प्रमुख पात्रको भावनात्मक यात्रामा दर्शकलाई हिँडाउन नसक्दा फिल्मका कतिपय विम्बले भने खल्लो महसुस गराउँछन्
काठमाडौँ — एकबारको जुनी यो, लानु त के छ र मरेर जाने होजीवन यहाँ यो, अमर छैन नि माटोमा मिल्ने हो...
चर्चमा पास्टर (विमल सुवेदी) ले संगीत समूहसँग यो भजन गाउँदा अन्तिम स्वासम्मै भूटानको माटो टेक्न चाहने विष्णुबहादुर केसी (हरिवंश आचार्य) को शरीरले भने संसार छाडिसक्छ । विष्णु अर्थात् नेपालभाषी भुटानी शरणार्थी । सन् १९८८ को राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका उनी जीवनमा अन्तिम दिनसम्म भुटानको भिसा पाउने व्यग्र प्रतीक्षामा देखिन्छन् । अमेरिकाको एक्रोन सहर पुगेको १० औं वर्षमा १० पटक भिसाका लागि आवेदन दिए, तर प्रत्येकपल्ट विष्णुको अनुरोध अस्वीकृत भयो । भुटानको माटोलाई छुने चाह बोकेर अमेरिकामा भौतिक शरीरलाई घिसार्दै बाँचिरहेका विष्णुको मृत्युसँगै 'भूठान'को कथा अगाडि बढ्छ ।
उनको पार्थिव शरीरलाई जलाउने कि गाड्ने ? दुई धार्मिक आस्था बोकेको परिवारबीच निर्माण हुने यही द्वन्द्वबाट फिल्मको कथा अगाडि बढ्छ ।
पास्टरले गाएको गीतमा झैं विष्णुको शरिर माटोमा मिल्न कफिनमा लम्पसार छ, तर कुन माटो ? जिउँदाहरुलाई त्यसको पर्वाह छैन ! के गाड्दा मात्रै विष्णुको शरिर माटोमा मिल्ने हो ? भुटानी माटो छुन नपाएको आँतलाई जलाउँदा त्यसले पार्ने तात्त्विक अन्तर के ? आखिर अमर नरहने जीवनले धर्ती पनि त छाडिसक्यो ।
'नन लिनियर' शैलीमा भनिएको 'भूठान'को कथा कहिले वर्तमानमा आइपुग्छ, त कहिले विगत चिहाउन पुग्छ । फिल्मको यही शैलीले दुई धर्ममा आस्था राख्ने परिवार, हुर्कँदै गरेको नातीनी र बोलिपिच्छे 'भुटान' नाम जपिरहने विष्णुको कथामा दर्शकलाई बाँधेर राख्छ । विष्णुको पहिलो पत्नी हिन्दु धर्मावलम्बी, दोस्रो इसाई धर्मकी विश्वासी !
पहिलो पत्नी आफ्नो जेष्ठ हुनुको अधिकारमा उभिएर पतिको शरीरलाई हिन्दु धर्मअनुसार जलाउन चाहन्छिन् । इसाई धर्म पक्रेकी पत्नी धार्मिक विधिअनुसार जमिनमा गाडेर अन्त्येष्टि गर्न चाहन्छिन् । दुई फरक धर्ममा विश्वास गर्ने परिवारबीच विष्णुको अन्त्येष्टिलाई लिएर हुने कलहबाट सुरु हुने फिल्मले विस्तारै भुटान जान विष्णुले गरेको संघर्ष, पर्खाइ अनि छटपटीको गहिराइ नाप्न थाल्छ ।
फिल्ममा फरक धर्ममा आस्था राख्ने परिवारबीचको बेमेल मात्रै छैन, अस्तित्वकाे लडाइँ छ, फरक संस्कृति र विश्वास छ । जटिल सम्बन्ध छन् । बाजे र नातिनीबीचको मिठो सम्बन्ध पनि छ । नेपाली समाज छ, महिला अधिकार छ । सबैभन्दा बढी विष्णु पात्रले आफ्नो देशको भूमिमा पाइला राख्न गरेको तड्पन छ ।
फिल्मको कथा 'लिनियर' शैलीमा छैन, त्यसैले विष्णुको कफिन खिचिरहेको क्यामेराले झ्वाट्ट विगतमा उसले भिसा अफिसरसँग भिसाका लागि गरेको अनुनय/विनयतर्फ मोड्छ । कथा वाचनको यही शैलीले 'भूठान'लाई ठूलो क्यानभासमा कोरिएको 'एब्स्ट्र्याक्ट' चित्रजस्तो बनाइदिएको छ । जसले बहुपत्रमा जीवन दर्शनदेखि, अस्तित्वका पक्ष केलाउँदै दोसाँधमा बाँचिरहेको जीवनका मिहिन पक्ष खोतल्छ । विष्णुको कथाले कहिले दर्शक हसाउँछ त कहिले आँखामा आँसु छल्काइदिन्छ । अधिकांश दृश्यले गह्रौं अर्थ अभिव्यक्त गरिरहन्छ ।
विम्बको प्रयोगमार्फत कथा भन्ने शैलीमा निर्देशक विनोद पौडेलले आफूलाई फेरि शसक्त साबित गराएका छन् । फिल्मको अधिकांश दृश्यमा एउटा ठिंग उभिएको एक्लो रुख देखा परिरहन्छ । उजाड यो रुख बुढो छ, विष्णु चरित्रझैं । विष्णुभित्रको उदासी, उक्त पात्रको मनस्थिति र परिस्थितीको विम्ब हो, यो रुख । रुखमा कहिल्यै पालुवा पलाउँदैन, हरियालीले यो रुखसँग बिदाइ मागिसक्यो । चिसो बरफको बीचमा उभिएको यो रुख विष्णुको प्रतिरुप हो, चिसो मन लिएर चिसै जीवन बाँचिरहेको पात्र । भुटान जाने मृगतृष्णाले उनलाई यो चिसो मौसममा एक्लै उभिरहने, लडिरहने शक्ति दिएको छ ।
अधिकांश गतिशिल दृश्यमार्फत कतै अल्झिरहेको जीवन देखाइएको छ । जस्तै, गतिशील ट्रेन गन्तव्य पुग्न कुदिहिँड्छ । ट्रेन गुडेको आवाज सधैं विष्णुसँग ठोक्किरहन्छ, अथवा उसको संसारमा यो ध्वनि सधैं गुञ्जिरहन्छ । तर, त्यही ट्रेनले पनि विष्णुलाई भुटानको चोराङ गाउँ पुर्याउँदैन । अविरल बगिरहने नदी छ, जुन शान्त भएर आफ्नै सुरमा गन्तव्य दौडिइरहन्छ । अमेरिकाको काम र दैनिकीबीच विष्णुको जीवन यो पानीझैं शान्त देखे पनि गतिहीन छ, एक्रोनमा अड्किएको छ । विष्णु बगेर गाउँको सिमल रुख छेउ पुग्न सक्दैनन् ।
फिल्ममा एउटा शसक्त दृश्य छ । जहाँ पास्टरले बाइबलमा रहेको अर्को घटनामाथि प्रचार गरिरहेको हुन्छ । एक दिन बाइबलको पात्र निकोदेमसले प्रभु येशूकहाँ आएर, दोस्रो जन्मको विषयमा सोध्छन्, 'मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र ? के त्यो आफ्नी आमाको कोखमा दोस्रोचोटि पसेर जन्मन सक्छ ?' पास्टरको यो प्रवचन पृष्ठभूमिमा मधुर बन्दै जाँदा क्यामेराले विष्णुलाई खिच्छ । फिल्ममा यस्ता थुप्रै बलिया दृश्य छन्, जसले एकै दृश्यबाट थुप्रो कुरा बोल्छ ।
हुन त अमेरिकी नागरिकको रुपमा विष्णुको दोस्रो जन्म भइसक्यो । भिसा अफिसरसामु उसले बारम्बार आफूसहित परिवार नै अमेरिकी नागरिक भइसकेको प्रमाण सुनाइरहन्छन् । तर, के विष्णु मनैदेखि अमेरिकी नागरिकका रुपमा जन्मिसके त ? निकोदेमसले सोधेको यो प्रश्नको जवाफ विष्णुलाई हजुरबुवाले भनेका कुरामै भेटिन्छ, हजुरबुवाले उनलाई भनेका थिए– 'एक ठाउँमा बलियोसँग जरा गाडेर बसेको रुख, अर्को ठाउँमा लगेर सार्नु हुँदैन ।' त्यसैले होला, भुटानसँग जरा गाडेर बसेको विष्णुको जीवन अमेरिका सरेर पनि हराभरा छैन ।
प्रमुख पात्रको भावनात्मक यात्रामा दर्शकलाई हिँडाउन नसक्दा फिल्मका कति विम्ब भने खल्लो छन् । विष्णु किन भुटान फर्किरहन चाहन्छन् ? भुटानसँगको उनको सम्बन्ध केवल संवाद, केही प्रमाणपत्र र फुटबलका बाँकी अवशेषमा देखाइएको छ । तर, बोलिपिच्छे लिइरहने भुटान कस्तो थियो दृश्यमा देखिँदैन । छोडिआएका दौंतरीदेखि चोराङ गाउँ समेटिँदैन । त्यसैले देशका लागि उनले गरेको पर्खाइ, त्यो माटोको तडप अझ महसुस हुन दिँदैन । संवादमा मात्रै उनी भुटानका विषयमा बोल्छन्, अमेरिकाजस्तो सहरमा बसेर विष्णु किन भुटान जाने मरिहत्ते गर्छन् ? उक्त विषयलाई दृश्यमा स्थापित गराइदिएको भए उनीभित्रको भावना र निराशाले उसैगरी दर्शकको ह्रदय छुने थियो ।
अभिनेता हरिवंश आचार्यको अभिनय फिल्मको सशक्त पाटो हो । हरिवंशको अनुहारमा हरबखत गहिरो पीडा झल्किरहन्छ । आँखाले केही पर्खिरहेको छ, उनीभित्रको चरम निराशा ती आँखामा टक्क अडिएका छन् । फिल्ममा उनी बिरलै हाँस्छन् । हास्यकलाकारले यस किसिमको भूमिकामा गरेको अभिनयको रुपान्तरण वास्तवमै सुन्दर छ । 'ओपन इन्डिङ'ले भने फिल्मको कथालाई बलियो उभ्याइदिएको छ । खासमा जुन विषयले दुई परिवारमा झगडाको बिउ रोपिएको थियो, त्यसको छिनोफानो गर्ने जिम्मा निर्देशक पौडेलले दर्शकलाई दिएका छन् ।
फिल्मको सुरुवात नै विष्णुको अन्त्येष्टि कुन धर्मको विधिअनुसार गर्ने ? भन्नेबाट सुरु हुन्छ । फिल्मको अन्त्यमा पनि त्यही तादात्म्य छ ।इसाई धर्म पक्रने परिवार विष्णुलाई कफिनमा राखेर जमिनमा गाड्न चाहन्थ्यो, उता अर्को परिवार हिन्दु मान्यताअनुसार जलाउन चाहन्थ्यो । विष्णुलाई न जलाइएको देखाइन्छ, न गाडिएको ? फिल्मको एउटा दृश्यले यी दुवैको जवाफ दिन्छ । विष्णु जलिरहेको कफिन डोर्याउँदै एउटा अनन्त यात्रामा हिँडिरहेका देखिन्छन् । के त्यो अनन्त यात्रा भुटानतर्फ पुग्दै हो ? एक दिन पास्टरले भनेका हुन्छन्, 'यहुदीहरुले पुनरुत्थान हुने आशासहित मरेकाहरुलाई गाड्ने गर्थे ।' के विष्णु पुनरुत्थानको बाटो भएरतिर हिँडिरहेका हुन् ? जवाफ फिल्म हेरेपछि तपाईंको मनले पक्कै दिन्छ !
