काठमाडौँ — मिलन तामाङको निर्देशनमा बन्ने फिल्म 'माइतीघर'को बिहीबारदेखि छायांकन सुरु भएको छ । म्याग्दीको ताकम गाउँमा शुभमूहुर्त गर्दै छायांकन सुरु भएको हो । फिल्मको छायांकन २० दिन ताकम र धारपानी गाउँ र बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा गरिने निर्माण टिमले जनाएको छ ।
फिल्मको शुभमूहुर्तमा धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथी थिए भने वडा नम्बर ७ का अध्यक्ष अशोक खत्री पनि उपस्थित थिए । गाउँहरुले बाजा बजाउँदै निर्माण टिमलाई उक्त ठाउँमा स्वागत गरे ।
चन्द्रकुमार दोङको कथा रहेको फिल्मलाई रामशरण पाठकले लेखेका हुन् । फिल्ममा कलाकारहरु धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल, केदार घिमिरेको अभिनय रहनेछ ।
सुसन प्रजापतिले खिच्ने फिल्म आगामी फूलपातीमा प्रदर्शनमा ल्याउने तयारी छ । फिल्ममा तामाङ संस्कृति समेटिने बताइएको छ ।
