तपाईं अभिभावक कि 'डिभाइस' ?

फोनकै कारण बालबालिकामा पर्न सक्ने असर बुझाउन 'झिल्को'ले सशक्त भूमिका खेल्छ । र, त्यो कारण कतै तपाईं आफै त होइन ?

वैशाख २२, २०८२

प्रविना पौडेल

Are you a parent or a 'device'?

काठमाडौँ — हामीले प्रविधि चलाइरहेका छौं कि प्रविधिले हामीलाई ? हामी अभिभावक कि डिजिटल अम्मली ? डिजिटल झिल्कोलाई आगोका रूपमा सदुपयोग गर्ने कि डढेलोका रूपमा विनाश ? यिनै प्रश्नहरूको माला हो, शुक्रबारदेखि प्रदर्शनरत चलचित्र 'झिल्को : द स्पार्क' ।

हामी त्यस्तै चिजप्रति आकर्षित हुन्छौं जुन हाम्रो अनुभव, भावना र सोचसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएको हुन्छ । ‘मजस्तै’, ‘मेरोजस्तै’ भनेर हामीलाई भनिरहन मन पर्छ । ‘हाम्रो घरमा जस्तै है...’ भन्न पाउँदा पनि बेग्लै अनुभूति हुन्छ । यस्तै अनुभव दिने फिल्म हो झिल्को ।

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर यही प्रविधिले हाम्रा बालबालिका र परिवारलाई कसरी प्रभावित गरिरहेको छ ? यही प्रश्नको जवाफ खोज्ने प्रयास झिल्कोले गरेको छ । झिल्कोले मोबाइल फोनको कुलतको गम्भीर मुद्दालाई उठाउँदै दर्शकको मनमा प्रश्नको झिल्को छोड्छ । 

‘झोला’का निर्देशक यादवकुमार भट्टाराईद्वारा निर्देशित यो चलचित्र आस्था (आयुषी ढकाल) को वरिपरि घुम्छ, जसको जीवन भने मोबाइलको वरिपरि घुमेको छ । बिहान उठ्नासाथ मोबाइल, खाना खाँदा मोबाइल, राति सुत्नुअघि अबेरसम्म मोबाइल, स्कुलबाट घर आउनेबित्तिकै मोबाइल । हुँदाहुँदा स्कुलमा समेत मोबाइल ! 

सानो बच्चाले खाना खाएन । के गर्ने ? मोबाइल थमाइदिने ।  बच्चा रोयो । के गर्ने ? मोबाइल थमाउने । अहिले प्रायः बालबालिकाको हुर्काइ यस्तै छ । यही कुरा देखाउन फिल्मको सुरुवातबाटै मोबाइलको लतमा डुबेकी आस्थालाई देखाइएको छ । स्कुल जान मन नगर्नेदेखि साथीभाइमा घुलमिल हुन मन नलाग्ने, एक्लोपना हुनेसम्मका लक्षण आस्थामा छ । फिल्म हेर्ने जोकोहीले मोबाइलको लतको असर बुझ्न सक्छ ।

मानसिक स्वास्थ्यलाई लिएर नेपाली समाजमा कस्तो धारणा व्याप्त छ ? त्यही कुरा फिल्ममा पस्किइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा साइकोलोजिस्ट वा काउन्सिलरकहाँ जानेप्रति नेपाली समाजमा जस्तो प्रकारको नकारात्मक बुझाइ छ, निर्माताले यही सोचलाई फिल्ममा पस्केका छन् ।

नेपाली सिनेमामा मानसिक स्वास्थ्य, मनोविज्ञानमा आधारित फिल्म हेर्न अभ्यस्त नभइसकेको दर्शकका लागि ‘नोमोफोबिया’ अर्थात् नो मोबाइल फोन फोबिया जस्तो समस्या पनि हुन्छ र भन्ने लाग्न सक्ला । बालबालिकालाई स्मार्टफोनको लतले कस्तो असर पार्छ त ? अत्यधिक स्मार्टफोनको प्रयोगले किशोर–किशोरी र युवामा पर्ने असरबारे सन् २०२१ मा नेसनल लाइब्रेरी अफ मेडिसिन, फ्रन्टायर इन साइकियाट्री जर्नलमा एउटा अध्ययन प्रकाशित छ  । जसमा अत्यधिक स्मार्टफोन प्रयोग डिप्रेसन, एन्जाइटी, ओसीडी (अबसेसिभ, कम्पल्सिभ डिसर्डर), एडीएचडी (अटेन्सन डिफिसिट हाइपर एक्टिभ डिसर्डर) र मदिरा सेवनसम्बन्धी समस्यासँग पनि जोडिने उल्लेख गरिएको छ ।

कतिपय अध्ययनले त इन्टरनेट र लागुपदार्थले एकै तरिकाले काम गर्नेसमेत बताएका छन् । युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (यूएससी) को डोर्नसाइफ कलेज अफ लेटर्स, आर्टस् एन्ड साइन्सेस्का प्रोफेसर र न्युरोसाइन्टिस्ट एन्टोइन विशाराका अनुसार लागुपदार्थ कोकिन र इन्टरनेटको एडिक्सनमा उस्तै गरी मस्तिष्कमा काम हुन्छ । ‘इन्टरनेट र कोकिनले मस्तिष्कमा खुसी गराउने न्युरोट्रान्समिटर, डोपामिन उत्पादन गर्छ । जसले हामीलाई बारम्बार त्यो खुसी पाउन धकेलिरहन्छ । विशाराले यूएससी टुडेको स्मार्टफोन र ड्रग्सको लतसम्बन्धी २०१७ मा प्रकाशित एक लेखमा उल्लेख गरेका छन् ।

फोनसँग सम्बन्धित अनेकन समस्या हामीले हर दिन देखिरहेका र भोगिरहेका छौं । तर यसले पार्ने असरबारे न बहस छ न छलफल नै । यही रिक्ततालाई फिल्मले पूरा गर्ने प्रयास गरेको छ । फिल्ममार्फत निर्देशकले नोटिफिकेसनले हाम्रो मस्तिष्कमा काम गर्ने प्रक्रियादेखि बेलाबखत अनयासै हाम्रो ध्यान फोनमा किन जान्छ र कुनै पनि नोटिफिकेसनको आवाजले हाम्रो मस्तिष्कमा कस्तो असर पर्छ भन्ने कुरालाई पनि फिल्मले देखाएको छ ।

हामीलाई कुनै पनि कुराको लत लाग्ने प्रक्रिया डोपामिन चक्रसँग जोडिन्छ । यही राम्रो महसुस गराउने रसायन अर्थात् डोपामिन फोनमा नयाँ नोटिफिकेसनले पनि उत्पादन गराउँछ । सरल तरिकाले भन्ने हो भने, फोनले डोपामिन उत्पादन गराउँदै हामीलाई पटक–पटक स्क्रिनतिर तानिरहेको हुन्छ । झिल्कोले यो अवधारणालाई कथाको माध्यमबाट जीवन्त रुपमा देखाउँछ, जसले दर्शकलाई आफ्नै प्रविधि प्रयोगबारे सोच्न प्रेरित गर्छ ।

बालबालिकाको मनोविज्ञान र मानसिक स्वास्थ्यलाई फिल्ममा फोनको कुलतसँग मात्र जोडेर देखाएको छैन । बालबालिकाप्रति अभिभावकको बेवास्ता, अभिभावकबीचको सम्बन्धले पनि बालबालिकाको मनोविज्ञान र मानसिक स्वास्थ्यमा उत्तिकै भूमिका खेल्छ भन्ने पनि फिल्ममा देख्न सकिन्छ । 

झिल्कोको हरेक दृश्यले खुलदुली बनाउँछ । पटकैपिच्छे आफैंप्रति प्रश्न गर्न वा सोच्न बाध्य बनाउँछ । झिल्को हेर्ने हरेक अभिभावकका लागि अर्को प्रश्न छ, आफ्ना बालबालिकासँग कति समय बिताउनुहुन्छ ? तपाईंको बालबालिकाको फेभरेट साथी तपाईं कि स्मार्टफोन ? 

मनोविज्ञानको विद्यार्थी भएकै कारण पनि यो फिल्मलाई मैले मनोविज्ञानकै दृष्टिले हेरेँ । झिल्को फिल्ममा बच्चाले मोबाइल नपाउँदा अरुको फोन तान्दै भागेको देखाइएको छ । जुन हामीले हरदिन देखिरहेको दृश्य हो । केही समयअघि काठमाडौंको रातोपुलस्थित किड्स क्याम्पस मन्टेश्वरीकी प्रिन्सिपल अनु अधिकारीले पनि आफ्नो अनुभव मलाई सुनाएकी थिइन् । उनले एकदिन स्कुलभित्र आफूले फोन चलाइरहेको दृश्य एक बालकले चनाखो दिएर हेरेको र एकैछिनमा ती बालक खुर्रर दौडिएर आफ्नो छेउ आएर फोन मागेको बताए । आफूले स्कुलमा फोन चलाउन हुँदैन भनेर भन्दा ती विद्यार्थी रोएको र स्कुलका अरु शिक्षक कर्मचारीले सम्झाउनैपरेको घटना सुनाइन् । उनले सुनाएकै जस्तो दृश्य यो फिल्ममा पनि देखाइएको छ ।

जतिबेलै पनि फोन प्रयोग गर्ने अभिभावक, बालबालिकाको लागि आफैं रोलमोडल बनिरहको कुरा अभिभावकलाई बुझाउन सक्छ । फोनको असर कस्तो हुन्छ भन्ने कुरा फिल्ममा देख्दा बालबालिकालाई सचेत बन्न सघाउँछ ।

यद्यपि फिल्मलाई आलोचनात्मक व्याख्या गर्नुपर्ने अन्य विषयहरु पनि छन् । बालिका एकाएक घरबाट हराउँछिन् । उनी कहाँ जान्छिन् ? किन हराउँछिन् ? त्यसको जवाफ फिल्मले दिँदैन । तर, त्यसको जवाफ दर्शकले माग भने गर्छन् । यस्तै फिल्ममा महिला अधिकार र महिलावादबारे हलुका प्रस्तुति दिइएको अनुभूति हुन्छ । जुन अलि अस्वभाविक देखिन्छ दृश्यहरूमा । त्यस्तै, कतिपय ठाउँमा संवाद र अस्वाभाविक दृश्यमा चिप्लिएको हो कि भन्ने अनुभूति पनि हुन्छ । 

'झिल्को'ले समग्रमा आफ्ना बालबालिकालाई फोनकै कारणले पर्न सक्ने असर बुझाउन भने सशक्त भूमिका खेल्छ । र त्यो कारण कतै तपाईं आफै त होइन ? सोच्न बाध्य बनाउँछ ।

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully