कला प्रदर्शनीमा वातावरणीय संकट र चिन्ता

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Environmental Crisis and Concern in Art Exhibitions

काठमाडौँ — प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ पोइन्ट : आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी सुरु भएको हो । 

वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि काम गर्दै आएको सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजित प्रदर्शनीलाई ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेकी हुन् । उनले विश्वव्यापी पारिस्थितिको आवश्यकता मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिइन् । 

प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ नामक विशेष लाइभ प्रस्तुति दिएको थियो । शरीरमा रातो माटो पोतेर भूमिसँग साक्षतकार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गरेको थियो । प्रदर्शनीको मूल अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिभाकको ‘प्लानेटरिटी’ विचारमा आधारित रहेको थियो । 

प्रदर्शनीमा १२ अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारहरूले आ–आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय संकटमाथि विविध दृष्टिकोण प्रस्तुत गरेका छन् । स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको छ ।

उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेको छ । उत्सा हजारिकाको ‘यन्त्र ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिने प्रयास गर्नेछ ।   

मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गरेको छ । त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले सहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनि मार्फत प्रतिविम्बित गरेको छ ।   

Environmental Crisis and Concern in Art Exhibitions

अमित मचामसीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक शृंखलामार्फत प्रस्तुत गरेका छन् ।  मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको छ । जोआना मोलको ‘४००४’ ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसंख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रुपमा देखाइएको छ । 

समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्रलाई क्रिस जोर्डनले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन् । सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गरिएको छ । साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स एन्ड को सोनिक मार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन् । 

प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ । तीन महिनासम्म चल्ने प्रदर्शनी अवलोकन गर्न विद्यार्थीका लागि २ सय र अन्यका लागि ३ सय प्रवेश शुल्क तोकिएको छ ।

कान्तिपुर

Link copied successfully