काठमाडौँ — यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख १९ गते रिलिज हुने फिल्मको ट्रेलरमा डिजिटल दुनियाँले बालबालिकामा पारेको असर देखाइएको छ ।
विद्यालयमा पढिरहेकी बालिकाको डिजिटल उपकरणप्रतिको लतले स्वास्थ्यमा गम्भीर असर पारेको दृश्य ट्रेलरमा छ । ट्रेलरमा देखाइएको कथावस्तु स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक - सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ ।
फिल्मकी प्रमुख कलाकार आयुषी ढकालसँगै सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्मका निर्देशक भट्टराईका अनुसार, ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने संकटबारे दर्शकलाई सचेत गराउने प्रयास हो । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक, र नीति निर्माताबीच समन्वयको आवश्यकता दर्साउन यो कथा चुनेको बताएका छन् ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । चलचित्र जनता टीभीको सहकार्यमा निर्माण गरिएको हो ।
