सुरु भयो भ्वाइस युनिभर्स र डान्स युनिभर्सको पूर्वी अडिसन

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

The Voice Universe and Dance Universe East auditions have started

झापा — विश्वभरका नेपाली प्रतिभाहरु प्रतिस्पर्धा हुने दुई रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को पूर्व क्षेत्रमा शनिबारदेखि अडिसन सुरु भएको छ । 

पूर्वका दुई स्रष्टा वरिष्ठ गीतकार शिवशंकर थापा र वरिष्ठ गायक कुवेर राईसहित आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर अडिसन सुरु गरे । उक्त अवसरमा अध्यक्ष अधिकारीले नेपाली संगीत क्षेत्रमा स्थापित स्रष्टाद्वयलाई पुष्पगुच्छा एवं नगदसहित सम्मान गरेका थिए । 

अध्यक्ष अधिकारीले कलाकार समाजका अगुवा हुने हुनाले समाजलाई उदाहरण बनेर डोहोर्‍याउन आग्रह गरे । उनले नेपालीपन र नेपाली पहिचानलाई विश्वभर रहेका नेपालीजनमा जीवन्त राख्न, अर्को पुस्तामा पनि नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न र विश्वभरका नेपालीलाई नेपाली कला संस्कृतिका माध्यमबाट नेपालसँग जोड्नका लागि यी दुई रियालिटी शो आयोजना गरिएको बताए ।

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स पूर्वी क्षेत्र अडिसनका संयोजक रुपक ओडारीका अनुसार, सो क्षेत्रमा दुवै शोका लागि ११ सय ४३ प्रतिभाहरुले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन् । पहिलो दिन शनिबार विर्तामोडको ग्रीन फिल्ड स्कुलमा बिहान ११ बजेदेखि सुरु भएको अडिसनमा ६ सयको हाराहारीमा प्रतिभाहरुले प्रतिस्पर्धा गरेका छन् । बाँकी प्रतिस्पर्धी आइतबार सहभागी हुनेछन् । 

The Voice Universe and Dance Universe East auditions have started

आयोजक संस्थाका राजेश घतानीका अनुसार, इच्छुक प्रतिभाहरुले सिधै अडिसनस्थलमा गएर पनि नाम दर्ता गराउन सक्ने व्यवस्था भएकाले सहभागीहरुको संख्या बढेको हो । गायनमा प्रतिस्पर्धीहरुको संख्या धेरै भएकाले प्रिअडिसनमा छनौट भइसकेपछि अडिसनमा सहभागी गराइएको र त्यसबाट पनि छनौट भएकाहरुलाई फाइनल अडिसनमा लगी अन्तिम छनौट गरिएको छ । नृत्यका लागि भने प्रि अडिसन र फाइनल अडिसन गरी दुई चरणमा प्रतिस्पर्धीहरुको छनौट प्रक्रिया निर्धारण गरिएको उनले बताए ।

यी दुई रियालिटी शोको लन्डन, पोर्चुगल,अस्ट्रिलिया, जापान, थाइल्याण्ड, हङकङ, दुवई, कतार, मुम्बई र सिलिगुडीका अडिसनहरु सम्पन्न भइसकेका छन् । नेपालमा पनि पोखरा र नेपालगन्जका अडिसन समापन भएका छन् भने विर्तामोडपछि चैत्र १६ र १७ गते काठमाडौंमा अडिसन हुने आयोजकले जनाएको छ । 

प्रथम हुनेले सर्वाधिक पुरस्कार राशि एक करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख रकम पाउने यी दुवै शोहरुमा संसारभरबाट एक सय २० जना गायनमा र त्यत्ति नै संख्यामा नृत्यमा प्रतिभाहरु छनौट गरेर काठमाडौं लगिने आयोजकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully