काठमाडौँ — 'हिन्दीभन्दा त नेपाली भर्सन नै मिठो छ !' भारतको चर्चित म्युजिक कम्पनी 'टि–सिरिज'को युट्युबबाट नेपाली गीत 'बार्दली'को हिन्दी रिमेक 'उफ' बजारमा ल्याउँदा अधिकांशले गायक सुशान्त केसीलाई यस्तै प्रतिक्रिया दिइरहेका छन् । सुशान्त 'टि सिरिज'सँगको सहकार्यले गर्दा हिन्दी भर्सन ल्याउनु परेको र नेपाली मन पराउनेहरुका लागि 'बार्दली' यथावत राखिएको धारणा राख्छन् ।
'नेपाली गीत मनपर्नेहरुका लागि नेपाली गीत छँदैछ, त्यो कतै गएको छैन । टि–सिरिजलाई हिन्दी चाहियो त्यसैले हिन्दी भर्सन लेखेँ,' सुशान्तले उक्त सहकार्यबारे भने, 'टि–सिरिजजस्तो युट्युब च्यानलमा नेपाली गायकको गीत आउनु ठूलो कुरा हो नि' ।
सुशान्तका अनुसार 'बार्दली' सुनिसकेपछि नै 'टि सिरिज' समूह हिन्दी भर्सनको प्रस्तावसहित एक महिनाअघि उनीसँग ठोक्किए । थुप्रो दर्शक संख्याबीच पुग्नु सुशान्तको पहिल्यैदेखिको सोच, 'टि–सिरिज' ढुंगा खोज्दा देउता भेटेजस्तै भइदियो ! 'नेपाली गायकका हिसाबले टि–सिरिजसँग सहकार्य गर्न पाउँदा निकै खुशी छु । यस्तो ठूलो युट्युब च्यानलबाट गीत ल्याउँदा निकै हर्षित छौं,' सुशान्तले खुशी हुँदै सुनाए ।
सर्जकका हिसाबले सुशान्तले 'बार्दली'माथि निकै विश्वास गरेका थिए । अहिलेसम्म लेखेका गीतमा छोटो अवधिमा तयार पारेको गीत हो यो । तिहारअघि स्टुडियोमा बसिरहँदा चेल्लोको एउटा धुन निस्कँदा, 'बार्दली'का शब्दहरु फुरेका थिए । निर्देशक नयन राई पनि स्टुडियोमै थिए । शब्दहरु गुनगुनाउँदै जाँदा सुशान्तलाई लाग्यो, -'यो त तिहारअघि नै निकाल्नुपर्छ' ।
त्यही अनुरुप एक हप्तामै अडियो र भिडियो तयार पारेर 'बार्दली' सार्वजनिक गरे । त्यतिबेला यो गीतले यस किसिमको चर्चा पाउला भन्ने सोचेका थिएनन् । तर, गीतको हिन्दी रिमेक बनाइरहँदा गीतभित्रको रमाइलो शैलीले सबै दर्शकको मन तानेको हो भन्ने लाग्छ, सुशान्तलाई । 'मलाई लाग्छ, जस्तो गीत भए पनि दर्शकले त्यसमा मनोरञ्जन पाउनुपर्छ । सायद यो गीतको अडियो र भिडियो उत्तिकै रमाइलो भएको हुनाले पनि दर्शक यो गीतमा रमाइदिए, परिवारसँग बसेर सुनिदिए,' सुशान्तले भने ।
उनका अनुसार 'टि–सिरिज'सँग जोडिन पाइसकेपछि 'उफ'को अडियोदेखि भिडियोमा मेहनत गर्न लामो समय लाग्यो । सुशान्तले कोविद बज्रसँग मिलेर अडियो तयार पारे । गीतको संरचना, बाजाहरु तयार पारेर नेपाली बाजा मिसाउन कोविदलाई जिम्मा दिए ।
'बार्दली'मा पनि कोविदसँगै सहकार्य गरिएको थियो । अडियो तयार पारेर भारतीय समूहलाई पठाइदिए । पहिलो अडियो नै मनपराइदिए, परिवर्तन गर्नुपर्ने कुनै सुझाव आएन । हिन्दी भर्सनको सबै सिर्जनात्मक पक्ष सम्हाल्न 'टि–सिरिज'ले सुशान्तलाई जिम्मा दिएको थियो । त्यसैले अडियो/भिडियोको जिम्मा नेपालले लियो ।
हिन्दी भर्सन बनाउने भन्दैमा गीतका शब्दलाई शाब्दिक रुपमा अनुवाद गर्न सुशान्तभित्रको सिर्जनात्मक पक्षले दिएन । त्यसैले २/३ दिन लगाएर हिन्दी शब्दहरु लेखे । गीतको धुन अनुसार त्यसमा हिन्दी शब्द मिलाइदिए, जस्तै; कैसे हुवा ये असर, तेरी कस्ती मे । डूबा हुँ सबको भूलके । जबसे मिला हुँ तुम्से, दिलके जबरजस्ती है । रखलूँ मे तुम्को ढुंडके…
जबकी गीतको यो पहिलो धुनमा सुशान्तले 'कहिले आउँछौं माया तिम्रो घरको बार्दलीमा । कुर्दैछु हेर्न तिमीलाई । हल्ला भो सारा यो सहर, गल्ली गल्लीमा । जिस्काउँछन् साह्रै नि मलाई' भन्ने नेपाली शब्द 'बार्दली'मा लेखेका थिए ।
'उफ'मा कोरिएका हिन्दी शब्दहरु नेपालीझैं उतिकै मिठा र लयात्मक छन् । 'उसको एक झलक, मुस्कानै अलग, मार्यो नि मायाले'जस्ता कोरसको हिन्दी भर्सन झनै मिठो सुनिन्छ -'उसकी एक झलक, मचती है धडक । उफ ? उनकी क्या बात करें ?'
'उफ'मा नेपाली मर्म जोगियोस् भन्ने सोचसहित गायिका इन्द्रकला राईले गाएको भागलाई पुरानै भर्सनमा राखिएको छ । 'उफ'को सुन्दर पक्ष नै यसमा मिसाइएको नेपालीपन हो । नेपाली बाजादेखि नेपाली भाषाले 'उफ'लाई 'बार्दली'जतिकै सुन्दर बनाइदिएको छ । नेपाली मर्मका लागि 'बार्दली'को महिला स्वर दुरुस्तै तानिएको छ;
लैजाउ है लैजाउ मलाई
अहिले नै जवानीमा
कहाँ -कहाँ डुलाउँछौं मन
'टि–सिरिजबाट नेपाली शब्द, नेपाली स्वर सुनाउन पायौं । खुशी छु,' सुशान्तले भने । सुशान्तले यसअघि 'क्या करदिया' बोलको हिन्दी भाषाको गीत गाएका थिए । अत्याधिक दर्शकमा पुगौं भन्ने सोचले नै आफूले नयाँ भाषाहरुमा गाउने कोसिस गरेको सुशान्त सुनाउँछन् ।
'चाइनिज आएको भए, चाइनिजमै गाइदिन्थें । नेपालमा हिन्दी भाषा सबैले बुझ्छन्, किन नगाउने भन्ने सोचले हिन्दी भाषामा गीत ल्याएको थिएँ,' उनले भने । युट्युबमा सार्वजनिक गरेको ८ घन्टामै करिब ८ लाख पटक हेरिएको गीतले पनि सुशान्तभित्रको यो हुटहुटी व्यक्त गरिदिन्छ ।
दुई रातमै खिचियो भिडियो
'उफ'को भिडियो 'स्टेलर्स स्टुडियो'ले निर्माण गरेको हो । खासमा सुशान्तको अफिस नजिकै छ, 'स्टेलर्स स्टुडियो' । यसअघि स्टेलर्सले 'बार्दली'को भिडियो पनि बनाएको थियो ।
यो पटक पनि सुशान्तले भिडियोको जिम्मा उनीहरुलाई दिए । भिडियोका निर्देशक नयन राईका अनुसार भिडियो खिच्न करिब २ सय नेपाली जनशक्ति प्रयोग गरिएको छ । यसअघि एन्जोन लिम्बूले 'बार्दली'को भिडियो निर्देशन गरेका थिए, हिन्दी भर्सनको जिम्मा नयनले पाए । निर्देशनसँगै यो गीतको खिचाइमा पनि नयन नै थिए ।
अहिले नयनलाई नेपालबाट भन्दा पनि भारतीय दर्शकबाट गीतको अत्यधिक प्रतिक्रियाहरु आइरहेका छन् । यस किसिमको अन्तर्राष्ट्रिय कम्पनीसँग काम गर्न पाउनु स्टेलर्सका लागि पनि ठूलो चुनौतिको विषय थियो । त्यसैले भिडियोलाई उच्चस्तरको बनाउने सोचसहित प्रोडक्सन ठूलो खर्च गरिएको नयन सुनाउँछन् । टि–सिरिजले नयनको समूहलाई 'नेपाललाई जति सुन्दर देखाउन सकिन्छ देखाउनु' भन्ने निर्देशन दिएका थिए । गीतमा नेपालीपन झल्किनुपर्ने सुझाव पनि दिएको थियो । त्यसैले नयनको समूहले भिडियोमा तिहारको माहोल देखाउने प्रयास गरे । भक्तपुरको भादगाउँ रिसोर्टमा दुई दिन लगाएर गीतको भिडियो तयार पारे । तिहारको रमझम देखाउन उनीहरुले दुई रात गीतको भिडियो खिचे । दिनमा कलाकारले तयारी गर्थे, रातमा सुटिङ हुन्थ्यो ।
'बजेट ठूलो थियो । त्यसैले प्रोडक्सनमा कुनै कमी राखेनौं । घाम ढल्किएपछि हामी सुटिङ थाल्थ्यौं, अनि बिहान घाम उदाउनुअघि सकिन्थ्यो । खासमा दुई दिन र दुई रात लगाएर हामीले भिडियो खिचेका हौं,' नयनले भने, 'खासमा यो गीत हामी सबैका लागि ठूलो मौका थियो । त्यसैले राम्रो बनाउन कुनै ठाउँ छोडेनौं ।' सुशान्त नयनको कुरामा थप्छन्, 'उच्चस्तरको भिडियो निर्माण गरौं भनेर हामीले तयारी धेरै गर्यौं । डान्स सिक्न गयौं ।'
नयनका अनुसार गीतको भिडियो निर्माणमा ५० जना प्रोडक्सन क्रु थिए, डान्सिङ समूह ५० जना थिए । समग्रमा २ सय समूह भिडियो निर्माणमा जोडिएको थियो ।
'बार्दली'मा थुप्रै स्टारको अभिनय थियो । तर, 'उफ'मा स्वस्तिमा खड्का मात्रै दोहोरिएकी छिन् । किन ? खासमा 'उफ' टिमलाई नेपालको सर्वाधिक चर्चित अभिनेत्री भिडियोमा देखाउनु थियो । अग्रपंक्तिमा स्वस्तिमाकै नाम आइपुग्यो, 'टि–सिरिज'ले उनैलाई छान्यो । त्यसपछि भिडियोमा सुशान्तसँगै अभिनेत्री स्वस्तिमाले अभिनय गरे ।
नयनलाई लाग्छ, सुशान्तको मेलोडी दर्शक झुमाउने किसिमको भएकाले यसको चर्चा देशदेखि छिमेक राष्ट्र भारतसम्म पुगेको हो । 'आफ्नो अनुभव र म्युजिक करिअरको अनुभूति मिसाएर जसरी सुशान्तले नेपाली फिल्म क्षेत्रलाई बार्दलीको मेलोडी दियो, त्यो नै नेपालदेखि अन्य विदेशी दर्शकलाई मनपरेको होला,' नयनले भने, 'भिडियोमा पनि जीवनलाई उत्सवको रुपमा हाँसेर बाँच्ने नेपाली, त्यसै किसिमको संस्कृति र भाइभ्स देखाउन खोजेका छौं ।'
