अर्थ-सामाजिक चित्र देखाउँदै फिल्मले सोध्छ- 'घर बन्न के चाहिन्छ ?' 

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

Showing the socio-economic picture, the film asks - 'What does it take to become a home?'

काठमाडौँ — भाडामा बस्दाखेरिको अवस्था सोचौँ- किचकिचे घरबेटी भए ? कडा नियम भए ? त्यहाँ बिस्तारै हराउँदै जाने व्यक्तिगत स्वतन्त्रता । भित्ताहरू पनि भाग लगाएर बस्नुपर्ने अवस्था । त्यो घर, घर जस्तो कहाँ रहला ?

अब घर सम्झौं त तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास दिने थलो, हाँसो खुसीसँगै खिलखिलाउँदो परिवार । अपनत्व अनि नचाहिँदो अनुशासनभन्दा पर शान्त संसार । 

निर्देशक तथा लेखक बुद्धिसागरले प्रस्तुत गरेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ ले यिनै दुई विरोधाभासपूर्ण अनुभूतिबिचको द्वन्द्वमा हामीलाई डुबाउँछ । यो फिल्म नाकाबन्दी र कोरोना महामारीपछिको नेपाली समाजलाई आधार बनाएर निर्माण गरिएको छ । जहाँ केवल देश मात्र होइन, मानिसको आन्तरिक संसार पनि फेरिँदै छ । पुनःनिर्माण, पुनःसम्बन्ध, अनि आफ्नोपनको अभाव पुनर्परिभाषा गर्न खोजिरहेको छ ।

‘रौनक निवास’ चलचित्रको मूल थलो । घरबेटी र डेरावालको साझा छानो । जहाँ बस्नेहरूको मन त्यही छानामुनि भए पनि दिशा र दृष्टिकोण फरक फरक छन् । यहाँ पुस्तागत टकराव छ । सपना र यथार्थको द्वन्द्व छ । अनि विगतको पीडा र भविष्यको अनिश्चितता पनि ।

त्यही घरमा आइपुग्छन्, राजाराम अर्थात् बहुप्रतिभाशाली अभिनेता खगेन्द्र लामिछाने । उनी नायक होइनन्, न उद्धारकर्ता नै । तर उसले सहजै सबैको सुनिदिन्छ, बुझिदिन्छ र सहजै अरूको जीवनमा उज्यालो फिँजाइदिन्छ । उनी त्यो घरको मान्छे होइनन् । तर भत्किएका सम्बन्धहरूको मौन औषधि हुन् जसको उपस्थितिले चर्केको घर बिनादाग टालिदिन्छ ।

‘रौनक’ अर्थात् उज्यालो भन्ने अर्थ बोकेको घर वास्तवमा त्यस्तै एउटा  पात्रको प्रतीक्षामा थियो जसले भित्रैबाट उज्यालो ल्याउन सक्थ्यो । घरलाई घर बनाउन सजिलो छैन भन्ने कुरा फिल्मले निकै सजिलो तर सशक्त ढङ्गले देखाउँछ । बैंकको ऋण, दैनिक द्वन्द्व, वृद्ध बुवा आमाको बेवास्ता, अनि मौन पीडाहरू घरलाई घर हुन नदिने तत्वहरू । जब हामी आफ्नोपन गुमाउँदै जान्छौँ । हामी भाडामा त बस्छौँ, तर भित्री रूपमा निर्वासित हुन्छौँ ।

आर्यन सिग्देल, नेपाली सिनेमा जगतमा एक समय ‘प्रेमी पात्र’को पर्याय बनेका चकलेटी अभिनेता । यो चलचित्रमा रौनकको रूपमा पूर्णतः परिपक्व बनेर उभिएका छन् । प्रेमिल मुस्कानभित्र लुकेको जिम्मेवारी, अभावबीच बाँच्ने चाहना, अनि दायित्वको गह्रौँ बोझ, यी सबै आयामहरू उनले अभिनयमा अद्भुत रूपमा प्रस्तुत गरेका छन् ।

यो चलचित्रसँगै आर्यनले नेपाली सिनेमामा आफ्नो दोस्रो चरणको सुरुवातको सङ्केत दिएका छन् । लाग्छ उनी अझ गहिरो, आत्मपरक र दर्शकसँग भावनात्मक रूपमा जोडिने किसिमको पात्रका रूपमा आफूलाई स्थापित गर्दैछन् ।

बुद्धिसागरको कथा र संवादमा अभिनेताहरूको जीवन्त अभिनय, र पलपलमा महसुस हुने दार्शनिक गहिराइ, सबैले यो चलचित्रलाई आफ्नै अनुभूति बनाइदिन्छ । ‘फिल्म भन्दा बढी अनुभूति’ । चलचित्रले कुनै निश्चित उत्तर दिन खाज्दैन । बरु, प्रश्न खडा गरिदिन्छ, ‘तपाईंको घर साँच्चिकै घर हो त ?’ किनभने सायद, हामी सबै हाम्रो आफ्नै ‘रौनक निवास’ खोज्दै छौँ । 

कान्तिपुर

Link copied successfully