धनकुटा — सर्वनाम नाट्य समूहको संयोजनमा धनकुटामा सोमबार विभिन्न १३ मुलुकका नाट्यकर्मीले संयुक्त रुपमा सडक नाटक प्रस्तुत गर्ने भएका छन् ।
इन्टरनेसलन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा सडक नाटक प्रस्तुत गरिने सर्वनामका संस्थापक अशेष मल्लले जानकारी दिए ।
‘संस्कृतिको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको फेस्टिभलमा नेपालसहित भारत, बंगलादेश, चीन, सिंगापुर, दक्षिण कोरिया, फिलिपिन्स, फ्रान्स, बेलायत, हङकङ, ताइवान, जापान, थाइल्यान्ड, बैंकक लगायतका मुलुकका ४० जना प्रसिद्ध कलाकारको प्रस्तुति रहने मल्लले बताए । फेस्टिभल अन्तर्गत एसियाका १३ देशका विभिन्न सहरमा २ सय बढी रंगकर्मी तथा कलाकार सहभागी भइसकेको बताइएको छ ।
धनकुटा नगरपालिका–५ तल्लो कोप्चेमा सोमबार दिउँसो १ बजेदेखि उक्त नाटक प्रदर्शन हुने कोप्चे पुनः जागरण अभियानका सल्लाहकार राजेन्द्र प्रधानले जानकारी दिए ।
यसअघि काठमाडौंमा फागुन १७ देखि पाँच दिन काठमाडौं र त्यसपछि २३ देखि २५ गतेसम्म इटहरीमा उक्त नाटक प्रस्तुत गरिएको थियो । धनकुटामा भने एक दिन मात्र प्रदर्शन हुने जनाइएको छ । नाटकमा सहभागी हुन नाट्यकर्मी समूह बिहान धनकुटा पुग्दैछ ।
