अतिरञ्जनामा अल्झिएको 'वसन्त'

'वसन्त'ले अन्तरजातीय प्रेममात्रै नभई, क्रान्तिको राँको, वैदेशिक रोजगारीका पीडा, दलित मुद्दा र यसमाथि हुने राजनीतिकरणसम्मका विषय जोडेको छ । तर कसिलो पटकथाको अभावमा जात व्यवस्थाले थिचिएकै समुदायको प्रतिध्वनि भने गुञ्जँदैन ।

चैत्र २४, २०८१

रीना मोक्तान

'Spring' caught in exaggeration

काठमाडौँ — भनिन्छ, कुरो र कुलो जता बगायो उतै बग्छ ! कथाको हकमा पनि यस्तै हो । कुरो र कुलो मात्रै होइन कथालाई पनि जता चाह्यो उतै बगाउन सकिन्छ । त्यसका लागि ‍कथा-शिल्पमा सिपालु हुनुपर्‍यो- निर्देशक । नभए कथाले बाटो बिराउँछ । गन्तव्यबिनाको कथामा उति चासो हुन्न, त्यसभित्रका आरोह-अवरोहले ध्यान पनि तान्दैन ।

गीतिकथामार्फत निर्देशनमा डेब्यू गरेका निर्देशक प्रकाश सपूतको फिल्म 'वसन्त'मा यही शिल्पको अभाव खट्किन्छ । कमजोर पटकथा, अतिरञ्जित संवाद र सन्देशै-सन्देशले भरिएको बलिउड फिल्मभन्दा माथि उठ्न सकेको छैन 'वसन्त' । फिल्मले निर्माण गर्न खोजेको संसार विश्वसनीय ढंगले स्थापित नहुँदा ‘वसन्त’ले उठाउन खोजेको जातीय विभेदको मुद्दा सतही बनेको छ । 

फिल्मको कथा वसन्त विक(प्रकाश सपूत)को हो । उनी लेखक बन्न चाहन्छन् । आफ्ना कविता, लेखनमार्फत समाजबाट विभेद हटाउन चाहने उनी अन्यायका विरुद्ध चर्को आवाज उठाउँछन् । खराबीविरुद्ध शिक्षकसँग बोल्ने साहस राख्छन् । तर, मायाका सवालमा चुइँक्क बोली फुट्दैन । प्रगतिशील सोचाइका भए पनि वसन्तलाई लाग्छ, कथित उपल्लो जातकी शान्ति शर्मा(स्वस्तिमा खड्का)सँग प्रेममा पर्नु ‘गह्रौं ढुंगालाई बेलुन सम्झेर हावामा उडाउनु’ हो । त्यसैले मायाको हकमा उनी कोमल छन्, अथवा भनौं उनको माया कमलो छ । उता साथी प्रेम क्षेत्री र बहिनी सपना विश्वकर्माबीचको अन्तरजातीय प्रेम हुर्काउन मद्दत गर्न भने वसन्त उद्दत देखिन्छ । तर, के यी जोडाका अन्तरजातीय प्रेमले समाजमा विद्रोहको झिल्को बाल्ला ? 

'Spring' caught in exaggeration

प्रदर्शनरत 'वसन्त'ले अन्तरजातीय प्रेममात्रै नभई, क्रान्तिको राँको, वैदेशिक रोजगारीका पीडा, दलित मुद्दा अनि यो मुद्दामाथि हुने राजनीतिकरणदेखि थुप्रै विषय जोडेको छ । तर, यी विषयवस्तुलाई पटकथामा कसिलो शैलीमा उन्न नजान्दा जात व्यवस्थाले चेपिएका, हेपिएका र दबिएकाको आवाज जति चर्कोसँग फिल्ममार्फत सुनाउन सकिन्थ्यो, त्यसको प्रतिध्वनि पनि गुञ्जँदैन । फलस्वरूप फिल्मले छुन खोजेका तमाम विषय त्यसै सेलाउँछ ।

फिल्म बलिउडको कथ्य शैलीतिर बढी ढल्किँदा अधिकांश दृश्य त अतिरञ्जनामै अल्झिएको छ । जस्तै, फिल्ममा वसन्त चरित्रलाई स्थापित गर्न लामो समय खर्चिएको छ । वसन्त चरित्रलाई 'हिरो'का रूपमा स्थापित गराइरहँदा लामो समय त फिल्मको अर्की प्रमुख पात्र शान्ति(स्वस्तिमा खड्का) उनीसँगै एउटै विद्यालय पढ्छन् ? वा पढ्दिनन् भन्ने अत्तोपत्तो हुन्न । फिल्ममा अधिकांश दृश्य आवश्यकभन्दा लम्बेतान छन् । संवादमा बोलीचालीको भाषा प्रयोग छैन । साहित्यिक यात्रा थालेको वसन्तले बोलीपिच्छे साहित्य फलाक्नु त समान्य हो । तर, अन्य पात्रले पनि त्यही गति र शैलीमा साहित्यिक संवादमा बोल्दा त्यो विश्वनीय सुनिँदैन । फिल्ममा अधिकांश दृश्यमा सन्देश मात्रै थोपरिएको छ । खासमा जातीय विभेदजस्तो गम्भीर मुद्दामाथि फिल्म बनाइरहँदा फिल्मले कथामार्फत नै कलात्मक ढंगले सन्देश छर्न सक्थ्यो । तर, अधिकांश दृश्यमा ठूल्ठूला भाषणका नारा दोहोरिँदा संवादमा ती थोपिरिन्छन् । जब कि फिल्ममा त कथावस्तुमार्फत नै बिम्बात्मक शैलीमा सन्देश दिन सकिने थुप्रै तत्त्व हुन्छन् ।

कमजोर पटकथाकै कारण फिल्मको कथाले लय गुमाउँदै गएको छ । हो, वसन्त 'समाज भर्सेस समाज' पुस्तक लेखेर लेखक बन्न चाहन्छ । तर, लेखक बन्नकै लागि उनले के-कस्ता संघर्ष गर्छन् त ? निर्देशकले खासै यो पक्षमा ध्यान नै दिएका छैनन् । फिल्ममा प्रमुख पात्रले आफ्नो उदेश्यका लागि खासै संघर्ष गरेको देखाइँदैन । उनका जीवनमा आइने समस्या त्यसै फत्ते हुँदै जान्छन् । यसरी कथालाई अगाडि बढाइरहने पात्रले नै समस्यासँग सजिलै लड्दै गर्दा कथा वाचनको डोरो कमजोर बन्छ । अनि, दर्शकको ध्यान भड्किन थाल्छ । मध्यान्तर अघिसम्म त कथा अन्तरजातीय प्रेम, मित्रता र दलितमाथि विभेद गर्ने समाज वरपर नै घुम्छ । तर, जब प्रमुख पात्रलाई कुनै घटनाका लागि हिरासतमा राखिन्छ । त्यसपछि कथाको गन्तव्य हराउँदै जान्छ । एकपछि अर्को घटना कथाको मागअनुसार भन्दा पनि जबरजस्त राखिएको छ, त्यी पक्षको स्थापना हतारमै गरिन्छ । जब अन्तरजातीय प्रेमकै कारण एक जोडाले आत्महत्या गर्छ, त्यसपछि उक्त घटनामा राजनीति जोडिन्छ । त्यसअघिसम्मको कथा वाचनको लय पक्रन नसक्दा राजनीति यहाँ जबरजस्त जोडिएको भान हुन्छ । त्यसपछि फेरि मानव अधिकारकर्मी जोडिन्छन् । अनि वैदेशिक रोजगारी जोडिन्छ, परिवर्तित समाज देखाइन्छ । खासमा यी विषयलाई देखाउनकै लागि मात्रै देखाइएको छ, तर कथामा त्यसको उठान सशक्त छैन । 

यो फिल्मको साह्रै बिझाउने पाटो हो, पार्श्व ध्वनि । फिल्मले प्रमुख पात्रका लागि बेग्लाबेग्लै ध्वनि निर्माण गर्ने प्रयास गरेको छ । साथी प्रेम पर्दामा आउँदा उनलाई चिनाउने छुट्टै ध्वनि पृष्ठभूमिमा बज्छ । तर, यही ध्वनिको लय पनि सरल ढंगले बगेको छैन । त्यसैले कति दृश्यमा त ध्वनिको प्रयोगले कथाको भावलाई नै खलबलाइदिएको छ । खासमा ध्वनिले कथा, चरित्र र परिस्थितिअनुकूलको 'मूड' सिर्जना गर्छ । दर्शकलाई कथामा बाँधिराख्छ । तर, दृश्य एकबाट अर्कोमा परिवर्तन हुँदा भावलाई निरन्तरता गर्नुपर्ने ध्वनि नै बाधक बनिदिएको छ । फिल्मलाई सम्पादनमै पनि कस्न सकिन्थ्यो । कति गीत हटाइएको भए पनि फिल्मको कथा सलल बग्ने थियो ।

'वसन्त'ले उठाउन खोजेको जातीय विभेदको कथा निकै सशक्त छ । यो फिल्ममा अन्तरजातीय प्रेम छ । जातीय पर्खाल नाघेर मित्रता जोगाउने साथी छन्, त्यही पर्खाल जोगाइरहने समाज छ । अनि त्यही समाजभित्र पिँधमा पारिएका दलितको पीर र मर्का छ । फिल्ममा विभेदविरुद्धको अभियान छ, आन्दोलन छ, क्रान्ति छ । दलितको मुद्दा भजाएर राजनीति गर्ने नेता छन् । विशेष त यो फिल्ममा नेपाली समाजको अनुहार झल्किन्छ । वर्षौंदेखि समाजको एउटा तप्कालाई मान्छे नठान्ने समूह छ, संस्कृति छ अनि अन्धविश्वास छ । केही स्मृति पनि छन् । जस्तै, पुतलीको टीका लगाए पैसा भेटिन्छ भन्ने विश्वास छ । मनपर्ने व्यक्तिसँग 'प्लस'लेखेर नाम जोड्ने सुन्दर शैली देखाइएको छ । किताबका पन्नामार्फत गरिएको प्रेम संवाद छ । जात व्यवस्थाविरुद्ध खडा हुने हिम्मत छ, जातीय विभेदसँग लड्ने साहस छ । जातमा आधारित छुवाछूत अन्त्यको सपना छ । समावेशी र समतामूलक समाजको कल्पना छ । 

हुन त नेपाली समाजमा खिल बनेर बसेको यो मुद्दामाथि कमैले फिल्म बनाएका छन् । र, जति जनाले यो मुद्दा उठाइए उनीहरूले एउटै प्रश्नको सामना गर्नुपर्‍यो – के उनीहरू ती कथा भन्न लायक पात्र थिए  ? खासमा विश्वमा अहिले कुनै समुदाय, संवेदनशील मुद्दा उठाइरहँदा कथावाचकले यस्तै प्रश्नको सामना गर्नुपर्छ -आखिर तिमी यो कथा भन्ने सही मान्छे त हौ ? पछिल्लो समय कथित उपल्लो जातकै निर्देशक र लेखकले दलित मुद्दामाथि फिल्म बनाउँदा नेपालमै पनि ती फिल्मकर्मीले यस्तै प्रश्नको सामना गरे । अचानोको पीर खुकुरीले जान्दैन भनेझैं दलितको पीर सुनाउन त्यही समुदायको निर्देशक, लेखकको पर्खाइ थियो । त्यसअर्थमा सपूत कथावाचनका लागि सटिक थिए । तर, कथा सुनाउने अनुभवको अभावमा यो कथाले समाजमा जुन रूपले प्रभाव पार्न सक्थ्यो, त्यसमा उनी चुकेका छन् । आखिर फिल्मले फगत मनोरञ्जन मात्रै दिने होइन । यसले त बहस सिर्जना गर्छ, समाजलाई खबरदारी गर्छ । अनि कुनै विषयवस्तुप्रति विचार पस्कन्छ, समाजलाई संवेदनशील र जिम्मेवार पनि बनाउँछ । यस्तो महत्त्वपूर्ण मुद्दामा समाजलाई सजग बनाउन ‘वसन्त’को अभ्यास अपुग नै देखियो । 

यो फिल्ममा अभिनेता राजेश हमालसँगको एउटा दृश्य छ । हमाल देखिनुअघि एक पात्रले भन्छ,- हिरो आउनै बाँकी छ । जसरी कथामा हमालको प्रवेश हुन्छ, त्यसले यो फिल्म हमालको जमानाकै कथ्य शैलीमा अल्झेको व्यंग्य गर्छ ।

हमालको जमानाका फिल्ममा बोलिने भारी संवाद, भाषण मात्रै 'वसन्त'मा थोपरिएका छन् । तर, विभेद र अन्यायविरुद्धका लागि लडिने मिहीन पक्ष देखाइएका छैनन् । संवादमा मात्रै, ‘विभेद हटाउँछु’भनेर मात्रै हुँदैन नि । फिल्ममा त विभेदको चरम चोट अनुभव गराउँदै यसप्रति सचेत र संवेदनशील बनाउन सक्ने सामर्थ्य हुन्छ । त्यो सामर्थ्यको नजिक पुग्न नसकेका सपूतले 'सिक्वेल'मा यी कमजोरी सुधार्नेछन् भन्नेमा आश गरौं ! 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully