काठमाडौँ — अभिनेता कमल हासनको फिल्म ‘ठग लाइफ’अहिले प्रदर्शन भइरहेको छ । मणिरत्नले निर्देशन गरेको यो फिल्म यतिबेला बलिउडमा विवादमा फसेको छ । कर्नाटक राज्यमा यो फिल्म प्रतिबन्ध लगाइएको छ ।
कमल हासनको एक विवादास्पद भनाइका कारण फिल्ममा प्रतिबन्ध लगाइएको हो । उनले कन्नड भाषा तमिलबाट उत्पन्न भएको हो भन्ने अभिव्यक्ति दिएका थिए । यहीकारण कर्नाटकमा फिल्ममाथि प्रतिबन्ध लगाइएको हो ।
फिल्मको चेन्नईमा भएको एक कार्यक्रममा भाषण दिँदै कन्नड भाषालाई तमिलबाट उत्पन्न भएको बताएपछि कमलमाथि आलोचना भइरहेको छ । ‘मेरो जीवन र मेरो परिवार तमिल हो । तपाईंहरूको भाषा (कन्नड) तमिलबाट जन्मिएको हो । त्यसैले तपाईंहरू पनि हामीसँगैका हौं,’ उनले भनेका थिए ।
यो भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि कर्नाटकमा प्रोकन्नड समूहहरूले विरोध जनाए । कमल हासनविरुद्ध उजुरी पनि पर्यो । कमल हासनले माफी माग्न अस्वीकार गरेपछि उक्त राज्यमा फिल्म प्रतिबन्धित गरियो ।
कमल हासनले कर्नाटक फिल्म चेम्बर अफ कमर्सलाई पत्र लेख्दै आफ्नो भनाइलाई गलत ढंगले बुझिएको बताएका छन् । उनले लेखेका छन्, ‘म दुःखी छु । किनकि मैले ‘ठग लाइफ को अडियो लञ्चमा दिएको अभिव्यक्ति गलत अर्थमा लिइयो । त्यो भनाइ डा. राजकुमारको परिवार, विशेषगरी शिवराजकुमारप्रति मेरो स्नेहको अभिव्यक्ति थियो । मेरो उद्देश्य हामी सबै एउटै परिवारका हौं भन्ने सन्देश दिनु थियो, कन्नड भाषालाई कुनै पनि रूपमा गलत ठान्नु होइन । कन्नड भाषाको समृद्ध परम्परामा कुनै विवाद छैन ।’
