पर्वत — प्रथम गण्डकी लोकताराको जिल्ला अडिसन सकिएको छ । शनिबार कुश्मामा भएको अडिसनबाट १५ प्रतिस्पर्धी मध्येबाट तीन जना गायक/गायिका छनोट भएका छन् । छनोट हुनेहरुमा अप्सन विश्वकर्मा, शोभा परियार र प्रकाश पौडेल क्षत्री रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको आयोजनामा जिल्ला अडिसन राउण्ड सकिएको प्रतिष्ठानकी जिल्ला अध्यक्ष पूजा कार्की शर्माले बताइन् । छनोट भएकाहरूलाई थप प्रतिस्पर्धामा सहभागी गराउन असार ७ गते पोखरा लगिने उनी बताउँछिन् ।
'लोकगीत गाउन सक्ने स्वर भएर पनि आर्थिक अभावकै कारण गुमनाम सर्जकलाई अवसर हो’, उनले भनिन्, ‘गण्डकी प्रदेशका जिल्लाहरूबाट छनोट भएका गायक/गायिकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुन्छ ।’ असार ७ गते संगीत दिवसको अवसर पर्ने भएकाले प्रथम गण्डकी लोकताराको विजेता घोषणा गरिने पनि उनले बताइन् ।
प्रथम गण्डकी लोकताराको उपाधि जित्ने गायक/गायिकाले ५१ हजार १ सय ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सँगै विजेताले एउटा निःशुल्क गीत पनि रेकर्ड गर्न पाउने छन् । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने प्रतिस्पर्धीले क्रमशः ३१ हजार १ सय ११, २१ हजार १ सय ११ र ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।
लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहनका लागि भनेर भएको प्रथम गण्डकी लोकतारामा कास्की, स्याङ्जा, पर्वत बागलुङ, म्याग्दी तनहुँ, गोर्खा, लमजुङ र नवलपुरका गायक/गायिकाको प्रतिस्पर्धा रहने छ ।
