काठमाडौँ — निर्देशकसँग आफ्नो फिल्ममा दर्शक बाँध्ने गजब्बको शुत्र हुन्छ । मुख्य पात्रको एउटा ठूलै सपना हुन्छ, लक्ष्य हुन्छ । लक्ष्यसम्म पुग्न उक्त पात्रले संघर्षका थुप्रै पहाड उक्लनुपर्ने हुन्छ । तर, ती पहाड सजिलै उक्लन सकिने किसिमका हुँदैनन् । त्यसैले जब-जब पात्रले आफ्नो लक्ष्य प्राप्तिका लागि यस्ता पहाडहरु उक्लन संघर्ष गर्दै जान्छन्, दर्शकलाई लाग्छ- ओहो ! यो पात्र सजिलै लक्ष्यसम्म पुगिदिए हुन्थ्यो ।
अथवा हामीलाई लाग्छ, यो पात्रले दु:खका पहाड उक्लँदा ठेस र हुण्डरी सामना गर्न नपरे, कति काइदा ! तर, सोचेजस्तो कहाँ सहज हुन्छ र ? पात्रले यसरी एकपछि अर्को संघर्ष गरिरहँदा दर्शकमा एक किसिमको भाव संचार हुन्छ- अब के होला ? प्रमुख पात्रले के आफ्नो लक्ष्य हासिल गर्ला ? यही प्रश्नको उत्तर खोज्ने चक्करमा दर्शक फिल्ममा बाँधिसक्छन् । पात्रसँग जोडिन्छन्, उनका सपना र संघर्ष नजिक आफूलाई पाउँछन् । त्यसैले फिल्म हेरिरहँदा मुख्य पात्र गुण्डासँग लडिरहँदा त्यसै मुठ्ठी कसिसक्छन् । कथा वाचनको यही जादूले त हो, फिल्म असलीमा फिल्म बन्ने !
प्रदर्शनरत फिल्म 'अञ्जिला'मा निर्देशक मिलन चाम्सले भने कथा वाचनको यही तत्त्व समाउन भूलेका छन् । त्यसैले वास्तविक खेलाडी एन्जिला तुम्बापो सुब्बाले अभिनय गरेको र उनकै कथामा आधारित 'अञ्जिला'ले दर्शकको ध्यान बाँध्दैन । फिल्म एन्जिलाको फुटबलर बन्ने सपनातिर भन्दा पनि पारिवारिक कथातिर मोडिएको छ । एन्जिलातिरभन्दा पनि उनका आमा र बुवाका प्रेमकथा, दुई बुवाहरुको सौतेनी ल्याउने होडबाजीबीच कथा बढी केन्द्रित हुँदा दर्शकले फुटबलबन्ने सपना किन एन्जिलाले साँचिन् ? भन्ने नै बिर्सन्छन् ।
फिल्ममा राष्ट्रिय खेलाडी बन्न एन्जिलाले गर्नुपरेको संघर्ष देखाउन त खोजिएको छ । तर, एन्जिलाले आफ्नो सपनाका लागि गर्नुपरेको संघर्ष छाडेर निर्देशकले उनका आमाकै कथालाई बढी महत्त्व दिन्छन् । लामो समय कथा आमातिर मात्रै ढल्कन्छ । निर्देशक एन्जिलाको सपनालाई आमाले कसरी विश्वास गरिन् ? उनले छोरीप्रति देखाएको विश्वास र आशा कौशिला(सिर्जना सुब्बा)को चरित्रमार्फत देखाउन खोजिरहेका छन् । तर, कथालाई अगाडि बढाउने मुख्य पात्रलाई बिर्सेर अन्य पात्रहरुको कथामा निर्देशक अल्मलिँदा 'अञ्जिला' बायोपिक कम, पारिवार केन्द्रित फिल्म बनिदिन्छ । जस्तै कथावाचकलाई कुनै रुखको कथा भन्नुछ । तर, कथा भन्दै गर्दा जरा र पाततिर मात्रै अल्झियो भने कस्तो होला ? के त्यो कथाले वर्षौंदेखि हावाहुरीमा अटल उभिएको रुखको कथा सुनाउला ? निर्देशक चाम्सले एन्जिलाको बायोपिक बनाउँदा यस्तै गरेका छन् ।
कथा एन्जिलाको जीवनीमा भन्दा उनको पारिवारिक पृष्ठभूमितिर धेरै अल्झिएको छ । करिव ४५ मिनेटसम्म पनि परिवारका मूली(बुवा)ले 'सौतेनी' पत्नी ल्याएको कथातिर 'अञ्जिला' मोडिँदा, खेलाडी एन्जिलाको संघर्ष गौण बनिदिन्छ । एन्जिलाले गरेको दु:ख र संघर्षलाई दृश्यमा कैद त गरिन्छ, तर ती संघर्ष अनुभूत गर्ने किसिमले प्रयोग गरिएको छैन । जस्तै, यो फिल्ममा निर्देशक चाम्सले एन्जिलाले इलामदेखि आएर काठमाडौंमा गरेको संघर्ष देखाएका छन्, काठमाडौंमा बस्न र खेलाडी बन्नका लागि गरेको दु:ख पनि देखाएका छन् । तर, त्यो उनको दु:ख र पीडा दर्शकले अनुभव गर्नै पाउँदैनन् ।
आमाकै कारण एन्जिला काठमाडौं आइपुग्छिन् । तर, खेलाडी बन्नकै लागि एन्जिलाले काठमाडौंसम्म आइपुग्न कस्तो दु:ख गर्नुपर्यो ? त्यसपछि एपिएफमा आफूलाई प्रमाणित गर्न के –के गर्नुपर्यो भन्ने विषयलाई शसक्त ढंगमा देखाइएको छैन । आमा कौशिलाको दृष्टिकोणबाट कथा अगाडि बढाउँदा उनका संघर्षहरु, आमाको दु:ख अगाडि सुक्ष्म बनिदिन्छन् ।
हुन त चाम्सले परिवारमै एन्जिलाले के कस्ता समस्याहरु झेलिन् भन्ने देखाउन खोजेका छन् । पर्दामा उनका जन्मदिने बुवा अनि कर्म दिने बुवाले कसरी बहुबिबाह गर्छन् भन्ने मात्रै देखाउन लामो समय लगाइएको छ । यसो गर्दा मूल पात्रको कथाबाट दर्शकको ध्यान भड्किन्छ । खासमा यी दृश्यलाई सम्पादन टेबलमा छोट्याउन सकिन्थ्यो । बुवाहरुले दोस्रो पत्नी ल्याउँदा देखाएको बहादुरीको महिमा नगरी त्यही बुवाबाट फुटबलर बन्न एन्जिलाले खेप्नुपरेको समस्यातर्फ कथा अगाडि बढेको भए, बायोपिक 'अञ्जिला' पट्यार लाग्दो बन्ने थिएन । फिल्ममा यस्ता थुप्रै दृश्य छन्, जसलाई काँटछाँट गर्न सकिन्थ्यो । प्रमुख पात्रबाहेक अन्य पात्रका कथालाई लम्बेतान गर्दा कथाको प्रमुख पात्रको संघर्षमा दर्शक जोडिनै पाउँदैनन् । फलस्वरुप 'अञ्जिला'ले जसरी एन्जिलाको कथा शसक्त ढंगमा बताउन/देखाउन सक्थ्यो ? त्यो देखाउँदैन ।
एन्जिलाको जीवन जति संघर्षशील र साहसिक थियो कमजोर पटकथा र निर्देशनले त्यसलाई छायाँमा पुर्याइदिन्छ । निर्देशकले कथालाई एन्जिलाबाट भन्दा पनि कौशिलाको दृष्टिकोणबाट अगाडि बढाउँदा 'अञ्जिला'ले, नेपाली महिला राष्ट्रिय खेलाडी टिमको कप्तान एन्जिलाको जीवन र दु:खलाई सतही प्रस्तुत गरेको छ । त्यसैमाथि आमा, बुवाका सम्बन्धहरुलाई तन्काउँदै निर्देशकले जबरजस्त दर्शक रुवाउने प्रयास पनि गरेका छन् । खासमा एन्जिलाको दु:ख नै ह्रदय दुखाउने किसिमको छ तर, उनका संघर्षलाई सही ढंगले प्रस्तुत नगर्दा 'अञ्जिला' कप्तान एन्जिलामाथि बनेको कमजोर फिल्म दर्ज भएको छ ।
फिल्मका यी कमजोरीहरुलाई कलाकारको अभिनयले पनि केही हदसम्म ढाकछेप गरेको छ । अभिनेत्री सिर्जना सुब्बाले कौशिलाको भूमिकामार्फत फेरि 'डायिङ क्यान्डल'मा गरेको शसक्त अभिनय फेरि सम्झाइदिएकी छन् । दु:खहरुसँग सम्झौता गर्दै कर्मसँग जोरी खेल्दै आएकी कौशिला पात्रको आशा, भरोसा र उनको सहनशिलतालाई सिर्जनाले आफ्ना अभिनयमार्फत पस्केकी छन् । पतिले सैतेनी ल्याउँदा एउटी महिलाको आँखामा देखिने चरम पीडालाई आँशुमा होउन् या सन्तानको उपलब्धिहरुमा रमाउने आमा बनेकी सिर्जनाले आफूलाई अब्बल उभ्याएकी छन् । दिदीको भूमिकामा बेदना राई होस् या सुरज तमुको प्रेमी अवतार, छोटो समयमै यी पात्रहरुले आफ्नो अभिनयमार्फत दर्शकको ध्यान तान्छन् ।
खेल विधामा कमै फिल्म बनिरहँदा महिला खेलाडीको जीवनीमा फिल्म बनाउनु निर्देशक चाम्सको सबैभन्दा सकरात्मक पाटो हो । त्यसैमाथि एन्जिला आफैलाई आफ्नो कथामा अभिनय गराउन लगाउनु चाम्सको नौलो प्रयोग हो । तर, बायोपिक बनाइरहँदा सम्बन्धित पात्रको कथालाई वास्तविक जीवनको नजिकसम्म पनि पुर्याउन नसक्नु भने यो विधामाथिकै असफल प्रयास हो ।
