दर्शकका ‘दुश्मन’ हेरेको हेर्‍यै

‘दुश्मन हेरेको हेर्‍यै’ अहिले ग्लोबल ट्रेन्डिङमा छ, तीन महिनामा ५ करोड २७ लाखभन्दा बढी पटक हेरिएको छ, सामाजिक सञ्जाल प्रयोगकर्ताले बधाई भन्दै दुर्गेशलाई लेखेका छन्, ‘नेपालको जनसंख्याभन्दा धेरै हेरिएको भिडियो ।’

चैत्र २१, २०८१

समर्पण श्री

Watching the 'enemy' of the audience

काठमाडौँ — दुई महिनाअघिसम्म संगीतप्रेमीहरू कुमा सागरको जादूमयी लवजमा झुमिरहेका थिए । उनीहरू कहिले ‘हावाको लहरसँगै’ बहन्थे त कहिले ‘जाने भए जाऊ माया’ भन्दै उफ्रन्थे । सहरदेखि गाउँका युवासम्ममा कुमा सागरको क्रेज छाएको थियो । एक महिनायता भने माहोल बदलिएको छ । अहिले बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्मको जिब्रोमा स्वाद परेका केही शब्द छन्, ‘कता हिँडेको बिजुली बालेर, हट भएर, पट भएर...।’ 

सडक आन्दोलन, विजय र्‍याली, विवाह स्थल, सदनको घोचपेच, सभाका भाषण र सामाजिक सञ्जालका स्टाटसमा व्यंग्य, आवेग र रोमाञ्चकता प्रस्तुत गरिँदै भनिन्छ, ‘हामी हेरेको हेर्‍यै, दुश्मन हेरेको हेर्‍यै..।’ केही दिनअघि भएको स्ववियु निर्वाचनमा पद्मकन्या क्याम्सपमा प्यानल नै जितेका नेविसंघका बागीहरू विजय जुलुस गर्दै यही गीतमा नाचे । संसद्मा आक्रोशित हुँदै सांसद ज्ञानेन्द्र शाहीले पनि सरकारलाई औँला ठड्याउँदै भने, ‘फेरि पनि कता हिँडेको..?’

खासमा आफ्ना प्रशंसकदेखि आलोचकसम्मलाई यति बेला गायक दुर्गेश थापाले ‘हेरेको हेर्‍यै’ बनाएका छन् । नहेरून् पनि कसरी, करिब ३ महिनाअघि आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ अहिले ग्लोबल ट्रेन्डिङमै उक्लिएको छ । अहिलेसम्म्म ५ करोडभन्दा बढी पटक यो गीत हेरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले खुसी मनाउका साथ बधाईस्वरूप दुर्गेशलाई लेखेका छन्, ‘नेपालको जनसंख्याभन्दा धेरै हेरिएको भिडियो ।’ र, त कन्सर्टको दुनियाँमा बिजुली बालेर क्रेज बटुलिरहेका दुर्गेशलाई भ्याइनभ्याइ छ । उनी स्वयं भन्छन्, ‘यो गीतपछि महोत्सव, स्टेज, विवाह पार्टीदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म मलाई निम्तो आइरहेका छन्, समय व्यवस्थापन गर्दै छु ।’

मंगलबार मात्रै रंगशालामा जारी नेपाल सुपर लिगमा बुटलवल लुम्बिनीसँगको खेलमा सर्जियो बारबोजुले चौथो गोल गरेपछि उनीसँगै प्रशिक्षक हुवा म्यानुयलसहित अन्य विदेशी खेलाडी पनि यही गीतमा नाचे । त्यो पनि दुर्गेशको स्टेपसहित । खेलका मैदानदेखि वान डे कन्सर्टमा पनि सुनिन्छन् उनी । उनलाई सुन्न दर्शकश्रोता ठेलमठेल हुन्छन् ।

यसअघि पनि दुर्गेशका गीतले माहोल नतताएका हैनन् । बढीजसो सार्वजनिक यातयातमा बज्ने ‘रातो रातो खुर्सानी पिरो छ’ होस् वा तीजको माहोलमा पुरुष मिसिँदै गाउने ‘बिच्च बिचमा...।’ गीतहरूमा जति ताली आउँथ्यो, गाली पनि उत्तिकै व्यहोर्थे दुर्गेशले । दुर्गेशको स्वीकारोक्ति छ, ‘मेरा शब्दहरू अपाच्य थिए ।’

आफ्ना हुर्कंदा सन्तानका लागि सोच्दा पनि शब्द चयनमा आफू चुकेको लाग्छ उनलाई । त्यसकारण उनको प्रण छ, ‘अब मेरा छोराछोरीले पनि बाले यस्तो नराम्रो शब्द गाएको रहेछ भन्नु नपरोस्, म आफूलाई सुधार्न चाहन्छु ।’

Watching the 'enemy' of the audience

जसरी दुर्गेशको गीतले अहिले माहोल तताएको छ, कुनै बेला गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ र ‘कट्टा हान्दिन्छु’ ले उस्तै माहोल सिर्जना गरेको थियो । महोत्सव र स्टेज कार्यक्रममा आएका दर्शक आफ्नो पीडा, बदलाभाव र आक्रोशलाई व्यक्ति गरिरहेका देखिन्थे । हरेक उमेर समूहका व्यक्तिले सहजै गाइरहेका भेटिन्थे । टिकटक, रिल्समा अभिनयसहित उनीहरू आफूलाई पोख्थे । कहिले भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ देखि जिबबको ‘मिलेन लेभल तेरो बाउ बोला ए’ मा युवा पुस्ता मज्जा लिइरहेका हुन्थे । 

कहिले शान्तिश्रीले गाएको ‘अरेली काँडैले’ मा नाचिरहेको भेटिन्छन् त कहिले शान्तिरानी परियारले गाएको ‘म त ढलेँ ढलेँ’ मा ढल्किरहेका भेटिन्छन् । 

सडक र मासमा मात्र हैन, कहिलेकाहीं गीतका शब्दले संसद्को रोस्टममा पनि ठाउँ पाउँछन् । दुई महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिने क्रममा भनेका थिए, ‘एउटा गीत बजारमा ढलेँ ढलेँ ढलेँ भन्ने अलि प्रचारमा छ । प्रायः आम रूपमा राजनीतिक नेताले गाएको सुन्छु ढल्यो ढल्यो ढल्यो ढल्यो...। यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन ।’

उनले गीतको थप प्रसंग जोड्दै प्रतीपक्षलाई व्यंग्य गरेका थिए । यी गीतहरूका शब्दलाई लिएर संगीतपारखीबाट सधैं प्रश्न उठे पनि भावना अभिव्यक्त गर्न सर्वसाधारणदेखि नेतासम्मले यिनकै शब्दको साहरा लिइरहेका हुन्छन् । किन त ? समाजशास्त्री चैतन्य मिश्र भन्छन्, ‘केही कालदेखि समाजमा हावा यतिकै बगिरहेको हुन्छ । त्यो व्यापक भइरहेको हुन्छ । उकुसमुकुस भइरहेको हुन्छ । कसैले नसमातेको कुरालाई जब कसैले समात्छ, तब त्यो चर्चित हुन्छ ।’ 

समाजशास्त्री मिश्रकै भाषामा त्यो खालको भावना, धारणा, विश्वास र सपनालाई कसैले शब्द, संगीत वा पेन्टिङलगायत विभिन्न कलामार्फत व्यक्त गर्‍यो भने त्यो पढिन्छ, सुनिन्छ, हेरिन्छ, रमाइन्छ र प्रतिक्रिया दिइन्छ । यी गीत पनि त्यसकै उपज हुन् । 

यस्ता गीत मासमा पुगेसँगै आलोचना पनि उत्तिकै हुने गर्छन् । गायक दीप श्रेष्ठ पछिल्लो समय विकास भइरहेका प्रविधिका कारण यस्ता गीतले प्राथमिकता पाएको आँकलन गर्छन् । चलिरहेको ट्रेन्ड देख्दा अचम्मित पनि छन् उनी । भन्छन्, ‘अहिले संगीत सुन्ने समय नभएको हो कि ? खाली मान्छेमा हतास मात्र देख्छु । संगीत सुन्नेबित्तिकै नाचिहाल्नुपर्ने, रमाइहाल्नुपर्ने मात्र देख्छु ।’

संगीत सुनेर, शब्द बुझेर मनन गर्ने र गम्भीर हुने मान्छे कम भेटेको महसुस गर्छन् दीप । ‘हामीले स्टेज गर्दा नाच्ने नचाउने गीतै गर्नुपर्छ कि भन्ने भान भएको छ । समयको माग पनि होला ।’ उनी यस्तो हुनुमा संगीतलाई नेतृत्व गर्ने हस्तीको कमी भएको ठान्छन् । 

दुर्गेश आफूलाई गायक कम र पर्फमर ज्यादा ठान्छन् । त्यसकारण आफूले कुनै गायकको गीत लयमा गाउन नजान्दा पनि ढुक्क छन् । ‘ममा त्यो खोज्ने हैन, जुन म सक्दिनँ । ममा दुर्गेश थापा खोज्नुपर्‍यो,’ उनी भन्छन्, ‘म गीत गाउनभन्दा पनि पर्फम गर्न जन्मिएजस्तो लाग्छ, त्यो कुरा दर्शकश्रोताले पनि स्वीकार गर्नुहुन्छ ।’

संगीतमा निरन्तर गहिरो साधना गरिरहेका गायक, संगीतकार उज्ज्वल सागर यो ट्रेन्ड नियालिरहन्छन् । भन्छन्, ‘दुर्गेश दुनियाँले मानेको राम्रो पर्फमर हुन्, उनी ह्विम क्रिएट गर्ने गरी नै प्रस्तुत हुने गर्नुहुन्छ ।’ 

संगीतकार अभास यसलाई संगीतका अनेक विधामध्येको एक मान्छन् । ‘कुनै लाइट र इन्टरटेन गर्ने खालको हुन्छ, त्यो संगीत हैन, इन्टरटेन हो, मनोरञ्जन दिने र गहन विषय उठाउने आर्टका विधा हुन्,’ उनी भन्छन् । यो ट्रेन्ड अहिले मात्र हैन, पहिल्यैदेखि रहेको औंल्याउँछन् अभास । ‘यो मास ओरेन्टेड हुन्छ, पहिला रेडियोको जमानामा पनि थियो, रेडियो नआउँदा पनि थियो, पपुपलर विधा जहिले पनि हुन्छ,’ उनी भन्छन् ‘यो फास्टफुडजस्तै हो ।’

‘हरेक व्यक्तिको जीवनमा कोही न कोही दुश्मन हुन्छ’

अहिले ‘वान डे इभेन्ट’ गरिरहेको छु । अस्ति रंगशालामा गरो । अब च्यासलमा गर्दै छु । हायातमा मेरो ‘सिंगल शो’ हुँदै छ । अस्ट्रेलिया, यूके, अमेरिकालगायत धेरै ठाउँबाट निमन्त्रणा आएको छ । समय मिलाउन एकदम गाह्रो भइरहेको छ ।

Watching the 'enemy' of the audience

अहिले व्यस्तता कस्तो छ ?

पहिलाभन्दा धेरै व्यस्त छु । समय व्यवस्थापन गर्नै एकदम गाह्रो भइरहेको छ । 

कति समय भयो, व्यस्तता बढेको ?

‘दुश्मन हेरेको हेर्‍यै’ पछि महोत्सव, स्टेज कार्यक्रममा निकै निमन्त्रणा आइरहेछ । विवाह पार्टीदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म पनि । कतिले मलाई विदेशबाट भिडियो पठाउनुहुन्छ र भन्नुहुन्छ, ‘मेरो छोरीले नेपाली त्यति बोल्दिनँ, यो गीतचाहिँ यसरी गाउँछिन् ।’ यस्तो भन्दा सुन्दा निकै खुसी लागिरहेको छ । 

एसईई परीक्षाको अवधिमा परीक्षार्थीलाई डिस्टर्ब नहोस् भनेर कन्सर्ट कार्यक्रमहरू स्थगितसमेत गर्नुभयो, पाइप लाइनमा अहिले कति कार्यक्रम छन् ?

एसईईको समयमा करिब १६ वटा कार्यक्रम थिए, मैले लिइनँ । बालबालिका, किशोरकिशोरी फ्यान भएकाले वरिपरि मेला महोत्सव लाग्दा उहाँहरूको ध्यान त्यतै हुन सक्छ, परीक्षालाई असर पर्न सक्छ भनेर मैले कार्यक्रमरु क्यान्सिल गरेँ । अहिले ‘वान डे इभेन्ट’ गरिरहेको छु । अस्ति रंगशालामा गरेँ । अब च्यासलमा गर्दै छु । हायातमा मेरो ‘ब्यान्ड शो’ हुँदै छ । त्यहाँ मेरो ‘सिंगल शो’ हुने हो । म समय व्यवस्थापन कसरी गर्ने भन्ने योजनामा छु । अस्ट्रेलिया, यूके, अमेरिकालगायत धेरै ठाउँबाट निमन्त्रणा आएको छ । समय मिलाउन एकदम गाह्रो भइरहेको छ । 

यसअघि पनि तपाईंका गीत 'भाइरल’ भए, तपाईंको गीत हिट किन हुन्छन् ?

बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई मेरो गीतले समेट्छ । मेला महोत्सवमा युवा मात्र आउँछ भन्ने हुन्न । सबै किसिमका दर्शक आउँछन् । सबैलाई नचाउनुपर्छ । म सबैले टिप्ने खालका शब्द चयन गर्छु, सबैले मन पराउनुहुन्छ ।

तपाईं गीत कसरी लेख्नुहुन्छ ?

कहिले म गाडीमा गुन्गुनाउँछु । कुनै शब्द फुरेमा रेकर्ड गर्छु । कहिलेकाहीं घरमा म्युजिक बनाउँछु । म्युजिक बनाउँदाबनाउँदै त्यसमा यो गीत म्याच हुन्छ कि भनेर त्यही गीतमा काम गर्छु । घरमा होम स्टुडियो छ मेरो । घरमै बसेर पनि गराउँछु । यही नै भन्ने हुन्न । मेरो मुडअनुसार हुन्छ । 

तपाईंले गीत बनाउँदा समाजको मनोविज्ञान कसरी नियाल्नुहुन्छ ?

सबैको जीवनमा के चलिरहेको छ, सबैको जीवनमा के महत्त्वपूर्ण हो, केले जीवनमा धोका दिइरहेको छ, केले जीवनलाई अवरोध गरिरहेको हुन्छ, केले सबैको जीवनलाई फलिफाप बनाइरहेको हुन्छ । ती कुरालाई मध्येनजर गर्छु । दुश्मन हरेक व्यक्तिको, हरेक व्यापारीको हुन्छ । दुश्मन नभएको मान्छे हुँदैन होला । तपाईंकै सेक्टरमा पनि एउटा न एउटा दुश्मन त छ । सबैको सफलतामा डाहा गर्ने दुश्मन हुन्छन् । मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्‍यै । दुश्मनले हेरिरहेको बेलामा प्रगति गर्न अझ मजा आउँछ । दुश्मन भनेको गोली हान्ने र हिंसा गर्ने मात्र होइन, प्रगतिसँग भिड्नु पनि दुश्मन हो जस्तो लाग्छ । त्यसैलाई नै समावेश बनाएर यो गीत बनाएको हुँ ।

Watching the 'enemy' of the audience

कस्तो कुरामा प्रशंसा पाउनुहुन्छ र कस्तो कुरामा आलोचना ?

मेरो गीतमा छाडापन भयो भने गाली आउँछ । समाज, घरपरिवार मिलेर हेर्न सुन्न मिल्ने खालको गीत हुनुपर्छ भन्नुहुन्छ । अहिले कुनै सन्देशमूलक गीत छ भने प्रशंसा आउँछ । पछिल्लो मेरो गीत स्कुलको बिदाइ कार्यक्रम, स्वागत कार्यक्रम, विवाह जहाँ पनि नबजेको ठाउँ छैन होला । मलाई पछिल्लो समय के लाग्यो भने, गीत संगीत भनेको जहाँ पनि जसले पनि सुन्न मिल्ने बनायो भने माया र हौसला आउँछ भन्ने महसुस भएको छ ।

आफूलाई गायकभन्दा पर्फमर भन्नुहुन्छ, किन ?

म गीत गाउनभन्दा पनि पर्फम गर्न जन्मिएजस्तो लाग्छ । दर्शकश्रोताले पनि स्वीकार गर्नुहुन्छ । मेला महोत्सवमा आउनेलाई मैले भरपूर मनोरञ्जन दिएर पठाउने गर्छु । मलाई त्यही ठाउँमा दोस्रो डिमान्ड पनि भइरहेको हुन्छ । कहिलेकाहीं मैले कसैको गीत गाउन सकिरहेको हुँदिनँ किनकि ममा त्यो खोज्ने हैन, ममा दुर्गेश थापा नै खोज्नुपर्‍यो ।

कला, सिर्जनाको आयुबारे कुरा गरौँ । तपाईंले आफ्नै सिर्जनाको आयु कति देख्नुहुन्छ ? तपाईंका सुरुवाती गीत अहिले रिलेट हुन्छन् कि हुन्नन् ?

सुरुका गीत पनि नराम्रा हैनन् । अहिलेको जेनेरेसनको गीत मैले पहिल्यै गाएको हो । तर दुश्मनले त्यो गीतलाई पनि रिलेट गरिरहेको छ । दुर्गेश थापाले पहिल्यैदेखि यस्तो खत्रा गीत बनाउँदो रहेछ भन्ने दर्शक स्रोताले बुझ्दै हुनुहुन्छ । म पहिल्यैदेखि आफ्नो प्याटर्न बनाएर हिँड्थेँ । आज आएर दुश्मनले मेरो प्यार्टनलाई न्याय दियोजस्तो लाग्छ ।

पर्फमर दुर्गेशलाई सुधार्नुपर्‍यो भने के गर्न आवश्य ठान्नुहुन्छ ?

पहिला पहिलाका गीतभन्दा अबका सिर्जना पाच्य खालका भएका छन् । लाग्न थालेको छ, जहाँ पनि जस्तो अवस्थामा पनि गाउन सकियोस् । सबैका लागि मन पर्ने खालको होस् । म यही कुरालाई सुधार्न चाहन्छु, सुधार्दैर् पनि आएको छु । हाइपमा पुगेको मान्छेले पछाडि फर्किनु राम्रो लाग्दैन । हामीलाई हेरेर यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ भनेर अरूले पनि प्रेरणा पाऊन् । अब म पछाडि फर्कन चाहन्नँ । कसरी राम्रो सिर्जना गर्ने र गरिएको सिर्जनालाई कसरी थप राम्रो बनाउने भन्ने मेरो सिद्धान्त हो ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully