द मस्ट वान्टेड ‘वायुपंखी बफेलो’

वैशाख २१, २०८२

श्रीजु सरल

The Most Wanted 'Vayupankhi Buffalo'

काठमाडौँ — यो वायुपंखी घोडाको कथा होइन । यो त वायुपंखी बफेलोको कथा हो । सानामा शौच जाँदा पनि बाआमा चाहिने सन्तानहरू हुर्किँदै गएपछि बिस्तारै आँगन, बारीको डिल र डाँडा काटेर पनि एक्लै डुल्न सक्ने हुन्छन् । त्यो बेला बाआमा भन्छन्- अब यिनको प्वाँख पलाएछ ! यो कथाभित्र पनि एउटा बफेलो छ, जसको प्वाँख पलाइसकेको छ। उसलाई डाँडा मात्र काटेर पुगेको छैन । उसलाई त समुद्र पनि काट्नु छ, तर बतासिएर । हो, तसर्थ यो एउटा वायुपंखी बफेलोको कथा हो ।

यो बच्चाको नाम हो आइँ ! यसको बाबु नाम हो आइँ ! हो, दुवैले एक अर्कालाई आइँ भनेर बोलाउँछन् । यिनले अरूलाई बोलाउँदा पनि आइँ नै भनेर बोलाउँछन् । यसरी सुरु भएको कथावाचनले नाटकको लागि सुरुमै चाहिँदो मुड सिर्जना गरिदिन्छ । दर्शकहरू नाटकबाट मनोरञ्जन लिन सुरुवातदेखि नै आफूलाई तयार गर्छन् । मानौं, उनीहरूको मानसिकताले एउटा आकार लिन्छ- यहाँ जे भनिन्छ, गरिन्छ ती सबै हँसीमजाक हुन्, ख्यालख्याल हुन् ।

त्यसो त सतहमा हेर्दा यसमा कथा छ र ? भन्ने पनि लाग्ला । तर, यस नाटकको कथा संवादहरूमा भेटिँदैनन् । बरु संवाद बीचमा भेटिन्छन् । संवाद वा दृश्य यदि कथाको लेपन वा छाला हुन् भने, त्यो लेप र छालाभन्दा भित्र छ वायुपंखी बफेलोको कथा ।दर्शकले कथा सुन्न सतहबाट गहिराइतिर ओर्लिनैपर्ने हुन्छ । मजाक र ख्यालख्यालको कुरा गर्दागर्दै एक्कासि कुरो गहिराइतिर गयो है ? तर, यो मैले नियोजित रूपमा लेखिरहेको छैन । तपाईं मलाई विश्वास गर्नुस्, खालि नाटकको असर जस्ताको त्यस्तै देखिएको हो ।

एउटा आइँ छ, जसलाई विदेश जानुछ । कागजपत्र सबै छ । तर, खाँटी कुरो छैन- औंठाछाप ! किनभने, आइँसँग औंला नै छैन ।अब यसलाई तपाईं आइँकै कथा मानेर बुझ्नुहुन्छ भने कुरा सिधा छ- औंला छैन, औंठाछाप छैन । तर, आइँको संसारलाई अंग्रेजी 'माई'को संसार अर्थात् तपाईंको आफ्नै मानव संसार मानेर हेर्नुहुन्छ भने औंठाछाप नहुनुलाई तपाईं भाग्यको शंख-चक्र नहुनु भनेर पनि बुझ्न सक्नुहुन्छ ।भाग्यमा विश्वास गर्नुहुन्न ? ठिकै छ त, उसोभए त्यसलाई तपाईं विशेषाधिकार वा आरक्षित सुविधा नभएको भनेर बुझ्न पनि स्वतन्त्र हुनुहुन्छ ।

तर छोड्नुस्, तपाईंले पहिला त यति धेरै सोच्ने सुविधा नै पाउनुहुन्न । कमसेकम नाटकको अवधिभर तपाईंलाई यति गहिरिएर सोच्ने फुर्सद मिल्नेवाला छैन । सोच्न खोज्नुहोला 'बिच्चबिच्च'मा तर, घरी दुर्गेश थापा त घरी एमिनेमले तपाईंको मस्तिष्कलाई हाइज्याक गरेर आइँकै संसारमा रमाउनलाई छोडिदिनेछन् । तर, नाटकमा छोरो आइँ मात्रै छैन, बाबु आइँ पनि छ। राजेश हमालको फ्यान हुनुहुन्छ भने बाबु आइँसँग तपाईं खुसी नै हुनुहुनेछ ।

आमा आइँको कुरो किन आएन सोच्दै त हुनुहुन्न ? ठिक छ, यसको खुलासा नगर्ने निर्णयमा पुगेँ म । बरु, स्पोइल भए पनि भओस्, ढिलो आएर, चाँडै जाने पात्र भएर हुन सक्छ- बुहारी आइँलाई भने तपाईं 'हेरेको हेर्‍यै' गर्न सक्नुहुनेछ । छोटो समयका लागि देखापर्ने यो बुहारी पात्रले पनि तपाईंलाई आफ्नै संसारतिर फर्किएर चिहाउने एउटा आँखीझ्याल दिन्छिन्, प्रश्नहरू दिन्छिन्- मानिस विवाह किन गर्छन्? डिभोर्सका घटना किन भइरहेका छन्? के तपाईं जिन्दगीमा जे पनि गर्नुहुन्छ, सधैं र सबै आफ्नै लागि गर्नुहुन्छ ? कतै गहिरो प्रतिफल बोक्ने निर्णयहरू पनि तपाईं सतही रूपमा गरिरहनुभएको त छैन ? यही नाटकले जस्तै !

सुटुक्क भनूँ ? कौसी थिएटरमा जारी यो नाटकले वास्तवमा 'नाटकै' गरिरहेको छ । कुरो वास्तवमा गम्भीर नै हो तर, यस्तो देखाइरहेछ कि मानौं सबै रस-रमाइलो मात्र हो ।The Most Wanted 'Vayupankhi Buffalo'
नाटक यति दोग्ला छ कि, मञ्चमा घरी पात्र उभिन्छ त घरी कलाकार स्वयं ।मञ्चमा पुगेपछि नाटकबाट हराउनुपर्ने लेखक हराउन मानेको छैन । नाटक मानौं रिहर्सल गर्दागर्दै मञ्चन भइरहेको छ ।

अर्को शब्दमा भनूँ भने, भान्सामा मासु पाक्दै छ तर पाक्दापाक्दै कोही चाखिरहेछ, खाइरहेछ र निलिरहेछ पनि । तर, नआत्तिनुस् मासु काँचो छैन, आरामले पचाइरहेको पनि छ । स्टोरी टेलिङमा यो नौलो नै सम्भवतः होइन भने पनि दुर्लभ नाटक भने अवश्य हो । यस्तो लाग्छ, लेखकलाई थाहा छ आजको बजारको माग । दर्शकको भोक । जे होस्, केही नयाँ, भाँडोमा पक्दापाक्दैको तात्तातो विषयवस्तु र कथावाचन दुवैको लागि रुख्खिनुभएको छ भने यो तपाईंकै लागि पाकेको सितन हुन सक्छ ! तर, चाक्लो, चाम्रो सितन मात्र होइन लठ्याउने पेय पनि सँगसँगै छ। त्यसो त इमानदार भएर भनूँ भने, बेलाबेला प्याला रित्तिएको पक्कै महसुस हुन्छ । तर, कल्पिसक्दा पूरा हुने कल्पवृक्षको वरदानजस्तै रित्तिएको महसुस हुनासाथ राइटर नामको वेटरले नाटकको प्यालामा ह्युमरको अर्को पेग भरिदिहाल्छ ।

पेगको कुरो निस्कियो र सम्झिएँ । साँच्चै, बार पनि त्यहीँ छ, म्यानपावर पनि त्यहीँ छ, त्यहीँ नै फेरि कारागार पनि छ । यसरी सीमित कलाकार तर विविध पात्रले कति धेरै मुद्दालाई काउकुती लगाइदिएका छन् । ग्वार्को फ्लाइओभर ब्रिजको कुरा होस् या सहरमा हुने अटुट आन्दोलनका कुरा । मानव आचरण र मनोदशा केलाउन यो नाटकलाई चाहिएको न त विलियम सेक्सपियर चाहिएको छ न त स्यामुअल बेकेट नै । झन्डैझन्डै मान्छे नै पनि नचाहिएको ! हाम्रै वरिपरि देखिने त्यो पनि अति तरोताजा विषयवस्तुको माध्यमबाट मानव आचरण केलाइएको छ । त्यसो त केही नेपाली शाश्वत परम्पराको चित्रण पनि छँदै छ । टेबल, पैसा र हात ! सुरागका लागि यति नै भनेँ, बाँकी तपाईंकै हातमा ! अर्थात्, मान्छेकै हातमा !

यति लामो कुरा गरियो, नाटक कस्तो छ भन्न झन्डैझन्डै छुटिसकेको । पातलो पिठोको ब्यागमा धेरै किमा भरेको म:म: कहिल्यै खानुभएको छ ? अँ साच्चै, म:म: खान जाँदा कारागारबाट फरार लोकेन्द्र नेपालीलाई कसैले देख्नुभयो भने खबर गर्नुहोला है । धेरैवटा केसमा ऊ वान्टेडको लिस्टमा छ ।

श्रीजु

Link copied successfully