नयाँ दिल्ली — नेटफ्लिक्स, डिज्ने, स्पटिफाई, एप्पल म्युजिकजस्ता भारतमा सञ्चालित सबै ओटीटी तथा स्ट्रिमिङ प्लाटफर्महरूलाई पाकिस्तानमा बनेका सम्पूर्ण कन्टेन्ट हटाउन भारत सरकारले अनुरोध गरेको छ ।
बिहीबार ६ बुँदे निर्देशिका जारी गर्दै भारतको सूचना तथा प्रसारण मन्त्रालयले पहलगाम आक्रमणपश्चात राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिइएको र पाकिस्तानमा सिर्जना भएका सम्पूर्ण कन्टेन्ट हटाउन निर्देशन दिएको उल्लेख गरेको थियो ।
‘भारतमा सञ्चालन भइरहेका सबै ओटीटी प्लाटफर्म, मिडिया स्ट्रिमिङ प्लाटफर्म तथा इन्टरमिडिएरीहरूलाई पाकिस्तानमा बनेका वेब सिरिज, फिल्म, गीत, पडकास्ट तथा अन्य कन्टेन्ट तत्काल हटाउन सुझाव दिइएको छ,’ मन्त्रालयको सूचनामा भनिएको छ । यसअघि भारतले पाकिस्तानी सेलेब्रिटीहरूको सामाजिक सञ्जाल ह्यान्डल भारतमा ब्लक गरिदिएको थियो । पाकिस्तानले पनि सोही किसिमले प्रतिवाद गरेको छ ।
