अपत्यारिलो 'कर्मा' संसार

वैशाख ४, २०८२

रीना मोक्तान

The eternal 'karma' world

काठमाडौँ — फिल्ममा एउटा जादूमयी तत्त्व हुन्छ । दृश्यमा देखाइएका हरेक चरित्र, घट्ना र परिवेशलाई विश्वास नगरी बस्नै सकिन्न ! पर्दाभित्रको संसार यति विश्वासिलो देखाइन्छ कि त्यसभित्रका दुनियाँमा तपाईं घुलिसक्नु हुन्छ । पात्रहरूका संसार सत्य लाग्न थाल्छन्, उनीहरुको दु:खले ह्रदय दुखाउन थाल्छ ।

उनीहरूका संघर्षमा आफूलाई भेट्न थाल्छौं । कथा वाचनको शिल्पले नै फिल्मभित्रको संसारलाई यसरी स्थापित गरिदिन्छ कि झट्ट हेर्दा झूठो लागे पनि त्यसभित्रका पात्र र घट्नाहरूलाई कतिबेला साँचो ठानिसक्छौं, पत्तो हुँदैन । तर, गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'कर्मा', पर्दाभित्रको त्यही संसारलाई विश्वासिलो प्रस्तुत गर्न चुकेको छ। 

हुन त यसअघि 'अगत्स्य' बनाउँदै निर्देशनमा डेब्यू गरेका सौरभ चौधरीको निर्देशन 'कर्मा'मा परिपक्व छ । फिल्ममार्फत जे देखाउने खोजेका छन्, त्यसमा स्पष्ट देखिन्छन् उनी । एउटा साधरण मानिसलाई भ्रष्ट संरचनाले कसरी दु:ख दिइरहन्छ भन्ने कथालाई एक्सन विधामार्फत देखाएका छन् । फिल्मको कथा सलल बगाउन खोजिएको छ।

सम्पादनमा प्रयोग 'जम्प कट'ले केही हदसम्म दर्शकलाई फिल्ममा बाँध्ने प्रयास भएको छ । फिल्ममा अनावश्यक लाग्ने दृश्यलाई उति तन्काइएको छैन । एक्सनका सवालमा धिमा गतिका दृश्यलाई सौरभले आफ्नो ‘सिग्नेचर’ नै बनाउन थालेका छन् । तर, सबै दृश्यमा उही सिग्नेचर पछ्याइरहँदा केही त पट्यारलाग्दो पनि देखिन्छ ।

आँखा बिझाउने भिएफएक्स, कथा भन्ने शिल्पमा गरिएको हेलचेक्र्याईले 'कर्मा', एक्सन विधाका फिल्महरूमा नयाँ प्रयोग मात्रै बनेको छ । ध्वनि, खिचाइ, सम्पादन प्राविधिक पाटोले ‘कर्मा’को कथालाई बलियो उभ्याउने प्रयास भएको छ, तर कथा वाचनमै निर्देशक चुक्दा फिल्म उम्दा बन्न सकेन।

आखिर फिल्म प्राविधिक मात्रै पनि त होइन, यसमा त कथा हुन्छ, पात्रहरूका भावना हुन्छन् । ती भावनाले दर्शकलाई पात्रसँग जोडिदिन्छ । अधिकांश कथालाई हतारमा स्थापित गर्न खोज्दा पात्रहरूको त्यो भावना दर्शकसम्मुख संचार हुनै पाउँदैन । त्यसैले फिल्मको कथाले जति दर्शकलाई छुन सक्थ्यो, त्यो यात्रामा लैजान नसक्नु ‘कर्मा’को प्रमुख कमजोरी हो।

फिल्मको कथा हो, कर्मा (विपिन कार्की)को । कर्मालाई बुवा झैं देशको सेवा गर्नुछ । हवलदार बुवा कर्मालाई इन्स्पेक्टर बनाउन चाहन्थे । बुवाको त्यही लक्ष्यलाई सिरोपर गर्दै कर्माले इन्स्पेक्टर बन्ने यात्रा थाल्छ । तर, त्यसै क्रममा भष्ट प्रहरी विजय(दिव्य देव)ले गर्दा कर्माको सपना चकनाचुर हुन्छ ।

त्यसैले आफ्नो अपूरो सपना र आफ्नै न्यायका लागि कर्माले विजयसँग लिने बदला र प्रहरीको पोसाकबिना देशका लागि गर्ने सेवाकै वरपर ‘कर्मा’को कथा घुम्छ । एउटा साधरण व्यक्तिले शक्ति र स्रोतमा भएकाहरूद्वारा हर समय कति हन्डर र दु:ख झेल्नुपर्छ ? ‘कर्मा’ले देखाउन खोजेको कथा सरल छ । 

तर, कथा वाचनमा निर्देशक चौधरीले थुप्रे कमजोरी गरेका छन् । जस्तै, इन्स्पेक्टर बन्न विपिनले गरेको संघर्ष दर्शकले खासै अनुभव नै गर्न पाउँदैनन् । उनको संघर्ष र लक्ष्य प्राप्तिका लागि गरिएको दु:खलाई नजिकबाट अनुभव गर्न नपाउँदा उनले लिने बद्लाले पनि खासै ठूलो दम भेटिन्न । फिल्ममा केही कुरा सही ढंगले स्थापना नै गरिएको छैन ।

जस्तै, कर्मा र साथी अनिलबीच मित्रता नै स्थापित गराइएको छैन । एकाध दृश्य र न्यारेसनबाट थाहा पाउँछौं, कर्मा र अनिल मिल्ने मित्रहरू हुन् । तर, लामो समय दृश्यमा अनिल नदेखिँदा त्यो सम्बन्ध खासै स्थापित हुन्न । कथामा आवश्यक भएका बेला मात्रै झुल्किँदा अनिल र कर्माको सम्बन्धमा हुने ठट्टा, रमाइलो क्षणहरूले कथा वाचनमा खासै टेवा पुर्‍याउँदैन ।

मित्रता र प्रेमको कथालाई बहुपत्रमा समान्तर ढंगले अगाडि बढाइएको कर्माको कथा वाचन चुस्त बन्ने थियो । गीताञ्जली(उपासना ठकुरी)सँगको प्रेमलाई पनि खासै राम्रोसँग स्थापना गरिएको छैन । कर्मा र गीताञ्जलीबीच प्रेम देखाउने कोसिस हुन्छ तर, उनीहरूको माया खासै राम्रोसँग अंकुराउन पाउँदैन । त्यसैले जब फिल्ममा गीताञ्जली कर्माका लागि भक्कानिँदा दर्शकको मुटु दुख्दैन ।

यो फिल्ममा जसरी सुरुदेखि नै विजय चरित्रलाई भ्रष्ट देखाइएको छ, त्यो चरित्रलाई पनि बीच्चमा अचानक बद्लिएको देखाइन्छ । एउटै संवादमा उक्त पात्रले भ्रष्टाचारको बाटो त्यागेको देखाउँदा ‘कर्मा’भित्रको संसार अपत्यारिलो लाग्न थाल्छ । 

फिल्ममा कथा भन्नका लागि अधिकांश दृश्यमा ‘न्यारेसन’को प्रयोग छ, निर्देशकको यो रोजाई सठिक छ । तर, अधिकांश ठाउँमा न्यारेसनमार्फत् सबै कथा भनिन खोज्दा कथा फितलो बन्दै जान्छ । फिल्ममा अतिरञ्जना भरिएको संवाद प्रयोग गरिएका छन् । झट्ट हेर्दा कर्मा साधारण पात्रको रुपमा उभ्याइएको छ तर, जब उक्त पात्रले बोल्न थाल्छ तब चर्को वजनसहितको साहित्यिक संवाद बोल्छन् ।

उदाहरणका लागि एउटा दृश्यमा गीताञ्जली कर्मालाई हेर्दै भन्छिन्, - तँमा केही खोट नै छैन…। गीताञ्जलीले अनुभव गर्ने यस्ता भावलाई त दृश्यमार्फत नै भन्न सकिन्थ्यो । सजिलै अनुमान गर्न सकिने ‘प्लट’, ‘सस्पेन्स’ र बलिउड फिल्म झल्काउने केही पार्श्व ध्वनीले ‘कर्मा’को कथा खुकुलो बनाइदिएको छ । 

कलाकारको अभिनयले फिल्मका केही कमजोरी गौण बनाइदिएका छन् । फिल्ममा आमाको भूमिकामा अभिनेत्री सरिता गिरीले गरेको अभिनय होस् या विजयजस्तो भ्रष्ट चरित्रमा दिव्य देव, यी कलाकाले ती पात्रका हाउभाउदेखि भावहरूलाई अभिनयमार्फत पस्किदिएका छन् ।

सँधै यथार्थवादी चरित्रमा देखिँदै आएका अभिनेता विपिनलाई भने ‘कर्मा’को ‘लार्जर द्यान लाइभ’ पात्रलाई स्वीकार्न गाह्रै पर्छ । तर, विपिनले यस किसिमको चरित्रमा पनि आफूलाई अब्बल प्रस्तुत गर्ने प्रयास गरेका छन् । मुकुन भुसाल र उपासना ठकुरीले पनि आफ्नो चरित्रलाई न्याय दिने कोसिस गरेका छन् । 

फिल्ममा एउटा अंग्रेजी डायलग छ, ह्वाट गोज अराउन्ड-कम्स अराउन्ड । अर्थात् जस्तो काम गर्छौ त्यस्तै फल पाउँछौं । त्यसैले एक्सन विधामा राम्रो फल पाउनका लागि निर्देशक चौधरीले त्यसरी नै शसक्त पटकथा र निर्देशनमा काम गर्न जरुरी देखिन्छ । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully