सिड्नी ओपेरा हाउसमा ‘कल्चर इन सिन्क’ लिएर आउँदै हरि महर्जन

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Hari Maharjan brings 'Culture in Sync' to the Sydney Opera House

काठमाडौँ — विश्व संगीतको फ्युजनको ऐतिहासिक उत्सवस्वरूप हरि महर्जन सिड्नी ओपेरा हाउसको मञ्चमा ‘कल्चर इन सिन्क’ लिएर आउँदै छन्। संगम प्रोडक्सनको प्रस्तुतिमा हुने यस कन्सर्टले काठमाडौं उपत्यकाको जीवन्त नेवा संगीत र समसामयिक ज्याज संगीतको सिर्जनात्मक फ्युजन प्रस्तुत गर्दैछ।

विश्वकै प्रतिष्ठित सांगीतिक स्थलमध्ये एक मानिने ओपेरा हाउसमा आउँदो असार ४ (जुन १९) मा साँझ ८ बजे आयोजना हुने यस कार्यक्रममा विश्वको प्रतिष्ठित मञ्चहरूमध्ये एकमा पूर्वीय संस्कृति र पश्चिमी ज्याजको अद्वितीय संयोजन प्रस्तुत गरिने छ।

यस वर्षको सुरुवातमा काठमाडौंमा पहिलोपटक प्रस्तुत गरिएको कल्चर इन सिन्क अब विश्वकै प्रतिष्ठित मञ्चमध्ये एकमा पस्कन लागिएको हो। परम्परागत धिमे र ख्ये ढोल, आधुनिक ज्याज गिटार, रंगीन पुलुकीशी नाच, र नेवार पहिरनहरू यो सांगीतिक यात्राको केन्द्रमा रहनेछन्।

'नेवार सांस्कृतिक धरोहरलाई ओपेरा हाउसको मञ्चमा पुर्‍याउनु मेरो सपना साकार हुनु हो,' कार्यक्रमका प्रमुख कलाकार हरि महर्जनले भने ।

यस्तै म्युजिक डिरेक्टर र महर्जनका पूर्व विद्यार्थी निर्वाण विष्टले भने, 'कल्चर इन सिन्कले विभिन्न महादेशमा छरिएर रहेका संगीतप्रेमी व्यक्ति, समुदाय र यात्रीहरूलाई एकत्रित गर्न सक्छ ।'

संगम प्रोडक्सनद्वारा प्रस्तुत हुने यस ‘कल्चर इन सिन्क’ ज्याज प्रेमीहरू मात्र नभई विश्व संगीत र सांस्कृतिक खोजमा रुचि राख्नेहरूका लागि पनि आकर्षक बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको लागि टिकट बिक्री अप्रिल १८ देखि सिड्नी ओपेरा हाउसको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

उनी सिड्नी ओपेरा हाउसमा भएका कार्यक्रमहरुमा मुख्य भूमिकामा प्रस्तुति दिने पहिलो नेपाली हुन् ।

कान्तिपुर

Link copied successfully