काठमाडौँ — आफ्नो अभिव्यक्तिलाई लिएर यतिबेला बलिउड निर्देशक अनुराग कश्यप आलोचित भइरहेका छन् ।
अहिले अनुरागले परिवार र साथीलाई विभिन्न किसिमका धम्की आइरहेको पनि बताएका छन् । साथै उनले आफ्नो अभिव्यक्तिलाई लिएर माफी पनि मागेका छन् । हुन त उनी अहिले मात्र विवादमा फसेका होइनन् ।
यसअघि पनि उनी पटकपटक अभिव्यक्तिकै कारण विवादित बनेका थिए । कारण, उनी मौन रहनै सक्दैनन् । पछिल्लो समय नेटफ्लिक्सको सिरिज ‘एडोलसेन्स’लाई लिएर उनले ओटीटी प्लेटफर्ममाथि असन्तुष्टि व्यक्त गरेका थिए । उनी अक्सर सेन्सर बोर्डलाई पनि गाली गरिरहन्छन् । जसकारण फिल्म ‘उड्ता पञ्जाब’ (२०१६) र सेन्सर बोर्डबीच पनि द्वन्द्व भएको थियो ।
अनुरागको विवादसँग पुरानै सम्बन्ध छ । चाहे उनको निडर अभिव्यक्ति हुन् वा सामाजिक सञ्जालमा गरिएका पोस्टहरू । पारिपारिक सम्बन्धमा हुन् वा फिल्म कम्पनीमा साझेदारीसँगको झगडा ।
के हो ताजा विवाद ?
खासमा यो विवाद ‘फुले’ फिल्मको रिलिजलाई लिएर सुरु भएको थियो । केही मिडिया रिपोर्टमा ‘फुले’ फिल्ममा सेन्सर बोर्डले ‘कैंची’ चलाएका समाचार प्रकाशित भएपछि कश्यपले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । ‘धड़क-२ को स्क्रिनिङमा सेन्सर बोर्डले भनेको थियो, मोदीजीले भारतमा जातीय व्यवस्था अन्त्य गरिदिनुभएको छ ।
त्यसै आधारमा ‘सन्तोष’ पनि भारतमा रिलिज हुन सकेन। उनले थपे, ‘अब ब्राह्मणलाई ‘फुले’ बाट समस्या भएको छ । भाइ, जब जातीय व्यवस्था नै छैन त के का ब्राह्मण ? जब जातीय व्यवस्था थिएन त ज्योतिबा फुले र सावित्री बाई किन छन् ?’
उनको यस पोस्टमा प्रयोगकर्ताले आपत्तिजनक टिप्पणी गरे, जसमा अनुरागले जवाफ फर्काए । यही जवाफमाथि विवाद उत्पन्न भएको हो । यद्यपि, पछि उनले यस मामिलामा माफी पनि मागे ।
अनुरागको मीटू विवाद
मी टू आन्दोलनको समय एक महिलाले फिल्ममेकर विकास बहललाई यौन उत्पीडनको आरोप लगाएकी थिइन् । ती महिला फाइटम फिल्म प्रोडक्सनमा काम गर्थिन् । फाइटमका संस्थापन अनुराग, विक्रमादित्य मोटवानी, मधु मन्तेना र विकास बहल थिए ।
महिलाले आफूले भोगेको यौन उत्पीडनबारे अनुरागलाई भनेको बताएकी थिइन् । तर कश्यपबाट कुनै प्रतिक्रिया नआएको उनको गुनासो थियो । ती महिलाको गुनासोको पुष्टि गर्दै अनुरागले हफिंगन पोस्टको रिपोर्टमा भनेका थिए, ‘जे भयो, त्यो गलत थियो ।’ त्यसपछि अनुरागले फाइटम प्रोडक्सन हाउसको बन्द गर्ने घोषणा गरेका थिए ।
सन् २०२० मा अभिनेत्री पायल घोषले अनुरागमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । उनले अनुरागको ट्वीटरमा ट्याग गर्दै अनुरागले आफूमाथि जबर्जस्ती गरेको लेखेकी थिइन् । पायल घोषले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोगको अपिल गरेकी थिइन् ।
उनले अनुरागलाई कारबाही गर्न माग गरेकी थिइन् । पायल घोषको आरोपको समर्थन गर्दै अभिनेत्री कंगना रनौतले अनुरागको गिरफ्तारी माग गरेकी थिइन् ।यो आरोप झुटो रहेको बताउँदै अनुरागले आफूले अहिलेसम्म कुनै महिलासँग यस्तो व्यवहार नगरेको बताएका थिए ।
नेपोटिजम्माथि टिप्पणी
अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि सामाजिक सञ्जालमा फिल्म क्षेत्रमा नेपोटिजम् (नातावाद) लाई लिएर बलिउडमा निकै बहस चलेको थियो । अनुरागले यस बहसमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘यो चर्चा केवल अभिनेतामा मात्र किन सीमित हुन्छ ? जबकि फिल्म बनाउन सयभन्दा ज्यादा मानिस आफ्नो रगत पसिना बगाउँछन् ।’ यो विषयमा उनीसहित धेरै फिल्मकर्मीले टिप्पणी गरेका थिए ।
कंगना र रणवीरसँगको विवाद
नेपोटिजम्सम्बन्धी बहस चलिरहेकै बेला कंगना रनौत र अनुरागले एक-अर्कामाथि धेरै टिप्पणी गरेका थिए । त्यसबेला अनुरागले कंगना पहिले आफ्नो धेरै राम्रो साथी भएको बताएका थिए ।
‘तर अहिले देखिँदै आएकी नयाँ कंगनालाई म चिन्दिनँ,’ उनले भनेका थिए । उनले यो कंगनालाई आफूले माफ गर्न नसक्नेसमेत बताएका थिए । उनीहरूबीचको बहसमा अभिनेता रणवीर शौरी पनि सामेल भए ।
अनुराग कश्यप उनीमाथि खनिए र उनलाई स्पष्ट बोल्न सुझाव दिए । रणवीर शौरीले धेरै स्वतन्त्र र 'फिल्म योद्धा'हरू अहिले मूख्यधारको बलिउडका चाटुकार बनिसकेको भन्दै टिप्पणी गरेका थिए । ‘उनीहरू नै पहिले चौबीसै घण्टा, सातै दिन सिस्टमको विरोधमा बोलिरहन्थे । त्यतिबेलासम्म बोलिरहे जबसम्म उनीहरूलाई मूलधारको बलिउडका बहुमूल्य ढोका खुल्दैनथ्यो,’ उनले भनेका थिए ।
रणवीर शौरीको उक्त ट्वीटपछि दुवै जनाबीच ट्वीट आदानप्रदान भयो र एक-अर्कामाथि कटाक्षपूर्ण टिप्पणीहरू भए ।
‘उड्ता पञ्जाब’लाई लिएर सेन्सरसँग सिंगौरी
अनुराग कश्यपको फिल्म ‘उडता पञ्जाब’ रिलिज हुनुअघि सेन्सर बोर्डले थुप्रै आपत्ति जनाउँदै धेरै दृश्य हटाउन निर्देशन दिएको थियो । अनुरागले ती निर्देशनलाई अनावश्यक भनेका थिए ।
उनको भनाइमा तत्कालीन सेन्सर बोर्ड अध्यक्ष पहलाज निहलानीले नियमकानुनलाई बेवास्ता गर्दै बोर्ड चलाइरहेका थिए । अनुराग कश्यपले निहलानीले आफ्नो नैतिकता सम्पूर्ण विश्वको सिनेमामाथि थोप्न खोजिरहेका भन्दै आक्रोश पोखेका थिए ।
त्यहीबेला पहलाज निहलानीले भने फिल्म ‘उडता पञ्जाब’मा गरिएको निर्णयमा कुनै राजनीतिक दबाब नभएको दाबी गरेका थिए । साथै, निहलानीले अनुराग कश्यपलाई ‘तानाशाह’ (डिक्टेटर) भनेर टिप्पणी गरेका थिए ।
पछि यो मुद्दा बम्बे उच्च अदालतमा पुग्यो र अदालतले फिल्मलाई एक कटसहित रिलिज गर्न अनुमति दियो । उक्त विवादको क्रममा उच्च अदालतले स्पष्ट पारेको थियो कि सेन्सर बोर्ड फिल्म रोक्ने वा काट्ने संस्था होइन । केवल प्रमाणपत्र प्रदान गर्ने निकाय हो ।
(यो सामग्री बीबीसी न्युज हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो ।)
