अमेरिकामा खिचिएको ‘हिउँको गीत’को पोस्टर सार्वजनिक

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

The poster of ”Snow Song” shot in America has been released

काठमाडौँ — रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा बनेको पहिलो फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा अभिनेत्री वर्षा राउतलाई केन्द्रमा देख्न सकिन्छ ।

सुवेदी थिएटर भिलेजमार्फत् प्रयोगधर्मी नाटक गर्ने र‌ंगकर्मीका रूपमा  परिचित छन् । ‘हिउँको गीत’मा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रीय भूमिकामा रहेका छन् । 

फिल्म ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । फिल्मलाई ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।

फिल्मले नेपालीभाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको सुवेदीको भनाइ छ । फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट,  संघर्ष,  नेपाली भाषी भुटानीमाथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले बताए । 

फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् । 

फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully