महेश र दिव्यले हिँड्नुपर्ने पाइला आफैंले खन्दै आउनु पर्यो । परिवारको कोही फिल्म क्षेत्रमा थिएनन्, सजिलै यो क्षेत्रमा चम्कन पनि गाह्रै थियो ।
काठमाडौँ — उनीहरूले सँगसँगै करिअर थाले, अभिनयको दुनियाँमा बलियो छाप बनाए । तर, दिव्य देव र महेश त्रिपाठीलाई आम दर्शकले चिन्न १५ वर्ष लाग्यो । शुभचिन्तकलाई चिन्ता थियो, यी दुई कहिले आम दर्शकबीच चिनिएलान् ? बल्ल उनीहरूको चाह पूरा भएको छ, यी दुईलाई आम दर्शकले चिन्न जो थालेका छन् । नाटक र फिल्मका पारखीबीच उहिल्यै चिनिए, व्यावसायिक फिल्मले दुईलाई आम दर्शकमा पुर्यायो । महेशको शब्दमा दिव्यसँगै उनी यही दिनको पर्खाइमा थिए । आफ्नो प्रतिभाले चिनिनु नै त कुनै कलाकारका लागि उपलब्धि हो ।
महेश र दिव्यलाई अस्कर फिल्म कलेजले भेटाएको हो । महेशभन्दा तीन महिनाअघि अस्कर पुगेका थिए, दिव्य । तर, महेशलेझैं कलेज अध्ययनलाई निरन्तरता दिएनन् । एक वर्ष अभिनय पढेर लागे- रंगमञ्चतिर । महेश अभिनय पढ्नतिरै व्यस्त भए, पछि अस्करमै अभिनय पढाउन थाले । १० वर्ष अस्करमा पढाए । 'द ल्यारेमी प्रोजेक्ट' र एउटा लघु फिल्ममा यी दुईले सँगै काम गरे । हालै 'एक्टर'मा पनि सँगै एउटै पर्दामा देखिए । झट्ट हेर्दा यी दुईको करिअर मात्रै होइन, अभिनय यात्रा, संघर्ष पनि सँगसँगै अगाडि बढेको देखिन्छ ।
२०८१ सालमा महेश र दिव्यका यति फिल्म आए कि, ती फिल्मले उनीहरूको चर्चा चुलिरह्यो । फिल्म अफरका चाङ उस्तैगरी बढे । दिव्यले २०८१ मा चार फिल्म गरेका थिए, तीनवटा प्रदर्शनमा आए । 'पिताम्बर' र 'एक्टर' त एकैदिन प्रदर्शनमा आए । यी फिल्ममा गरिएका अभिनयले आफूलाई 'मास' दर्शकमा पुर्याएको दिव्यले अनुभव गरेका छन् ।
'बिस्तारै मास दर्शकमा पुगियो, तर आफूलाई केही नभएझैँ लाग्दो रहेछ । तर, नयाँ-नयाँ दर्शकले चिनेजस्तो हुँदा खुसी लाग्यो,' दिव्यले सुनाए । 'चिसो एष्ट्रे'मा फरक किसिमको भूमिकामा देखिए पनि 'पिताम्बर' र 'कर्मा'ले दिव्यलाई दर्शकबीच खतरनाक ‘भिलेन'का रूपमा चिनाइदिएको छ । '
हल्कारा'को अभिनयबाट तारिफ बटुल्न सफल महेश पनि 'लाज शरणम्'को चरित्रमा गरिएको मेहेनतले वर्ष ०८१ मा चर्चित बने । 'हल्कारा'पछि महेशका ४/५ ओटा फिल्म लगातार आए । २/३ वर्षअघि गरेका फिल्म एकसाथ प्रदर्शनमा आइदिँदा महेशका लागि २०८१ फलदायी बन्यो । 'लाज शरणम्', 'फेरि रेशम फिलिली', 'आउट ल'ले यो वर्ष महेशलाई चर्चाको केन्द्रमा राख्यो । 'लाज शरणम्'को चरित्रमा त उनी निकै फरक अवतारमा देखिएका थिए । उक्त चरित्रका लागि महेशले २० केजीभन्दा बढी तौल घटाए । भाषा र लवजमा त्यसै गरी काम गरे, जसले गर्दा चरित्र चित्रणमा गरिएको मेहनतले महेशको चौतर्फी प्रशंसा भयो । 'मेहनत गर्यो भने नतिजा राम्रै आउँछ भन्ने भयो,' महेश सुनाउँछन् ।
हालै फिल्मको सुटिङका लागि धनकुटा पुग्दा महेशले रमाइलो घटनासँग साक्षात्कार हुने अवसर पाए । उनी नयाँ फिल्मको नयाँ अवतारमा उकालो चढ्दै थिए । त्यतिबेला केही व्यक्तिहरूले गरेको कानेखुसी उनको कानैमा ठोक्कियो । 'ओई हेर्न, त्यो महेश त्रिपाठी होइन ?' उनीहरू बोल्दै गर्दा महेशलाई आफ्नो काम भुइँमान्छेबीच पुगेछ भन्ने कुराले फुरुङ्ग बनायो । 'मज्जा आइरहेको छ, मानिसहरूले यसरी चिन्नुहुँदा । एक हिसाबले कतै न कतै फिल्ममा जोडिनुमा यही तत्त्वले पनि हो नि,' महेशले सुनाए,'हल्कारा, चपली हाइटले थोरै दर्शकबीच पुगेँ । तर, अहिले मिडिया, पत्रपत्रिका र कामबाट नेपाली दाजुभाइ दिदीबहिनी बुबाआमाबीच पुग्दा उहाँहरूले चिन्न थाल्नुभएको छ ।'
दिव्यले पनि फिल्म 'पिताम्बर'को प्रचारका लागि धनगढी, नेपालगञ्ज, पोखराका हल पुग्दा यस्तै अनुभव बटुले । त्यहाँ पुग्दा थुप्रै दर्शकले आफ्नो नामै लिएर तारिफ गर्दा दिव्यको मन प्रफुल्लित भयो । 'दर्शकले चिन्नुको पछाडिको खास कारण त हामीले पाउने कामसँग पनि जोडिन्छ,' दिव्यले भने । 'चिसो एष्ट्रे' गर्दासम्म दिव्यलाई लाग्थ्यो, बरु एउटा फिल्म गर्ने तर राम्रो पटकथासहितको । तर, त्यसपछि दुई वर्ष खासै काम गर्न पाएनन्, राम्रो फिल्म हात लागेन । त्यसपछि भने दिव्यलाई लाग्यो- आएका जति सबै फिल्म भटाभट गर्ने ! नेपाली फिल्म क्षेत्रमा वर्षमा एउटा फिल्म गरेर बाँच्न सकिने अवस्था नरहेको महेशको अनुभवले भन्छ । त्यसैले 'हल्कारा'पछि महेशले पनि अफर आएका सबै फिल्म गर्दै आए ।
'कहिलेकाहीँ स्क्रिप्ट काम नलाग्ने हुन्छ । तर, काम त गर्नैपर्यो, अरू उपाय छैन । त्यतिबेला म आफूलाई सिकर्मी हो भन्ने कुराले थम्थम्याउँछु । सिकर्मीले कहिले घर पनि बनाउनुपर्छ, ट्वाइलेट पनि बनाउनुपर्छ । ट्वाइलेट बनाउँदा महलको परिकल्पना गर्नु भएन । त्यसैले जस्तो काम आउँछ त्यसरी नै काम गर्नुपर्छ भन्ने कुरा यो वर्षहरूमा सिकेँ,' महेशले सुनाए । महेशको कुरामा दिव्य थप्छन्,'अलिकति छनोट गरेर फिल्म गर्छु भन्ने त छ । तर, हाम्रो कामको चरित्र नै उस्तै छ । केही नगरी बेडमा पल्टेर बस्दा आफू खतरा एक्टर हुँ भन्ने इगो पलाउँछ । तर सामान्य लाग्ने चरित्रमा पनि कहिलेकाहीँ आफ्नो कमजोरी देखिन्छ । त्यसैले आफूलाई सन्तुलनमा राख्न निरन्तर आएको कामहरू गरिरहनु पर्यो ।'
दिव्य पहिला पृष्ठभूमि बनाउँछन्, अनि चरित्र चित्रण सुरु गर्छन् । चरित्र चित्रणमा उनले समाउने डोरो यही हो । 'पिताम्बर'मा त्यही गरे, दर्शकले त्यो चरित्रलाई निकै रुचाए । 'लार्जर देन लाइफ' चरित्रमा पनि उनी पृष्ठभूमि बनाएर काम गर्छन् । निर्देशकसँग चरित्रबारे प्रश्न गर्छन्, कापीमा उक्त चरित्रबारे लेख्छन्, घोत्लिरहन्छन् । चरित्र चित्रणमा दिव्यले पक्रेको यही प्रक्रियाले नै उनका अधिकांश चरित्र पर्दामा विश्वासिलो देखिन्छ ।
बहुप्रतिक्षित मानिएको 'रुदाने' फिल्मले पनि बेलाबखत दिव्य चर्चाको विषय बन्छन् । रुदाने बन्न दिव्यले गरेको अभिनय, मेहनतले उनका प्रशंसकबीच यो फिल्म प्रतीक्षित छ । फिल्मको पोस्टर र टिजर बजारमा आइसक्यो, तर फिल्म अझै पूरा भइसकेको छैन । दिव्यलाई धेरैले 'रुदाने'को प्रदर्शनलाई लिएर प्रश्न गर्छन् । तर, उनी आफैंसँग यसको उत्तर छैन । ३०/३५ भन्दा बढी नाटकहरूमा फरक चरित्रमा भूमिका निभाए पनि, रुपचन्द्र विष्टका कारण 'रुदाने'को प्रश्नले उनलाई छोड्दैन । 'त्यतिबेला जति गर्न सकिन्थ्यो, त्यति दिएर गरिएको काम हो, रुदानेमा । त्यो खासमा प्यासन ड्रिभन काम नै हो,' दिव्यले विगत सम्झँदै भने ।
खासमा दिव्य र महेश प्रमुख भूमिकाका दाबेदार नै हुन् । तर उनीहरूलाई अझै पनि स-साना भूमिकामै अल्झाइन्छ । तर, यी दुईको लगाव बेग्लै छ, जति छोटो भूमिका भए पनि अभिनय कुशलताले आफूलाई सशक्त उभ्याइदिन्छन् । लिड रोलको पर्खाइ छँदै छ । 'लिड रोल बाहेक अरू त कहाँ गरिन्छ,' ठट्यौली शैलीमा महेश सुनाउँछन् । महेश आफूलाई रोचक लाग्ने चरित्र गर्न रुचाउँछन्, चाहे त्यो प्रमुख होस् या सहायक ।
अस्कर पढ्दा महेशले ५ सयभन्दा बढी लघु फिल्म गरे । कलेजताका निकै व्यस्त कलाकार भइसकेका महेशलाई त्यतिबेला धेरैले राजेश हमालको ट्याग भिर्याइदिए । ३ सय लघु फिल्म गरिसकेपछि त्यो ट्याग भिर्याइयो । सबैले महेशलाई 'राम्रो कलाकार' भन्थे । तर, हातमा स्क्रिप्ट पर्ने बित्तिकै महेशको मुटु जोडसँग धड्किन्थ्यो । त्यतिबेला महेशलाई लाग्यो, फिल्मको क्राफ्ट राम्रो भइदिँदा कलाकारको काम राम्रो देखिँदो रहेछ, आफैंमा खतरा त रहेनछु । उनी सुनाउँछन्,'यदि म राम्रो हुन्थेँ भने यसरी पटकथा पर्ने बित्तिकै डर हुन्थेन । मलाई किन राम्रो कलाकार भनियो त । त्यतिबेला बुझेँ, जुन कथा राम्रोसँग लेखिएको छ, जुन चरित्रमा मैले मेहनत गर्छु र जुन फिल्ममा राम्रो निर्देशक हुन्छ- तब मात्र मेरो काम राम्रो देखिन्छ ।'
आम दर्शकबीच चिनिन दिव्य र महेशले लामै समय कुर्नुपर्यो । फर्केर हेर्दा दिव्य र महेशलाई कलेजका ती दिन हिजै बितेजस्तो लाग्छ । तर, कलेज पढेकै १४ वर्ष भइसक्यो । कलेजअघि सन् २००८ तिर टेलिश्रृंखला गर्दै महेशले अभिनय सुरु गरे, दिव्यले सन् २०१० तिर थाले । अभिनय गर्नुअघि दिव्य अस्ट्रेलिया पुगेका थिए तर, अभिनयको भोकले नेपाल फर्कायो । दिव्यले धेरै समय रंगमञ्चमा बिताए । रंगमञ्चले सीमित दर्शक घेराभित्र राख्यो । तर, 'चिसो एस्ट्रे' हुँदै गर्दै आएका 'महाजात्रा'लगायतका फिल्मले आम दर्शकबीच उनको अभिनयको तारिफ भयो । 'व्यावसायिक फिल्म नगरेसम्म मासमा पुग्न अलिकति गाह्रो हुँदो रहेछ,' दिव्यले भने ।
अहिलेसम्म गरेका नाटकमा १८ त अंग्रेजी भाषामै गरे ।'ह्यामलेट', 'लुक ब्याक इन एंगर', 'सान्दाजुको महाभारत', 'सेम टाइम नेक्स्ट इयर' लगायतका नाटकबाट आफूलाई अब्बल ठहराएका दिव्यले फिल्मतर्फ 'नागरिक', 'सुप्पर हिट', 'आवरण'जस्ता फिल्म गरे । तर, ठूला पर्दामा यी फिल्मबाट दिव्य जमेनन् । 'चिसो एष्ट्रे' 'डाकिनी', 'हिजो आजका कुरा', 'राधा'हुँदै अहिले गरेका फिल्मले दिव्य आम दर्शकमा चिनिएका छन् ।
आफूहरू 'स्पटलाइट'मा उतिबेलै नआउनुमा आफैंमा समस्या देख्छन्, महेश । सुरुवाती दिनमा 'झुर' फिल्ममा काम नगरौँ भन्ने भाव थियो उनमा । अर्को त महेश र दिव्यले हिँड्नुपर्ने पाइला आफैंले खन्दै आउनु पर्यो । परिवारको कोही फिल्म क्षेत्रमा थिएनन्, सजिलै यो क्षेत्रमा चम्कन पनि गाह्रै पर्यो । 'कलेजताका कतिले महेशसँग कहिले काम कहिले गर्ने होला भन्थे । तर, फिल्म घोषणा गर्नुहुँदा अर्कै कलाकार लिनु हुन्थ्यो । अनुहार मान्छेले चिनेको छैन, मान्दैन निर्माताले भन्नुहुन्थ्यो,' महेशले सुनाउँछन्, 'सायद हाम्रो बुबा, आमा अथवा दिदीदाइ फिल्मकर्मी हुनुभएको भए, १० वर्ष अगाडि आइन्थ्यो होला ।'
महेश इन्जिनियरिङ(इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक) छाडेर अभिनयमा आएका हुन् ।०६५/६६ मा पोखराबाट काठमाडौं आउने बित्तिकै अभिनयमा झट्टै विश्वास गरिदिने अवस्था थिएन । त्यसैले टेलिश्रृंखलाका धेरै निर्देशककहाँ धाए, हात जोडे । त्यतिबेला उनले के पो गरेनन्, कलाकारको जुत्ता सफा गर्ने । कलाकारलाई पानी दिने, रिफ्लेक्टर समात्नेसम्मको काम गरे । पासिङ सिनहरुमा काम पाए । निर्देशनमा सहायक भएर काम गर्ने मौका पाए । इन्टरनेट चलाउन जानेका हुनाले अभिनयबारे त्यतिबेलैदेखि खोज्न थालेका थिए ।
टेलिश्रृंखलामा काम गर्दा-गर्दै नवरसबारे सिके । विश्वमा अभिनयको निकै तारिफ हुन्छ, ठूला विश्वविद्यालयमा कलाकार पुगेर मास्टरक्लास पनि दिइरहेका हुन्छन् । 'यही नवरसकै कामले त्यहाँ पुग्ने हो त ?' भन्ने प्रश्न उब्जन्थ्यो । त्यसपछि नै महेशलाई फिल्म पढ्नुपर्छ भन्ने लाग्यो । अहिले त उनी फिल्ममै यति व्यस्त छन् कि, अभिनयको कक्षा लिइरहन पनि भ्याउँदैनन् । 'नोभेम्बर रेन'बाट करिअर सुरु गरेका महेशलाई पनि मूलधारे फिल्मले दर्शकबीच पुर्याइदिएको छ ।
अभिनयमा दशक बिताइसक्दा पनि अभिनयको भोक दिव्य र महेशबाट हटिसकेको छैन । उनीहरू अझै अभिनयको शिल्पले दर्शकलाई चकित बनाइरहन चाहन्छन् ।
