काठमाडौँ — सहरमा फेरि नयाँ नाटक मञ्चन सुरु भएको छ । यसबीच फिल्म र नाटक महोत्सवले अस्तव्यस्त देखिएको रंगमञ्चमा नयाँ नाटकहरु मञ्चनमा आउन थालेका हुन् ।
मण्डला थिएटरमा अहिले दुई नाटक एकसाथ मञ्चनरत छन् । स्टुडियो थिएटरमा अनुप न्यौपानेको निर्देशनमा 'कथा एक' मञ्चनरत छ भने अर्को मुख्य हलमा चुलाचुली रंगमञ्च इलामद्वारा 'उर्फ दारासिङ' मञ्चनमा छ । 'कथा एक'लाई प्रेम सिलवाल विश्वकर्मा र निर्देशक न्यौपानेले मिलेर लेखेका हुन् । सम्बन्धका विभिन्न आयमहरु यो नाटकमा समेटिएको छ । मिलन कार्की सहनिर्देशक रहेको यो नाटक वैशाख २८ सम्म मञ्चन हुनेछ ।
'उर्फ दारासिङ'लाई भने चेतन आङथुपोले निर्देशन गरेका हुन् । रुपेश लामाको सहनिर्देशन रहेको यो नाटक जेठ ११ सम्म मञ्चनमा आउनेछ । मौखिक इतिहासमा आधारित नाटकलाई सुमन लिङ्देनले लेखेका हुन् । कौशी थिएटरमा वैशाख १८ देखि 'वायुपङ्खी बफेलो' मञ्चनमा आउँदैछ । क्षितिज पराजुलीको लेखन तथा निर्देशनमा तयार भएको यो नाटकलाई कृष्णबहादुर खड्काले निर्माण गरेका हुन् ।
नाटक वैशाख १८ देखि मञ्चनमा आउने यो नाटक वैशाख २८ सम्म कौसीमा नियमित मञ्चन हुनेछ ।
