काठमाडौँ — निर्देशक सुविना श्रेष्ठ निर्देशित डकुमेन्ट्री 'देवी' प्रदर्शनरत छ । जनयुद्धमा बलात्कार र यौनजन्य हिंसाको सिकार भएका महिलाहरुको कथा समेटिएको यो डकुमेन्ट्री वैशाख २० देखि हलमा प्रदर्शनमा आएको हो ।
नेपालमा डकुमेन्ट्रीलाई हलमा प्रदर्शन गर्ने खासै प्रचलन छैन । खासमा नेपालमा डकुमेन्ट्री प्रदर्शनको बजार पनि छैन । तर, केही डकुमेन्ट्रीले हल प्रदर्शनको बाटो खोजेका छन् । पछिल्लो समय निर्देशक राजन कठेत र सुनीर पाण्डेको 'ढोरपाटन' भने करिब १ महिना सिडिसीमा प्रदर्शनमा आएको थियो । 'देवी' हलमा मात्रै नभई, डकुमेन्ट्रीको विशेष प्रदर्शन गर्ने तयारी पनि छ ।
निर्देशक श्रेष्ठका अनुसार धनगढी, नेपालगञ्ज, सुर्खेत, बुटवल, विराटनगरलगातका सहरमा विशेष प्रदर्शनको तयारी छ । ८० मिनेट लामो यो डकुमेन्ट्रीमा युद्धको समयमा हिंसामा परेका महिलाहरुको न्यायका लागि देवीले लडेको लडाईं छ । यो डकुमेन्ट्री विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा छनोट भई प्रदर्शनमा आएको थियो ।
पत्रकारिता हुँदै डकुमेन्ट्री निर्देशनमा होमिएकी सुविना रिपोर्टिङकै क्रममा देवी खड्कासँग ठोक्किएकी हुन् । देवीले आफ्नो डायरी सुविनालाई थमाइदिएपछि उनले डकुमेन्ट्री बनाउने जिम्मेवारी महसुस गरिन् ।
