काठमाडौँ — 'क्याठज्याज इन्टरनेसनल म्यूजिक फेस्टिभल' सम्पन्न भएको छ । काठमान्डौं ज्याज कन्जरभेटरीसँगको सहकार्यमा आयोजित यो फेस्टिभल चैत ३१ देखि सुरु भएको हो । फेस्टिभलले ज्याज संगीतमार्फत नेपाली संगीत र योसँग जोडिएका आयमहरुलाई महोत्सवका रुपमा यो कार्यक्रमलाई मनायो ।
सन् २०१७ देखि सुरु गरिएको यो फेस्टिभलको मूल उद्देश्य शिक्षासँग जोडिएको छ । फेस्टिभलले हरेक वर्ष कन्जरभेटरीमा अध्ययन गर्ने दुई विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दै आइरहेको छ ।
'क्याठज्याज'ले सँधै कन्जरभेटरीमा अध्ययनरत संगीतका विद्यार्थीलाई नेपाली क्षेत्रका दिग्गज संगीतकर्मीबाट सिक्ने/सिकाउने वातावरण प्रदान गर्दै पनि आइरहेको छ । फेस्टिभलले युवा संगीतर्मीका लागि आवासीय कार्यशाला पनि प्रदान गर्छ ।
यो पटक फेस्टिभलले महिला संगीतकर्मीलाई प्राथमिकमा राखेर कार्यक्रम गरेको थियो । फेस्टिभलमा नेपालबाट यजु र स्मिता, कुञ्जनी, राजत राई, स्पेनबाट यसीभर र को, स्वीजरल्यान्डको वान्स वी नीउ, क्यानाडाबाट पललगायतका नेपाली एवं विदेशी कलाकारले प्रस्तुति दिएका थिए ।
