मण्डलामा निटफेस्टको तेस्रो संस्करण सुरु

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

3rd edition of Knitfest begins at Mandalay

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण बुधबार सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै औपचारिक सुरुवात महोत्सव आरम्भ भएको हो ।

महोत्सव उद्घाटन गर्दै उनले भनिन्, ‘सन् २००० मा आरोहण गुरुकुल खोल्दाखेरी हामी सबै कलाकारले जागरुक भएर नाटकलाई एउटा गन्तव्यमा पुर्‍याउने सपना देखेका थियौं । त्यो दिन सम्झेर र आजको दिन देखेर अत्यन्त खुसी लागेको छ। अहिलेको रंगमञ्चलाई नयाँ पुस्ताका कलाकारले जसरी धानेर राखेका छन्, त्यो राम्रो भइरहेको छ भनेर गर्वका साथ भन्छु ।’

कुलपति शर्माले विदेशीहरू हिमाल हेर्नमात्र नेपाल आउने नभई यहाँको कला संस्कृति बुझ्न पनि आउने बताइन् । तर आफू सरकारी पदमै भए पनि यस क्षेत्रमा जति काम हुनुपर्थ्यो हुन नसकेको बताइन् । बजेटकै कारण ती काम गर्न नसकेको उनको भनाइ छ ।

महोत्सवमा स्वागत मन्तव्य राख्दै निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले भने, ‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो । आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं । महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गरिरहेका छौं ।’

औपचारिक उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर असोएसिनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेडकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले आफ्नो मन्तव्य राखेका थिए ।

चैत १२ गतेसम्म चल्ने महोत्सव १२ देशका १७ नाटक मञ्चन हुँदैछन् । महोत्सवमा नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रमहरु समावेश छन् ।

कान्तिपुर

Link copied successfully