काठमाडौँ — नेपालको ख्यातिप्राप्त लोक-शास्त्रीय सांगितिक समूह सुकर्म अहिले युरोपका सहरहरूमा सांगितिक कार्यक्रममा व्यस्त छ । युरोपका चार देश स्विट्जरल्यान्ड, इटाली, फ्रान्स र बेल्जियमका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने उद्देश्यले समूह जेठ ७ गते स्विट्जरल्यान्डका लागि प्रस्थान गरेको थियो ।
करिब एक महिना लामो सांगितिक यात्राका दौरान सुकर्मले ती देशका विभिन्न सहरमा दुई दर्जनजति सांगीतिक प्रस्तुति दिनेछ ।
यस वर्ष सुकर्मको भ्रमण टोलीमा समूहका सितारवादक प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी र बाँसुरीबादक उमेश पण्डित रहेका छन् । सुकर्मका यी दुई सदस्यलाई तबलामा साथ दिन न्युयोर्क, अमेरिकाददेखि युरोप पुगेका छन् अभिरोध शर्मा । क्यारिबियन द्विप राष्ट्र वेष्ट इन्डिजका तबलावादक शर्माले न्युयोर्कमा इष्ट इन्डियन म्युजिक एकेडेमीमार्फत संगीत प्रशिक्षण तथा प्रस्तुति गर्दै आएका छन्। ग्रामी अवार्डको उत्कृष्ट म्युजिक एल्बमका लागि मनोनयनमा परिसकेका शर्माले पटक-पटक नेपाल भ्रमण गरेर सुकर्मसंग सांगीतिक साझेदारी गर्दै आएका छन् ।
'हामी दुई दशकदेखि युरोपमा विभिन्न सांगीतिक महोत्सव अनि नेपाली तथा नेपाललाई माया गर्ने व्यक्ति तथा संस्थाहरूको निमन्त्रणामा प्रस्तुति दिँदै आएका छौं,' स्विट्जरल्यान्डको तिचिनो सहरस्थित तेयात्रो दिमीत्रीमा सांगितिक प्रस्तुतिपछि ध्रुवेशचन्द्रले भने, 'दर्शकको प्रतिक्रिया र खासगरी नेपाली लोक-शास्त्रीय संगीत प्रतिको रूचि अत्यन्तै उत्साहजनक पाएका छौं । हाम्रो यस पटकको उद्देश्य अलि परोपकारी प्रकृतिको छ । नेपाली संस्कृतिको प्रवर्द्धन र नेपालमा परोपकारी कार्य गर्दै आएका संस्थाका निम्ति रकम संकलन पनि गर्नेछौं ।'
सुकर्मको प्रस्तुति फ्रान्स र बेल्जियमका सहर हुँदै असार २ गते जर्मनीको बन सहरमा टुंगिनेछ ।
