेको थिएँ । मलाई थाहा थियो नेपाल धेरै सुन्दर देश हो । तर यहाँ आएपछि मलाई यो ठाउँले फरक महसुस गरायो ।

मलाई लाग्थ्यो, नेपाल भारतजस्तै होला, तर बिल्कुलै होइन रहेछ । नेपाल धेरै शान्त, सुरक्षित र आधुनिक देश रहेछ । भारतमा जस्तो भीड, हतार, चर्काचर्की नेपालमा छैन । यहाँको वातावरण एकदमै सहज लाग्यो ।

मैले युरोपका धेरै देशमा सुटिङ गरिसकेको छु । कतिपय ठाउँमा ठूलाठूला शहरबाट दुई घण्टा टाढा गयो भने गाउँमा जाँदा अलिक डर लाग्ने गर्छ– सुरक्षाको हिसाबले पनि । तर नेपालमा जुनसुकै गाउँमा गए पनि त्यस्तो डर लाग्दैन । जहाँ गयो, सुरक्षित महसुस भयो । त्यस हिसाबले नेपाल साँच्चै अचम्मको देश लाग्यो मलाई । मलाई लाग्छ, विश्वले थाहा पाउनुपर्छ– नेपाल साँच्चै राम्रो देश हो, र यहाँका मान्छेहरू पनि त्यत्तिकै असल छन् ।

यहाँका मान्छेहरूबीचको सम्बन्ध पनि एकदमै राम्रो छ । यो सानो तर महत्वपूर्ण कुरा हो जस्तो लाग्छ । म पहिले सोच्थेँ, सायद यहाँ इन्टरनेट वा फोन कनेक्सन राम्रो नहोला, तर सबै कुरा राम्रोसँग चलिरहेको छ ।

यहाँको आध्यात्मिक शक्ति पनि राम्रो छ, खाना पनि निकै स्वादिलो लाग्यो । फिल्म बनाउने हिसाबले हेर्दा पनि नेपालले मलाई अचम्ममा पार्‍यो । यहाँको टम एकदमै प्रोफेसनल रहेछन् । यहाँको फिल्म निर्माणको पुरानो परम्परा महसुस गर्न पाइयो । जुन टिमसँग काम गर्दा एकदम राम्रो लाग्यो ।

Israeli producer's promise - 'I want to make a film in Nepal again'

धेरै देशहरूमा यस्तो हुन्थ्यो– कुनै ठाउँमा फिल्म उद्योग अझै सुरु हुँदैछ, त कतै पुस्तौं देखिको अनुभव छ । नेपालमा चाहिँ त्यो अनुभवको गहिरो जरा देखियो । यहाँको टिम हाम्रो टिमले बराबरीको प्रोफेसनलस्तरमा काम गर्नसक्छ । हाम्रो काम गर्ने शैलीसँग नेपाली टिमको कनेक्सन राम्रो थियो । कहिलेकाहीँ विभिन्न देशका टिम मिलेर काम गर्दा कुरा जम्दैन, तर यहाँ सबै कुरा सुन्दर किसिमले मिलेको देखियो । एउटै लाइनमा भन्नुपर्दा नेपालले मलाई अचम्मै पार्‍यो ।     अनि यो अनुभवबाट म एकदमै खुसी छु । 

यो फिल्म निर्माणका लागि तपाईंहरू विभिन्न देशबाट हुनुहुन्छ । हामी फरक समाज, फरक भूगोबाट फिल्मबारे सोच्छौं । फरक फरक देशबाट एउटै फिल्मका लागि सोचेर काम गर्दा फिल्मप्रतिको समान अनुभूति के हुने रहेछ ? वा भनौं के कुराले एकअर्कालाई जोड्ने रहेछ ?

मलाई लाग्छ, फिल्म बनाउनु एउटा अद्भुत कुरा हो । सेटमा सबै जना फिल्म बनाउने भाषामै बोलिरहेका थिएजस्तो लाग्यो । सबै जना मिलेर, फिल्मको देवताको लागि पूजा गरिरहेजस्तो महसुस भयो । हामीले केही निकै सुन्दर बनाउने प्रयास गर्यौं ।

कथा आफैंमा निकै चाखलाग्दो छ । किनभने, त्यो भीषण हिउँपहिरोमा धेरै नेपालीहरूले ज्यान गुमाएका थिए । फिल्ममा एउटा दृश्य पनि छ, जहाँ दुई पात्र एक इजरायली र एक नेपालीबसिरहेका छन् ।  त्यहाँ सबैजनाले आँधीमा मरेका विदेशीहरूबारे मात्र बोलिरहेका छन् । नेपालीहरूको बारेमा भने कसैले कुरा गरिरहेको छैनन् । 

यो मानेमा, स्क्रिप्ट निकै संवेदनशील छ । यो कथा केवल त्यो एउटा मान्छेको मात्रै होइन, जसको मृत्यु भयो । यो कथा त बाबु र छोराको कथा हो । त्यो छोरा जसले नेपालमा ज्यान गुमाउँछन्, अनि बाबु इजरायलबाट छोराको अन्तिम संस्कार यात्रा पूरा गर्न नेपाल आउँछन् ।

यहाँ जसले नेपाली किशोरको भूमिका निर्वाह गरेका छन्, जसको बुवा कुल्ली काम गर्थे ( पोर्टर) । छोरा गुमाएका इजरायली बुबा र बाबु गुमाएका नेपाली किशोरको दुःख स्क्रिनमा देख्न सकिन्छ । मलाई लाग्छ यो घटना सबै नेपालीहरुले महसुस गर्न सक्छन् । म यो कथाको हरेक पाटो, हरेक भावनालाई मन पराउँछु । मलाई लाग्छ, यो कथा भन्नु साँच्चिकै महत्वपूर्ण थियो । 

त्यसैले त सबै कुरा राम्रोसँग मिलेको हो जस्तो लाग्छ । अनि म यो पनि भन्न चाहन्छु—यसमा काम गर्ने भारतीय साथीहरू पनि साँच्चिकै व्यावसायिक थिए । उनीहरूमा कथा भन्ने जोश थियो । इजरायलबाट आएका साथीहरू, नेपालका साथीहरू सबै मिलेर यो काम सफल बनाउने प्रयास गरिरहेका थिए । हामी निकै भाग्यमानी थियौं । किनभने हामीसँग एकदमै राम्रो टिम थियो । साँच्चिकै उत्कृष्ट टिम ।

यो फिल्ममा नेपालको स्थापित अभिनेत्री मेनुका प्रधान र यो फिल्मबाटै डेब्यु गरेका रिकेन परियार पनि छन् । यी नेपाली कलाकारसँगको सहकार्य कति जम्यो त ?

कास्टिङ सुरु हुनु अघि नै हामीले कसलाई लिने भन्नेबारे सोच्न थालिसकेका थियौं । सुरुमा हामीले सायद युरोपमा बसोबास गर्ने नेपालीहरूलाई लिने कि भन्ने विचार पनि गरेका थियौं । त्यही हाम्रो पहिलो आइडिया थियो । त्यसपछि हामीले नेपालमै कास्टिङ सुरु गर्यौं, फेरि एकचोटि हामी एकदमै अचम्ममा पर्‍यौं । हामी धेरै अपेक्षा गरेर आएका थिएनौं । सोचेकै थियौं, युरोपमै खोज्नुपर्ला भनेर । तर पहिलो चरणमै जुन कलाकारहरूको अडिसन आयो, त्यो एकदमै अद्भुत थियो । केही कलाकारहरू त हामीले त्यत्तिकै छनोट गर्यौं ।

हामी नोभेम्बरको अन्त्यतिर लोकेसन स्काउटिङका लागि नेपाल आयौं । केही मिटिङ्स गर्यौं । अडिसन पनि भयो। अनि त्यही बेला लाग्यो–हो, हामीले चाहेको कुरा यही हो । मेनुका र रिकेन दुवै जनालेसुरु देखिनै हाम्रो ध्यान खिचे । हामीलाई लाग्यो, उनीहरू साँच्चिकै अविश्वसनीय छन् । लोकेसन हेरेर फर्कँदै गर्दा लाग्यो, हामीले चाहिएका कलाकार पाएका छौँ । 

उनीहरूको अभिनय चेत र क्षमता एकदमै बलियो थियो । रिकेनको त यो जीवनकै पहिलो फिल्म थियो । तर उहाँले जुन स्तरमा काम गर्नुभयो त्यो हाम्रो फिल्मका मुख्य पात्र निर्वाह गरेका अभिनेता एलोनको बरोबरी थियो ।

एलोन त ४० वर्षदेखि अभिनय गर्दै आउनुभएको, इजरायलको सुपरस्टार,डार्क नाइट  जस्ता ठूला प्रोडक्सनमा काम गर्नुभएकाले अनुभवमा भरिपूर्ण हुनुहुन्छ । तर एउटै फ्रेममा दुवैजनाले जुन कौशलता देखाए, त्यो एकदमै शानदार थियो । क्यामेराले त उनीहरूलाई माया गर्छ जस्तो लाग्थ्यो ।

मेनुका नयाँ कलाकार होइनन् । उहाँ त नेपालको स्थापित कलाकार हुनुहुन्छ । साँच्चिकै क्षमतावान् कलाकार हुनुहुन्छ उहाँ । पहिलो अडिसनबाटै हामीले महसुस गर्यौं—उहाँ नै हो हाम्रो पात्र । हामी हरेक दिनको सुटिङमा धेरै खुशी थियौं । मेनुकाले हरेक टेकमा उत्कृष्ट काम गर्नुभयो । यो पूरा प्रक्रिया एकदम रमाइलो भयो । कलाकारहरूले पर्दामा साँच्चै नै जादु ल्याए ।

केही समयदेखि नेपाल रहँदा पक्कै यहाँका कथासँग पनि तपाईं नजिक हुनुभयो । उसोभए इजरायलको कथा र नेपालको कथाहरूमा के समानता अनुभूत गर्नुभयो ? 

मलाई लाग्छ, हरेक ठाउँको आफ्नै कथा हुन्छ । हरेक व्यक्तिको पनि आफ्नै कथा हुन्छ । अन्ततः कुरा त सधैं कथाकै हो । यो फिल्ममा मलाई सबैभन्दा गहिरो कुरा के लाग्छ भने—कथाभित्रका पात्रहरूको समानता ।  फिल्मको अन्त्यतिर, हामीसँग एक इजरायली बाबु छन्, जसले नेपालमा आएको आँधीमा आफ्नो छोरा गुमाएका छन् । अर्कोतर्फ, एक नेपाली केटा पनि छन्, जसले उही आँधीमा आफ्नो बाबु गुमाएका छन् ।

त्यसपछि त्यो सम्बन्ध–अझ गहिरो र विशेष हुन्छ । त्यो भन्दा बलियो सम्बन्ध के हुन सक्छ र? एक बिन्दुमा पुग्दा, मुकेश र नोहाका पात्रहरूबीचको सम्बन्ध बाबु–छोराको जस्तो नै हुन्छ । दुई फरक देशका मान्छेहरूबीच सुरु भएको माया, मित्रतामा बदलिन्छ—र त्यो झन् परिवारजस्तै नजिक बन्छ । मलाई लाग्छ, यही हो मुख्य सम्बन्ध जुन मैले अनुभव गरेँ। र मलाई यो कुरा निर्माणको क्रममा पनि महसुस भयो ।

म एक प्रोड्युसरको हैसियतले यहाँ सुटिङ गर्दा, टिमका सदस्यहरूसँग साँच्चिकै साथी बनेँ। उनीहरू अब केवल टिम होइनन्, मेरो मिल्ने साथीहरू पनि हुन् । यहाँको भाइब्य, इनर्जी एकदमै सकारात्मक छ । अन्ततः हामी सबै त मान्छे नै हौं ।

नेपाली होस् या इजरायली, सबभन्दा ठूलो कुरा हो–हामी मान्छे हौं । यदि हामीले एकअर्कालाई मान्छेको रूपमा व्यवहार गर्यौं‍ भने, मलाई लाग्छ–सबै कुरा राम्ररी मिल्छ । कथाको समानता पनि त्यही मानवीयपन नै हो । 

हुन त पछिल्लो समय तपाईंको नेपाली टिम र केही फिल्ममेकरहरूसँग राम्रो सम्बन्ध छ । नेपालकै कतिपय फिल्महरूले पछिल्लो समय अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा राम्रो छवि पनि बनाएका छन् । तपाईंले कुनै नेपाली फिल्महरू हेर्ने अवसर पाउनुभएको छ ? अनि नेपाली फिल्म क्षेत्रबारे कति जानकार हुनुहुन्छ ?

केही नेपाली फिल्महरू र केही नेपाली निर्देशक तथा कलाकारहरूसँग म पहिले नै परिचित थिएँ । अहिले त नेपाली फिल्म उद्योगले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पनि निकै राम्रो छवि बनाउँदै गएको छ । यो फिल्म प्रोडक्सन पनि फेस्टिभलमार्फत् सुरु भएको हो । मलाई यहाँ ल्याउने व्यक्ति हुन् रामकृष्ण पोखरेल ।

उहाँसँगको सम्बनधबाट म नेपाल आएँ । मलाई लाग्छ, नेपाली फिल्म उद्योगका लागि यो एकदमै राम्रो समय हो । म जस्ता प्रोड्युसरहरू यहाँ आउँछन् भने, नेपालबाट मैले पाएको अनुभव साँच्चै अविश्वसनीय छ । म घर फर्किंदा यो देशप्रति एकदमै सकारात्मक भावना लिएर फर्किनेछु । यहाँको फिल्म उद्योगप्रति पनि एकदमै राम्रो अनुभव लिएर फर्किनेछु ।

यदि एक वर्षपछि कसैले मलाई सोध्यो–नेपालमा सुटिङ गर्न कस्तो हुन्छ ? म भन्न्छु–जाऊ, अवश्य गर । मैसँग कनेक्सन छ, मैले यहाँका राम्रा मान्छेहरूसँग काम गरेको छु । त्यसैले मेरो विचारमा, अब नेपाली फिल्म उद्योग झनै माथि जान सक्छ । तपाईंहरूले सरकारसँग लड्नुपर्छ—सरकारी सहयोगको लागि । सरकारले स्वतन्त्र फिल्ममेकरहरूलाई सहयोग गरे भने मात्र यो उद्योग साँच्चै बढ्न सक्छ ।

कथा बनाउनु सजिलो छैन, फिल्म बनाउनु त झनै गाह्रो । यदि सरकारले युवाहरूका फिल्म प्रोजेक्टलाई महत्त्वका साथ हेरेर समर्थन गर्‍यो भने, ठूलो परिवर्तन ल्याउन सक्छ । म नेपाली फिल्म उद्योगप्रति आशावादी छु । त्यसका लागि सबै फिल्ममेकर र प्रोड्युसरले आवाज उठाउनुपर्छ–सपोर्टका लागि, सिस्टम सुधारका लागि।

यहाँबाट फर्किएपछि तपाईंलाई नेपाली मेकरहरूसँग काम गर्ने वा नेपाली कथासँग फेरि जोडिने चाहना छ ? 

पछिल्लो केही समयदेखि मैले फेरि नेपालमै अर्को फिल्म बनाउने सोच राखेको छु । किनकि म यहाँ सम्भावना देखिरहेको छु । सामान्य हिसाबमा भने फिल्म बनाउने कुरा त्यति जटिल होइन । तपाईंले मोनिटर हेर्नुहुन्छ, फ्रेमहरू हेर्नुहुन्छ जुन तपाईंले खिच्नुभएको छ, अनि त्यो बनाउँदा लाग्ने खर्च हुन्छ ।

Israeli producer's promise - 'I want to make a film in Nepal again'

यहाँ खिचिएका फ्रेमहरू स्क्रिनमा एकदमै सुन्दर देखिन्छ । अन्ततः, नेपालमा फिल्म खिच्नको लागि बजेट पनि एकदमै सहज छ । म पक्कै पनि नेपाल फर्कन्छु र फेरि फिल्म बनाउँछु । किनभने यहाँको हावामै यस्तो केही छ, जसले तपाईंलाई फेरि फर्केर आउन मन लाग्छ ।

त्यसैले म फर्किने कुरामा निश्चित छु । म आफ्ना साथीहरूलाई पनि सिफारिस गर्नेछु कि– नेपाल आउनुस्, यहाँ सुटिङ गर्नुहोस् । यो ठाउँ एकदमै राम्रो छ । फिल्म बनाउनका लागि सबै कुरा मिल्न जरुरी हुन्छ– ठाउँले सहज महसुस गराउनुपर्छ, वरिपरिको टिमसँग रमाइलो महसुस हुनुपर्छ, बजेट पनि ठीक हुनुपर्छ । यी सबै कुरा मिलेर मात्र राम्रो फिल्म बन्छ । मलाई लाग्छ,नेपालमा यी कुराहरूको संयोजन एकदमै राम्रोसँग मिलेको छ ।

तपाईंहरूसँग ठूलो फिल्म उद्योग बन्ने ठूलो सम्भावना छ । अब तपाईंहरूलाई चाहिने कुरा हो, सरकारको साथ । सरकारले युवा फिल्ममेकरलाई समर्थन गर्‍यो भने त्यसको फाइदा विदेशी प्रोडक्सनहरूलाई पनि मिल्छ । ठूला देशहरूमा त फिल्म सुटिङका लागि ट्याक्स फण्ड हुन्छन्, सले स्थानीय टिमलाई मद्दत गर्छ र देशमा फिल्महरू ल्याउँछ ।

त्यसैले म सुझाव दिन्छु– नेपालमा पनि एउटा फिल्म फन्ड बनाउनुहोस्, एउटा फिल्म कम्युनिटी बनाउनुहोस् । त्यसले धेरै अन्तर्राष्ट्रिय प्रोजेक्टहरू यहाँ ल्याउनेछ । र अन्ततः त्यो देशकै लागि राम्रो हुन्छ । किनभने जब मान्छेहरूले नेपालमा खिचिएका अद्भुत फिल्महरू हेर्छन्, सुन्दर ठाउँहरू देखिन्छन् । त्यो ठाउँ हेर्न पर्यटक भएर आउन मन लाग्छ । यो त दुवै पक्षका लागि जित हो । म नेपाली सिनेमाप्रति आशावादी छु । किनभने मैले देखेँ, यहाँका फिल्ममेकर र कलाकारहरू आफ्नो काम साँचिकै मनदेखि गर्छन् । त्यसकारण म नेपाली सिनेमाको भविष्यमा विश्वास गर्छु ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully