रंगमञ्चमा पनि 'विद्रोही' रेखा

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

The 'rebellious' line on stage too

काठमाडौँ — अभिनेत्री रेखा थापाको अभिनय रहेको नाटक 'मीरा' मञ्चनमा आएको छ । गैरीधारामा अवस्थित कान्तिपुर फिल्म एकेडेमीमा खुलेको नयाँ कान्तिपुर थिएटरमा यो नाटक जेठ १९ देखि असार ७ सम्म मञ्चनमा आउनेछ । 

दीपक सिंजालीद्वारा लिखित पुस्तक 'मीरा'माथि बनेको यो नाटकलाई रंगकर्मी सुन्दर धितालले निर्देशन गरेका हुन् । धितालकै परिकल्पनामा तयार भएको नाटकलाई रमेश पुरीले निर्माण गरेका हुन् । नाटकमा अभिनेत्री रेखासँगै विशाल पहारी, विन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय छ । 

लामो समय फिल्म क्षेत्रमा एकछत्र राज गरेकी रेखाको यो पहिलो नाटक हो । नाटकमा उनी मीराको भूमिकामा देखिएकी छन् । नाटकमा बालसखा मीरा र कृष्णको प्रेमकथा र त्यही प्रेममा परिवारको अर्को सम्बन्ध कसरी बाधक बनिदिन्छ भन्ने प्रस्तुत गरिएको छ । नाटकमा दुईबीचको प्रेम मात्रै नभई, प्रेमका लागि गरिएको पर्खाइ, तड्पन र त्यसले दिएको पीडा देखाइएको छ ।

मञ्चमा विशाल खतिवडा कृष्णका रुपमा देखिएका छन् । नाटकमा रेखाले सशक्त, विद्रोही महिलाको भूमिकामा अभिनय गरेकी छन् । यसअघि उनले 'हिम्मतवाली', 'रामप्यारी', 'काली'जस्ता फिल्ममा यस्तै भूमिका निर्वाह गरेकी थिइन् ।

यो नाटकमा उनले किशोरीदेखि जवान महिलाको भूमिका गरेकी छन् । अहिले धेरैले रेखालाई रंगमञ्चको डेब्यूका लागि बधाई दिइरहेका छन् । रेखाले भने नाटकलाई नयाँ अध्यायको रुपमा व्याख्या गर्दै आएकी छन् ।

कान्तिपुर

Link copied successfully