काठमाडौँ — यो पटक पलेँटीमा गायिका संगीता राना प्रधानले प्रस्तुति दिने भएकी छन् । यसअघि सन् २००७ मा पहिलो पटक पलेँटीमा प्रस्तुत भएकी संगीताले आगामी वैशाख १२ र १३ मा शास्त्रीय गायनमा प्रस्तुति दिनेछिन् ।
उनी अहिले पलेँटीको कलाकारसहित खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा व्यस्त छिन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने तयारी छ ।
१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीताले प्रस्तुतिका लागि उत्साहित रहेको बताइन् । 'पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छु, म उत्साहित छु । पलेँटीका श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ । खासगरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म 'नोस्टाल्जिक' बन्ने गर्छु,'उनले भनिन् ।
२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । 'यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी- क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु,' उनले भने ।
विश्वभारती विश्वविद्यालय शान्तिनिकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी संगीताले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन् । पलेँटीमा संगीताले गीतकार कालीप्रसाद रिजाल, रत्नशमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गायनमार्फत प्रस्तुत गर्नेछिन् ।
पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुँदै आएको छ ।
