'हाम्रो लागि त मोबाइल अति प्यारो कुरा हो तर यसको नशामा फसियो भने हालत कस्तो हुन्छ ? फिल्म 'झिल्को'को कथा तपाईं हाम्रै हो'
काठमाडौँ — खाना खाँदा मोबाइल, सुत्नुअघि ओछ्यानमा पनि मोबाइल । स्कुलबाट घर आउनेबित्तिकै मोबाइल, बिहानै आँखा खुल्दा मोबाइल । हुँदाहुँदा ट्वाइलेटमा मोबाइल । मोबाइलबिना आफ्नो दैनिकी नै चलाउन नसक्नेहरुको कथालाई समेट्दै 'झोला' निर्देशक यादव भट्टराईले नयाँ फिल्म 'झिल्को: द स्पार्क' बनाएका छन् । वैशाख १९ देखि प्रदर्शनमा आउने यो फिल्ममा निर्देशक भट्टराईले भर्चुअल संसारले मानव संसार कसरी बिथोल्दै छ भन्ने देखाउन मध्यम वर्गीय परिवारको कथा उठाएका छन् ।
झिल्कोमा जिम्मेवार अभिभावक छन्, अनि निर्दोष सन्तान । अभिभावकको लापरबाहीले बालबालिका कसरी भर्चुअल संसारतर्फ धकेलिँदै जान्छन् ? त्यसले निम्त्याउने परिस्थिति वरपर फिल्मको कथा घुमेको छ । 'हाम्रो जीवनमा अचानक मोबाइल आयो नि त । यसको खास उपयोगिता के हो भन्ने नबुझी उपभोग गरिरह्यौं । आफू पनि फस्यौं, हाम्रा बालबच्चालाई पनि फसाइरह्यौं,' भट्टराईले सुनाए, 'जसरी ड्रक्स प्रयोग समाज, परिवारका लागि खतरनाक हुन्छ, त्यसै किसिमको समस्या डिजिटल एडिक्सनमा भयो । जाँडरक्सी, चुरोटलाई लागुपदार्थ हो भनेर स्वीकारियो । तर, मोबाइलले त्यसरी नै असर पार्छ भन्ने बुझाइ हाम्रोमा भएन । मोबाइल खासमा सर्वस्वीकार्य ड्रक्स भयो ।'
अनुसन्धान समूह नै बनाएर भट्टराईले बालबालिका र मोबाइलमाथि अध्ययन गरे- कसरी बालबालिका सामाजिक अन्तरक्रिया छाडेर भर्चुअल संसारमा रमाइरहेका छन् ? सामाजिक अन्तरक्रियामा सहभागी हुँदै समाजमा बस्नुपर्ने मानिसलाई मोबाइलले कसरी एक्लो बनाउँदै छ भन्ने सोचेरै भट्टराईको समूहले यो विषयमाथि अध्ययन गरेको हो । 'मोबाइलभन्दा बाहिर संसार छैन । योभन्दा बाहिर जानुपर्दा मान्छेलाई आतंकित र भयभीत बनाउन थाल्यो । त्यसले त समस्या ल्याउने भयो । त्यही कुरालाई मध्यनजर गरेर फिल्म बनायौं,' उनले भने ।
भट्टराईका अनुसार मोबाइलले शारीरिक, मानसिक, भावनात्मक र मनोवैज्ञानिकजस्ता चारै पक्षमा असर पार्ने भएकाले यसको प्रयोगमा सचेत गराउन पनि फिल्म बनाइएको बताउँछन् । 'हाम्रो लागि त मोबाइल अति प्यारो कुरा हो । तर, यसको नशामा फसियो भने हालत कस्तो हुन्छ ? झिल्कोको कथा तपाईं हाम्रै हो,' भट्टराईले भने ।
मोबाइल समस्या मात्रै हो त ? पक्कै होइन । यसको प्रयोगमा गरिएको लापरबाही मात्र समस्या हो । यसको प्रयोगमा विवेक पुर्याउन सकिए, जीवनलाई अझ सहज बनाइदिन्छ । तर, विवेक पुर्याइएन भने जीवनमा असर पार्ने भयो । यही कारणले पनि निर्देशकले फिल्मको नाम 'झिल्को' राखे । निर्देशक भट्टराईका अनुसार इन्टरनेट आगोको झिल्को हो । सही तरिकाले प्रयोग गर्दा यसले काम सहज बनाइदिन्छ । तर, यसको नशामा फस्दै गयो भने जीवन गन्जागोल बन्छ । निर्देशक भट्टराईले इन्टरनेटको यही पक्षमाथि फिल्म बनाउने कुरा ३ वर्षअगाडि सोचेका थिए ।
'आगोको झिल्कोलाई मानिसले पनि सहीसँग प्रयोग गर्न सक्छ । अरु सबै प्राणीका लागि त्यो खतरनाक हो । तर, नियन्त्रित तरिकाले, विवेक पुर्याएर चलाउँदा त्यो हाम्रो लागि उपयोगी भयो । हामीले ध्यान पुर्याएन भने त्यसले हामीलाई असर गर्छ,' भट्टराईले भने । भट्टराईले सुरुमा यो विषयमाथि लघु फिल्म बनाउने सोचेका थिए । तर, 'डिजिटल एडिक्सन'को गहिराइ बुझ्दै गएपछि फिल्म नै बनाउने निर्णयमा पुगे ।
'अहिले डिजिटल एडिक्सनले अपराध बढिसक्यो । तर, यो समस्या हो भन्ने कुरा राज्यले बुझ्न सकेको छैन । कुनै सम्बन्धित निकायबाट पनि आएको छैन । यसको दुरुपयोग खतरनाक हुन सक्छ,' भट्टराईले भने, 'यो समस्या हो भनेर स्वीकार्नु त पर्यो नि ।'
'झिल्को'को कथालाई निर्देशक भट्टराईले आफ्नै निकट मित्रको जीवनबाट टिपेका हुन् । ती मित्रका सन्तानले तीन शब्द मात्रै राम्रोसँग उच्चारण गर्ने, तर खासै कोहीसँग नबोल्ने भएपछि उक्त समस्यासँग भट्टराई नजिकिँदै गए । बच्चाका अभिभावक दुवै काममा व्यस्त, जेठी छोरी पनि विद्यालयतिरै । सन्तानको बोली सुन्नै छाडेपछि आत्तिँदै ती दम्पति अस्पताल पुगे । अस्पताल पुगेपछि थाहा भयो, बच्चालाई त 'भर्चुअल अटिजम' भएछ ।
त्यसैले उक्त बच्चा मोबाइलमा सुनेका गाना गाउँथे, नाच्ने पनि गर्थे । तर, कोही बोल्न खोज्दा त्यसको जवाफ पनि दिन सक्दैन थिए । बच्चाको यस्तो हालत भएपछि आमाले काम नै छाडेर सन्तानको रेखदेख गर्नुपर्यो । '३ वर्षमा त्यो बच्चामा सुधार आयो तर ऊ फेरि अर्कै संसारमा पुग्यो । धेरै बोल्ने भयो । खासमा अभिभावकले आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दा बच्चालाई मोबाइल थमाइदिए । तर बालबालिका डिजिटल अटिजमतर्फ जाँदै छन् । त्यो कुरालाई उनीहरुका परिवारले बुझ्नुपर्छ भनेर झिल्को बनाएँ,' भट्टराईले भने,'खासमा मोबाइल नहुँदा यसले हाम्रो जीवनमा के तात्विक असर गरेको छ र ! जीवन त मोबाइल नहुँदै पनि चलेको थियो नि, होइन ? हामीले जसरी प्रयोग गर्नुपर्ने हो त्यसरी प्रयोग नगर्दा त हामीलाई यसले पो नियन्त्रण गर्दै आइरहेको छ ।'
'झोला'बाट ख्याति कमाएका निर्देशक भट्टराई खासमा हिरो बन्न फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । विद्यालयमा हुँदा गरेको नाटक 'जिन्दगी'ले प्रशंसा बटुलेपछि हिरो बन्ने चस्का पस्यो । विसं २०४७ मा झापाबाट काठमाडौंमा आइपुग्दा 'मनमन्दिर' भन्ने भिडियो फिल्ममा सहायक निर्देशक भएर काम गरे । हिरो बन्न पाइन्छ भन्ने हेतुले सहायक निर्देशनतिर मोडिए । फिल्म चल्यो, त्यसमा अभिनय पनि गरेका थिए । तर, फिल्ममा भविष्य नदेखेपछि पत्रकारितातिर लागे । ६ वर्ष पत्रकारिता गरिरहँदा फिल्मको सपनाले छाडेन ।
त्यसपछि दीपक आलोकसँग 'परदेशी' मा काम गरे । 'फैसला', 'सिलसिला' मा काम गरे । 'सिलसिला'मा रेखा थापाको बुबा बने । त्यसैबीचमा कृष्ण धारावासीद्वारा लिखित 'झोला' पढे । पढ्नेबित्तिकै त्यो कथामा फिल्म बनाउनुपर्छ भन्ने सपना देखे । ७ वर्ष कथालाई बोकेर हिँड्दा कतिले फिल्ममा गीत राख्ने सल्लाह दिए । कतिले एक्सनका दृश्य राख्न भने । तर, यादवलाई भरोसा थियो, बिनागीत र एक्सनबिनै फिल्म चल्छ भन्ने । 'त्यो कथालाई जीवन्त रुपमा प्रस्तुत गर्न सक्छु भन्ने आत्मविश्वास थियो,' भट्टराईले भने । झोला चलेपछि यादवले 'भोर' बनाए ।
हिरो बन्ने सपना बोकेर फिल्म क्षेत्रमा आउँदा त्यतिबेलाको सौन्दर्य चेत अर्कै थियो । हिरो बन्न ज्यान राम्रो हुनुपर्ने, तर उनी दुब्लो । 'झोला' गरिसकेपछि यादवलाई आफू अभिनयभन्दा पनि निर्देशकका लागि योग्य रहेको पत्ता पाए । 'निर्देशकले त पर्दापछाडि फिल्ममा भएजति कलाकारको अभिनय गर्न पाउँछ । पर्दाअगाडि नै किन गर्नुपर्यो । त्यसैले त्यतिबेला मलाई लाग्यो, मैले अब फिल्म निर्देशन गर्नुपर्छ,' भट्टराईले सुनाए ।
पत्रकारिताको अभ्यासले नै भट्टराईलाई सामाजिक विषयवस्तुमा फिल्म बनाउन लगाएको हो । अहिले उनी निर्देशनमै रमाइरहेका छन् ।
