‘भूठान’मा शरणार्थी बाँचेका हरिवंश

फाल्गुन २९, २०८१

समर्पण श्री

Harivansh who survived as a refugee in 'Bhuthan'

काठमाडौँ — अभिनेता हरिवंश आचार्य ‘हास्य कलाकार’को ट्यागबाट बाहिर निस्कन चाहन्थे । हुन त २०५४ सालमै उनले ‘बलिदान’मा क्रान्तिकारी पात्र बनेर निर्देशक तुलसी घिमिरेको मन जितेका पनि हुन् ।

सधैं हँसाइरहने हरिवंशको अलग भूमिकाले धेरैलाई रुवाएको पनि थियो त्यतिबेला ।

पछिल्लो समय प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ नै होस् वा ‘महाजात्रा ।’ दुवै फिल्ममा उनको हँसाउने भूमिका थिएन । ‘तैपनि मलाई त्यो ट्यागबाट बाहिर निस्कन गाह्रो भयो,’ हरिवंश भन्छन् ।

तर यसपटक हरिवंश विश्वस्त रहेछन् । फिल्म ‘भूठान’मा भूटानी शरणार्थीको भूमिकामा देखिएका उनले समग्र कथालाई नै लिड गरेका छन् । गुरु हरिप्रसाद रिमालको सम्झना गर्दै उनी ‘भूठान’को आफ्नै काम नियाल्छन् । अनि भन्छन्, ‘मलाई उहाँले नाटकमा धेरै सिकाउनुभयो । आँखा र जेस्चरले गर्ने अभियन सिकाउनुभयो । डाइलग बोल्ने तरिका र उतारचढाव सिकाउनुभयो । त्यही कुरा मैले भूठानमा काम गर्दा सम्झिएँ ।’

‘भूठान’का निर्देशक विनोद पौडेलले केही वर्षअघि ‘बुलबुल’ बनाएका थिए । त्यतिबेला हरिवशंको मनमा सुशुप्त इच्छा जागेको थियो, ‘यो निर्देशकसँग कुनैबेला काम गर्न पाऊँ ।’

नभन्दै एकदिन विनोदले काम गर्ने अफरसँगै हरिवंशलाई नयाँ फिल्मको पटकथा पठाए । ‘स्क्रिप्ट अमूर्त छ । पढेर बुझिहाल्न गाह्रो । दुई तीन पटक पढेँ । त्यसमा केही काम देखाउन सक्छु कि भन्ने आशा पलायो,’ हरिवंश भन्छन् । 

काम गर्ने योजना बुनेसँगै उनको मनभित्र एउटा अनौठो डर पलाउन थाल्यो । हुन त अभिनय कर्ममा पर्दापण गरेदेखि उनलाई डरले छाडेको छैन । ‘यो ५० वर्षको अवधिमा रेगुलर सो हुँदा पनि स्टेजमा जानुअघि डर लाग्छ । डर नै सबैभन्दा ठूलो सिरियसनेस हो,’ उनी भन्छन् । त्यही गाम्भीर्यताका लागि उनीभित्र डर जमेको थियो । फिल्ममा प्रमुख पात्रले गह्रुगो भारी उठाउनैपर्ने लाग्छ हरिवंशलाई । त्यसमाथि नेपाल र हलिउडको जोइन्ट भेन्चर । हलिउडका विख्यात कलाकार ब्रुस डर्नसँग स्क्रिन सेयर । डरले डेरै जमाउन थाल्यो । ‘जब निर्देशकले सन्तुष्टि जनाए, मनिटरमा आफ्नो काम हेरेँ । डरलाई जित्दै गएँ । अनि झन् मेहेनत गर्ने बाटो खुल्यो,’ उनी भन्छन् ।

चरित्रमा बाँच्नका लागि नकाटी राखेका लामा कपाल, बढ्दै गएका दाह्री र पटकथामा पात्रले डोहोर्‍याएको संसारलाई हरिवंशले अपनाउँदै गए । रोचक त वर्कसपमा बस्दा थियो । कारण, उनलाई नातिका उमेरका पुस्ताले प्रशिक्षण गराइरहेका थिए । ‘९ दिन वर्कसपमा बसेपछि मलाई डाइलगको पेस र सिच्वेसन बताउने भाइबहिनीहरू हलिउडकै विद्यार्थी रहेछन् । मैले पनि ध्यान दिएर बसेँ । धेरै कुरा सिकेँ,’ उनी भन्छन् । 

आफ्नो गेटअपमा देखिएको बदलाबले उनलाई हौसला बढाइरह्यो । तर केशहरू सेतो बनाउने क्रममा कपाल झर्दा भने मन कटक्क खायो । सुनाउँछन् उनी, ‘त्यतिबेला कपाल अम्रिसाको कुचो खसेजसरी टुक्रा ट्क्रा जसरी खस्यो । यो मेरो पात्रका लागि गरिएको त्याग थियो ।’

उनले अमेरिकामा रहेका भुटनिज शरणार्थीहरूसँग भेट र अन्तरक्रिया पनि गरे । ‘ त्यसकारण पनि म क्यारेक्टरभित्र राम्रोसँग पस्न सकेँ जस्तो लाग्छ,’ उनी भन्छन् ।

अमेरिकामा माइनस डिग्री सेल्सियसमा सुटिङ गर्दाका अविष्मरणीय सम्झना हरिवंशमा छ । उनी रेलवेनिर गरेको सिन सम्झन्छन् । ‘रुखको कुनापछाडि म, पारिपट्टी क्यामेराम्यान । बीचमा रेलवेको ट्र्याक । रेलवेको लिकमा धेरै मान्छे सुसाइड गर्न आउँदा रहेछन् । त्यहाँ मान्छे हिँडेको देख्यो भने रेलवेको ड्राइभरले प्रहरीलाई खबर गर्दो रहेछ । अकस्मात त्यही ट्र्याकबाट रेलवेको प्रहरी आउँदो रहेछ,’ उनी सम्झन्छन्, ‘हामीले लुकेर गरेको हुनाले पहिलो दिनको सर्ट ओके भएन ।’ 

भएछ के भने उनी लुकेर बसिरहनुपर्थ्यो, अनि रेल आउँदा जुरुक्क उठ्नुपर्थ्यो । त्यो रेल सात किलोमिटर लामो रहेछ । जाडो महिनामा रेलको छानामाथि हिउँका डल्ला हुँदारहेछन् । रेलको तीव्र गतिले माथिका हिउँका डल्ला तल खस्दा हरिवंशको मुखमा लगातार लागिरहँदो रहेछ । ‘त्यो डल्लाले लाग्दालाग्दा म ढलुँला जस्तो भइसकेको थियो । तर ढलिनँ,’ उनी सम्झन्छन्, ‘पछि मनिटरमा हेर्दा मेरो खुट्टा पहिले नै देखिएछ ।’

पहिले नै खुट्टा देखिनाले त्यो सिन फेरि गर्नुपर्ने भयो । हरिवंशलाई सकस पर्‍यो । अर्को दिनका लागि सारिएपछि हरिवंश विरक्तिए । ‘अर्को दिन हिउँ परेको थिएन । त्यो सजिलैसँग भयो । तर गाह्रो गरी गरेको चिजचाहिँ ओके भएन,’ उनी भन्छन् ।

फिल्ममा हलिउड विख्यात अभिनेता ब्रुस डर्निसँग उनको एउटा सिन छ । त्यो सिनमा संवाद हुँदैन । उनीहरूले एकले अर्कालाई हेर्छन् । सुटिङको बेलामा ब्रुसले हरिवंशको तारिफ गर्दै भने, ‘तपाईंको आँखा धेरै आकर्षक छ । धेरै राम्रो पर्फमेन्स गर्नुभयो ।’

‘यति ठूलो कलाकारले त्यतिभन्दा आशीर्वाद पाएजस्तो भयो,’ हरिवंश सुनाउँछन् । यो फिल्ममा हरिवंश र ब्रुससँगै दयाहाङ राई, पुजा चन्द लामा, ऋचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य, भारतबाट अनुराधा मजुमदार लगायतको अभिनय छ । अब फिल्म वैशाख १२ गते रिलिज हुँदैछ । 

फिल्ममा काम गर्दा निर्देशकको शैलीसँग हरिवंश लोभिएका छन् । ‘अभिनय गराउने निर्देशकको आफ्नै शैली रहेछ । म प्रभावित भएँ,’ उनी भन्छन् ।

आजकल यस्तै किसिमका पात्रहरूमा काम गर्न चाहन्छन् हरिवंश । ‘ताकि म पुराना ट्यागबाट बाहिर निस्कन सकुँ,’ उनी प्रस्ट्याउँछन् । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully