सकियो निटफिस्ट

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Done nitfeast

काठमाडौँ — ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (निटफिस्ट) सकिएको छ । अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै महोत्सवको समापन भएको हो ।

थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सव आरम्भ भएको निटफेस्ट अब ०२७ मा नयाँ संस्करणका साथ भेट्ने वाचासहित समापन गरिएको हो ।

मण्डला थिएटरमा महोत्सवमा १२ देशका १७ नाटक मञ्चन भए । जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोनी’, लिथुवानीया र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायत नाटक मञ्चन भए । नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ छनोटमा परेका थिए ।

महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा हरेक दिन छलफल भए ।

महोत्सवमा नाटकसँगै कविता, नृत्य, संगीत, चित्रकलालगायत अन्य कलात्मक प्रस्तुतिहरु समेटिएका थिए । स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजनासमेत थिए ।

निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सवमा भएका मञ्चन, प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताले आफूलाई सन्तुष्ट बनाएको र महोत्सवलाई निरन्तरता दिन उर्जा थपेको बताए । ‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो । आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘महोत्सवको तेस्रो संस्करणमा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गर्यौं ।’

महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी थिए । एक हप्ता चलेको महोत्सवमा हजारौं स्रोता दर्शकले सहभागीता जनाए। महोत्सव संयोजक केदार श्रेष्ठले भने, ‘विश्वभरका कलाकार र नेपाली कलाकारले एक अर्काको कामबाट सिक्ने अभ्यास हो महोत्सव। निटफेस्टको एक हप्ता सांस्कृतिक विविधताको आदान प्रदानमा बित्यो । यही नै महोत्सवको उपलब्धि हो ।’

नाटक हेर्नदेखि छलफल सुन्न र अन्य प्रस्तुति हेर्ने दर्शकहरु हरेक दिन बढेको समेत उनले बताए । महोत्सवमा संसारभरका जम्मा १ सय १५ नाटक आवेदनमा परेका थिए । 

कान्तिपुर

Link copied successfully