काठमाडौँ — सांसद असीम शाहले चलचित्रकर्मीहरूको सेन्सरसिपसम्बन्धी आन्दोलनमा ऐक्यबद्धता जनाउने बताएका छन् ।प्रतिनिधिसभा बैठकमा उनले फिल्म ‘राजागन्ज’माथि सेन्सर बोर्डले लगाएको सेन्सरविरुद्ध आवाज उठाउँदै भने आफूले पनि सेन्सरविरुद्धको आन्दोलनमा साथ दिने बताएका हुन् ।
‘सार्वजनिक रूपमै संविधानसभाबाट बाहिरिने दलहरूलाई रुखबाट झरेको आँपको सज्ञा नेकपा एमालेका अध्यक्षले दिनुभएको थियो । उक्त भाषणको दृश्य फिल्ममा समेटेकोमा आपत्ति जनाउँदै सेन्सर बोर्डले दृश्य संवाद काटेर मात्र राजागन्जलाई प्रदर्शन अनुमति दिएको छ,’ उनले भने, ‘चलचित्र रिलिजको मुखमा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति अहिले सेन्सर बोर्डमा देखिएको हो । जसको सिकार पछिल्लो समय लाज शरणम्, राजागन्ज थुप्रै चलचित्रहरूमा रहेका छन् ।’
उनले समाजका कुरा चलचित्रमार्फत् व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे ।
सेन्सर बोर्डमा राजनीतिक नियुक्ति पाएका सदस्यहरूलाई पदमुक्त गरी चलचित्र कला बुझेका मान्छेलाई नियुक्त गर्न पनि सरकारसँग माग गरे । उनले भने, ‘यसरी फिल्ममा अनावश्यक कैंची चलाउँदा सरकारको आयु पनि त्यही र्कैंचीले काटिएला भनेर होस गर्न पनि आग्रह गर्दछु ।’ सांसद शाह फिल्मकर्मीसमेत हुन् ।
अहिले ‘राजागंज’माथि सेन्सर बोर्डले कैंची चलाएपछि फिल्मकर्मीहरूले विरोध जनाइरहेका छन् ।
