पोखरा — ‘ऐना हेरेर’, ‘सररर पानीघट्टामा’, ‘रुन्छनी मन किन रुँदैन’ जस्ता चर्चित लोक तथा दोहोरी गीतका गायक पुरुषोत्तम न्यौपानेको शुक्रबार पोखरा सभागृहमा एकल साँझमा प्रस्तुत हुँदैछन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुने भएको हो ।
प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी साँझमा पुरुषोत्तमका १८ गीत प्रस्तुत हुने जनाएको छ । सांगीतिक साँझमा उनको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । बर्सेनि एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको उनले बताइन् । सांगीतिक साँझमा निःशुल्क प्रवेशको व्यवस्था प्रतिष्ठानले गरेको छ ।
२०२९ मा स्याङ्जामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो इतिहास कोर्न सफल सर्जक हुन् । उनी झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोक संगीत क्षेत्रमा क्रियाशिल छन् । उनले एक हजार भन्दा बढी गीतमा आफ्नो आवाज भरेका छन् । उनले ०४६ मा ‘बलाम देवीथान’ बोलको गीत रेकर्ड गरेर सांगीतिक यात्राको सुरुआत गरेका थिए ।
उनी सांगीतिक प्रस्तुतिका क्रममा विभिन्न देशमा पुगेका छन् । उनले लोकगीतमा लगातार तीनपल्ट म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका उनी अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् । कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतिक साँझ पोखरामा गर्न लागिएको उनले बताए ।
