काठमाडौँ — फिल्म ‘हेरा फेरी ३’ बाट अभिनेता परेश रावल बाहिरिएपछि बलिउड फिल्म क्षेत्रमा यतिबेला हलचल मच्चिएको छ।
परेश रावलले सामाजिक सञ्जालमार्फत् आफू उक्त फिल्ममा नरहने जानकारी समेत दिएका थिए। फिल्मका मुख्य पात्रमध्येका एक अभिनेता सुनील शेट्टीले यसबारे केही प्रतिक्रिया दिँदै भनेका थिए, ‘परेश रावल बिना यो फिल्म बनाउनु सम्भव छैन ।’
‘हेरा फेरी’को पहिलो भाग निर्देशन गरेका प्रियदर्शनले पनि परेश रावलको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् । अभिनेता अक्षय कुमारका कदमका कारण फिल्ममा झन् विवाद बढेको छ । फिल्म छोडेकै कारण अक्षय कुमारले परेश रावललाई २५ करोड रुपैयाँको कानुनी नोटिसल समेत पठाए ।
सन् २००० मा पहिलो पटक रिलिज भएको ‘हेरा फेरी’मा मुख्य भूमिकामा परेश रावल, अक्षय कुमार र सुनील शेट्टी थिए । फिल्म अत्यन्तै हिट भएपछि सन् २००६ मा यसको सिक्वेल ‘फिर हेरा फेरी’ आएको थियो ।
लल्लनटपलाई दिएको अन्तर्वार्तामा परेश रावलले ‘हेरा फेरी’मा आफ्नो भूमिकालाई ‘गालाको पासो’ भनेका थिए । उनले सिक्वेलहरू बनाएपछि आफूलाई त्यस छविबाट छुटकारा चाहिएको पनि बताएका थिए ।
उक्त अन्तर्वार्तामै उनलाई अक्षय कुमार मित्र हुन् कि होइनन्भ ने सोधियो । उनले सुरुमा ‘हो’ भने । त्यसपछि थपे, ‘फिल्म उद्योगमा सहकर्मी हुन्छन्, थिएटरमा मित्र हुन्छन्, स्कुलमा वास्तविक साथी हुन्छन् ।’
गत आइतबार, परेश रावलले एक्स (पहिलेको ट्विटर)मा प्रस्टिकरणसहित लेखेका थिए, ‘यो स्पष्ट गर्न चाहन्छु कि हेरा फेरी ३बाट अलग हुने मेरो निर्णय कुनै क्रिएटिभ मतभेदका कारण होइन । निर्देशक प्रियदर्शनसँग मेरो कुनै झगडा छैन । म उहाँप्रति सम्मान, माया र विश्वास राख्छु ।’
सुनील शेट्टीले भने यो खबर सुन्दा आफू स्तब्ध भएको बताए । उनले भने, ‘यो खबर थाहा पाउँदा म पूर्णरूपले टुटेँ । यदि कुनै एउटा फिल्म थियो । जसलाई म पर्खिरहेको थिएँ भने त्यो ‘हेरा फेरी’ थियो। यो फिल्म १०० प्रतिशत परेश रावल बिना बन्न सक्दैन । एक प्रतिशत हामी (अक्षय र म) बिना बन्न सक्छ, तर बाबू भैया (परेश रावल) बिना होइन ।’
टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा सुनील शेट्टीले भने, ‘मलाई विश्वास छ कि सबै कुरा ठीक हुनेछ । तर मलाई यसबारे केही थाहा थिएन । मैले तपाईंहरूझैं मिडियाबाट मात्र सुनेको हुँ,’ उनले थपे, ‘फिल्म नबने पनि म परेश र अक्षयबीच कुनै मनमुटाव देख्न चाहन्न ।’
निर्देशक प्रियदर्शनले पनि यसबारे प्रतिक्रिया दिएका छन् । भनेका छन्, ‘परेशले मलाई अहिलेसम्म केही बताएका छैनन् । अक्षय कुमारले फिल्म निर्माता फिरोज नाडियाडवालाबाट राइट्स खरिद गरेका थिए । त्यसैले कानुनी कदम चाल्ने अधिकार उनको छ ।’
उनले भने, ‘फिल्म सुरु गर्नुअघि अक्षयले मलाई सुनिल र परेशसँग कुरा गर्न भनेका थिए । दुवै तयार थिए। मलाई केही गुमाउनु छैन, तर अक्षयले पैसा लगानी गरेका छन् ।’
परेश रावललाई कानुनी नोटिस पठाइएको हिन्दुस्तान टाइम्सको दाबी छ । परेशले कानुनी सम्झौता गरेर सुटिङ सुरु भएपछि फिल्म छोडेका थिए । परेशसँगको कुराकानीमा भने उनले आफूलाई यसबारे कुनै जानकारी नभएको जवाफ दिए ।
–बीबीसी हिन्दीको सहयोगमा
