फिल्म लेखन सिकाउँदै 'राजी' लेखक भवानी अय्यर

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

'Raazi' writer Bhavani Iyer teaching film writing

काठमाडौँ — शिक्षा फाउन्डेसन नेपालद्वारा 'कथासथा'सँगको सहकार्यमा फिल्म सम्बन्धि 'पटकथा लेखन कार्यशाला' सुरु भएको छ । बलिउडका चर्चित फिल्म 'ब्ल्याक', 'गुजारिस', 'लुटेरा', 'राजी', 'स्यामबहादुर'जस्ता फिल्म लेखेकी पटकथाकार भवानी अय्यरले १६ लेखकलाई कार्यशालामा लेखन सिकाउँदैछिन् ।

लेखकहरूका कथाहरुमाथि प्रतिक्रिया दिँदै लेखन शिल्प, फिल्मकर्मी, उद्योगसँग लेखकहरूका सम्बन्ध निर्माण गरिदिने उद्देश्यसहित यो कार्यशाला सुरु भएको हो ।  'गो टेल इट अन दि माउन्टेन'शीर्षकमा चैत ४ देखि ७ सम्म यो कार्यशाला सञ्चालन हुनेछ ।  

यो कार्यशालामा सहभागी फिल्म लेखकले आफ्ना निर्माणाधीन कथामा अय्यरका अनुभव र ज्ञानबाट ती कथालाई निर्माण गर्नेछन् । कार्यशालाको अन्तिम दिन निर्माता, फिल्मकर्मी र फिल्मसँग सम्बन्धितहरुसँग यी पटकथाकारले आफ्नो कथा सुनाउन(पिच) गर्नेछन् । फिचर फिल्मसहितको आवेदन कार्यशालाले मागेको थियो । महिला, जनजाति, मधेशी र यौनिक तथा अल्पसंख्यक समुदायका लेखकलाई प्राथमिकता दिई आवेदन खुल्ला गरिएको थियो । 

कार्यशालाको अन्तिम दिन भवानीसँग अन्तरक्रियात्मक कार्यक्रम पनि राखिएको छ । वितरक एवं फिल्मकर्मी प्रचण्डमान श्रेष्ठसँगको सहकार्यमा यो कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ । सन् २०११ मा स्थापना भएको शिक्षा फाउन्डेसनअन्तर्गतको कथासथाले लेखनमा लेखकलाई सघाउ पुर्‍याउँदै आइरहेको छ । कथासथा कथाले समुदायलाई मजबुत बनाउँदै लैजानेमा विश्वास राख्छ । कथासथाले लेखनसम्बन्धी कार्यशाला, मेन्टरसिप कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

नेपाली पटकथाकारलाई आफ्नो अनुभव सुनाउन निकै उत्साहित रहेको भवानीले बताइन् ।'म नेपालमा भएका लेखकसँग आफ्नो अनुभव र ज्ञान बाँड्न निकै उत्साहित छु । यो मेरो पहिलो नेपाल भ्रमण पनि हो । हामी साउथ एसियनहरुले कस्तो कथा भन्नुपर्छ भन्ने विषयमा कार्यशाला केन्द्रित हुनेछ,'भवानीले भनिन् । 

कान्तिपुर

Link copied successfully