‘शाम्बाला’ देखाउँदै सुरु भयो निफ

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Niff started showing 'Shambala'

काठमाडौँ — मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ देखाउँदै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं संस्करण सुरु भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को नारा बोकेर महोत्सव सुरु भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले महोत्सव उद्‌घाटन गरेका हुन् । अध्यक्ष दाहालले विश्व बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुलाई चिनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । ‘आठ वर्षदेखि अन्तर्राष्ट्रिय चलचित्रलाई नेपाली पर्दामा प्रस्तुत गर्दै आउनु निफको विशिष्टता हो । विश्व चलचित्रकर्मी र चलचित्रसँग सम्बन्धित पक्षलाई एकैठाउँमा ल्याउन निफले महत्वपुर्ण भुमिका खेलेको छ,’ उनले भने ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले नेपाली फिल्म र नेपालको विविधतायुक्त संस्कृति पाकिस्तानीहरूका लागि मात्र नभएर विश्वका लागि प्रेरणाको श्रोत बन्न धारणा राखे । ‘सांस्कृतिक आदानप्रदान गर्न पाकिस्तानी र नेपाली चलचित्र निर्माता, कलाकारबिच सहकार्यको आवश्यक छ,’ उनले भने ।

यो महोत्सवमा ४० देशका ८७ फिल्म देखाइनेछन् । विश्व प्रतिष्ठित फिल्म महोत्सव बुसान, कान्स, लोकार्नो, बर्लिनमा पुगेका फिल्महरु यो पटक महोत्सवमा छानिएका छन् । यसपटक महोत्सवमा अडियन्स च्वाइस, एआई अवार्ड थप गरिएको छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई एक हजार पाँच सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । 

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुफिल्मलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully