रेखाको नाट्य‍‍-अवतार

जेष्ठ १४, २०८२

समर्पण श्री

A theatrical incarnation of Rekha

काठमाडौँ — अभिनेत्री रेखा थापाले फिल्म करिअरको २५ वर्षपछि पहिलो पटक रंगमञ्चको स्टेजमा उक्लने निर्णय गरिन् । निर्णय गरिरहँदा उनका आँखामा विगतका दृश्यहरू फिल्मका रिलझैं घुम्न पुगे ।

किशोरी हुँदै ‘हिरो’बाट फिल्म क्षेत्रमा पदार्पण गरेकी उनले थुप्रै यादगार फिल्ममा काम गरिन् । अन्यायविरुद्ध फिल्मको पर्दामा हिरोहरू मात्र लडिरहेको समयमा उनी फाइटरको रूपमा देखा परिन् । रेखा यतिबेला जीवनका घुम्तीहरूमध्ये नयाँ घुम्तीमा उभिएकी छन् । ‘यो छोरी वैभव राज्यलक्ष्मी जन्मेपछिको नयाँ घुम्ती हो । जहाँबाट म आफ्नो अर्को अध्याय सुरु गर्दैछु,’ रेखा भन्छिन् ।

उनी आगामी १५ गतेबाट मञ्चन हुने कान्तिपुर थिएटरको पहिलो नाटक ‘मीरा’मा मीराकै भूमिकामा देखिनेछिन् । संयोग के छ भने हिजो किशोरी उमेरमै अभिनय सुरु गरेकी रेखा नाटकमा किशोरवरमै फर्किँदै छिन् ।  ‘नाटकमा म १८ वर्षकी मीरा पनि देखिँदै छु,’ रेखा भन्छिन् ।

करिअरका सुरुवाती दिनमा अभिनयमा उनले परिपक्व युवतीका भूमिका गर्नुपर्थ्यो । उमेरभन्दा धेरै माथि देखिनका लागि उनले थप मेहेनत गर्नुपर्थ्यो । नाटकको सन्दर्भमा भने ठ्याक्कै विपरीत । ‘मैले आफूलाई किशोरी देखाउन मेहेनत गरिरहेको छु । त्यो स्वाभाविक रूपमा देखिँदै गइरहेको छ,’ उनी भन्छिन् ।

A theatrical incarnation of Rekha

यसअघि पनि नाटकमा प्रस्ताव नआएका हैनन् रेखालाई । तर व्यस्त करिअरमा उनले समय छुट्याउन सकिनन् । ‘एक महिनाभन्दा बढी दिनुपर्छ भनेपछि मसँग समय थिएन ।अहिले पनि छैन । वैभवीलाई समय दिनुपर्छ । त्यसमाथि आफ्नै फिल्म कालीको सुटिङका लागि तयारी गरिरहेको छु,’ आफूलाई के कुराले प्रेरित गर्‍यो भन्ने सन्दर्भ केलाउँछिन् रेखा, ‘तर म आफूलाई रंगमञ्चमा उभ्याउन चाहन्थेँ । पछिसम्म पनि जीवनलाई यादगार बनाउन चाहन्थेँ ।’

कथा सुन्नुअघि रेखा नाटकका लागि तयार थिइनन् । जब सुनिन्, त्यसपछि विनासर्त निर्णय गरिन् । ‘यो त म गर्छु । यस्तो लाग्यो कि एक महिना मीराको जिन्दगी बाँचेर हेरौँ,’ रेखा सुनाउँछिन् । 

मीरा भई बाँचेको त महिना भइसकेछ । रेखाले बुझेकी मीरा के रहेछिन् त ? सुनाउँछिन्, ‘बहुत क्रान्तिकारी । धेरै विद्रोही । त्यो मीरामा म आफूलाई पनि भेट्दिनँ ।’ रेखाको अनुभूतिमा मीरा भएर बाँच्न जति अप्ठ्यारो भयो, त्यति गर्व पनि ।

उसो त नाटकघर नै रेखालाई नयाँ पाठशाला जस्तो लाग्यो । पात्रको जीवन बाँच्दा पुनर्जन्मझैँ पनि लाग्यो । ‘रमाइलो कुरा त ०५७ सालकी रेखा र अहिलेकी रेखामा इनर्जी एउटै भेटेँ,’ उनी तुलना गर्छिन् । सुरु सुरुमा रिहर्सलहरूले रेखालाई रनभुल्लमा पारे । थिएटरका कलाकारहरू अभिनयमा पोख्त थिए । उनीहरूको काम देखेरै नर्भस भइन् उनी । ‘सबै अभ्यस्त । देखेर लाज लाग्यो । एक हप्ताभन्दा बढी त म हेरिमात्र रहेँ । निर्देशक नै आत्तिइसकेछन् । तर बिस्तारै खुल्दै खुल्दै गएँ,’ उनी अनुभव बाँड्छिन् ।

A theatrical incarnation of Rekha

नाटकका निर्देशक सुन्दर धिताल रेखालाई रंगमञ्चमा उभ्याउँदासम्मको अनुभव साट्छन्, ‘सुरुमा नाटक पढ्दा हामीले उहाँलाई नै सम्झियौँ ।’ तर उनी राजी होलिन् त ? उनीहरू अन्योलमै थिए । ‘तर कथा सुनिसकेपछि उहाँ तयार हुनुभयो । हामीले सोच्दै नसोचेको कुरा, खुसी भयौँ,’ सुन्दर भन्छन् ।

यद्यपि रंगमञ्चको काम र प्रक्रिया पर्दाभन्दा धेरै भिन्न हुन्छ । स्टार कलाकारलाई काम कसरी लगाउने ? समय व्यवस्थापन के होला ? डर थियो उनीहरूलाई । उनीहरूले रेखालाई बुझाउँदै लगे । ‘उहाँ सुरुकै दिनदेखि रेखा भएर आउनुभएन । मिरा भएर आउनुभयो, ’ सुन्दर खुसी व्यक्त गर्छन्, ‘उहाँ सिक्नका लागि विद्यार्थी बनेर आउनुभयो ।’ 

बिहान १० बज्नासाथ रिहर्सल कक्षमा रेखाको प्रवेश भइसक्थ्यो ।

अब मञ्चनको समय नजिकिइसक्यो । कान्तिपुर फिल्म एकेडेमीको नाटकघर, गैह्रीधारामा रेखालाई स्टेजमा मीरा बनेर उभिने व्यग्र प्रतीक्षा छ । फिल्म करिअरमा उनले थुप्रै प्रशंसाहरू पाइन् । प्रतिष्ठित अवार्डहरू बटुलिन् । तर रंगमञ्चमा उनको यो पाइलो पाइला हो । पहिलो पाइलाबाट उनी करिअरको नयाँ गणित सुरु गर्न चाहन्छिन् । अघिल्ला समयमा उनी स्वयंले विगतका कामहरूको अभिलेख भने राखिनन् । तर अब उनी छोरी वैभवीका लागि पनि दस्ताबेज राख्न चाहन्छिन् । ‘दर्शकले मात्र हैन, छोरीले पनि आमाको कामलाई मूल्यांकन गरोस्,’ रेखा खुसी भावमा भन्छिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully