‘निटफेस्ट’मा १२ देशका १७ नाटक

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

17 plays from 12 countries in 'Nitfest'

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएका छन् । आयोजक मण्डला थिएटरले पोस्टर र नाटक सूची सार्वजनिक गर्दै महोत्सवबारे जानकारी दिएको हो ।

महोत्सव संयोजक केदार श्रेष्ठका अनुसार, महोत्सवमा पठाइएका संसारभरका जम्मा १ सय १५ नाटक आवेदनमा परेका थिए ।

तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको हो । त्यसबाहेक आयोजक संस्था मण्डला थिएटरबाट १, तीन सहरका स्थानीय आयोजकका ३ र चौतारी नाटक १ गरी जम्मा १७ नाटक छानिएको श्रेष्ठले जानकारी दिए ।

नेपालबाट ‘झोडा’ र ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ छनोटमा परेका नाटक हुन् । जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको  ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ लगायत नाटक मञ्चन हुनेछन् ।

यसपटक ४ सहरमा हुने निटफेस्ट काठमाडौंस्थित मण्डला थिएटर सँगसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ ।

महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकार आउनेछन् । स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना गरिने निटफेस्टमा कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनीलगायतका गतिविधि समेटिएका छन् ।

महोत्सवमा विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया हुनेछ, जसको अन्तिम जानकारी केही दिनमा सार्वजनिक गरिने आयोजकको तयारी छ ।

महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो । चलचित्र अभिनेता तथा रङ्गकर्मीका रूपमा सक्रिय अभिनेता दयाहाङ राई निटफेस्ट २०२५ का निर्देशक हुन् । निटफेस्ट चैत १२ सम्म चल्नेछ ।  

कान्तिपुर

Link copied successfully