काठमाडौँ — 'बिट्विन द माउन्टेन एन्ड द स्काई' देखाउँदै २२ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । जेठ १४ देखि १८ सम्म चल्ने महोत्सवमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी फिल्म ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टर, एस्ट्रेक हल र जीएए हलमा एकसाथ प्रदर्शन गरिनेछ ।
'बिट्विन द माउन्टेन एन्ड द स्काई'मा सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोयनको समाजसेवा र जीवन देखाइएको छ । हाल संयुक्त राष्ट्र अमेरिकामा प्रदर्शनरत रहेको छ यो फिल्मलाई दर्शकले महोत्सवमा हेर्न पाउने भएका छन् ।
किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बू महोत्सवमा छनोट फिल्महरुले सँस्कृति र समाजलाई कथाहरुमार्फत जोड्ने काम गर्ने बताइन् । 'यो सँस्करणमा छानिएका फिल्महरुका पात्रहरुले बाँचेको जीवनबाट दर्शक पनि आकर्षित हुनेछन् भन्नेमा हाम्रो विश्वास छ,'लिम्बूले भनिन्,'
चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसीले फिल्महरु मनोरञ्जन मात्रै नदिई इतिहासको दस्तावेजीकरण रहेको पनि धारणा राखे । 'जब हामी हाम्रो कथा इमान्दार भएर भन्छौं, हामी फिल्म मात्रै बनाइरहेका हुँदैन । तर, इतिहास रचिरहेका हुन्छौं,'उनले भने ।
महोत्सवका निर्णायक नवीन सुब्बा किम्फजस्ता प्लेटफर्मले आफूलाई पनि हुर्काएको हुँदा यो महोत्सवले थुप्रै नेपाली फिल्मकर्मीलाई स्थान दिँदै आएको बताए । 'म पनि यही प्लेटफर्मबाट हुर्कें । यो प्लेटफर्मले थुप्रै समकालीन फिल्मकर्मीलाई हुर्काउँदै आएको छ,'सुब्बाले भने ।
