के अनुराग कश्यपले मुम्बई छाडेका हुन् ?

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Has Anurag Kashyap left Mumbai?

काठमाडौँ — केही महिनाअघि फिल्ममेकर अनुराग कश्यपले बलिउड छोड्न लागेको बताएका थिए । उनले आवेगमा आएर त्यस्तो बोलेका होलान् भन्दै कतिपयले त्यस कुरालाई बिर्सिसकेका थिए । तर, अचानक उनले आफू मुम्बई छोडेर अन्यत्र सरिसकेको कुरा सार्वजनिक गरेका छन् । यो खबरले यतिबेला भारतीय सिने क्षेत्रमा सनसनी मच्चाइरहेको छ ।

उनले हालसालै मुम्बई बाहिरको आफ्नो नयाँ घरको पहिलो भाडा तिरेको बताउँदै आफूले उक्त निर्णय कार्यान्वयन गरेको जानकारी दिएका हुन् । केही महिनाअघि मात्र गत डिसेम्बर ३० मा सार्वजनिक द हलिउड रिपोर्टर इन्डियामा विशाल मेननसँगको कुराकानीका क्रममा उनले आफूले बलिउड एवं मुम्बई छाड्ने कुरा सार्वजनिक गरेका थिए ।

बुधबार मात्रै द हिन्दुसँगको कुराकानीमा उनले आफूले मुम्बई छोडिसकेको बताएका छन् । फिल्ममेकर कश्यपले बसाइँसराइको कारणबारे चर्चा गर्दै मुम्बईको हलचल र हिन्दी फिल्म उद्योगको प्रतिस्पर्धात्मक माहोलबाट आफूलाई टाढा राख्नका लागि सहर छोड्नुपरेको स्पष्ट गरेका छन् । आफूले नयाँ घरमा पहिलो महिनाको भाडासमेत तिरिसकेको उनले बताएका छन् । उनले आफू कुन राज्य वा सहरमा सरेका छन् भन्ने कुरा भने उनले हाललाई गोप्य नै राख्न चाहेको उल्लेख गरेका छन् । यद्यपि, कतिपय स्रोतका अनुसार उनी बेंगलोर सरेको हुनुसक्ने अनुमान गरिएको छ । 

'विषाक्त' बलिउड फिल्म उद्योगमा सिर्जनात्मकता र वास्तविकता कमै देख्न थालिएको हुँदा त्यसले आफू निराश भएको उनले बताएका छन् । उनले भनेका छन्, 'म फिल्म क्षेत्रका मानिसहरूबाट टाढा रहन चाहन्छु । उद्योग निकै विषाक्त भइसकेको छ । सबैजना अवास्तविक लक्ष्यहरू पछ्याउँदै छन् । ५०० वा ८०० करोड भारुको फिल्म बनाउन खोज्दैछन् । फिल्म कस्तो बनाउने भन्दा पनि कति बजेटको बनाउने भन्नेमा होडबाजी चलिरहेको छ । हिन्दी फिल्म उद्योगमा अब सिर्जनात्मक वातावरण पूर्णरूपमा हराइसकेको छ ।'

उनका अनुसार अहिलेको बलिउड फिल्म उद्योग निकै संकुचित र बजारको दबाबमा धस्सिएको छ । बलिउडका फिल्म निर्माता र प्लाटफर्महरू नयाँ र चुनौतीपूर्ण विचारहरू स्वीकार्न डराउने हुँदा कामको प्रक्रियामा अनावश्यक रूपमा सावधानी अपनाउनुपर्ने स्थिति सिर्जना भएको हुँदा त्यसले बलिउडप्रति आफूमा वितृष्णा जगाउने काम गर्को कश्यपको भनाइ छ । फिल्म निर्माणका प्रक्रियामा जोखिम लिन र नयाँ किसिमको सामग्री प्रस्तुत गर्न बलिउडलाई रुचि नभएको र त्यही कारण बलिउडका कलाकारहरू समेत सिर्जनात्मक कामको सट्टा विलाशी जीवनशैली र व्यावसायिक सफलताका पछाडि बढी आकृष्ट भएको उनको निष्कर्ष छ । यस्ता कुराले आफूलाई असन्तुष्ट बनाएकै कारण सहर छोडेको उनले बताएका छन् । 

निर्देशक कश्यपले यसअघि बलिउडमै रहेर ब्ल्याक फ्राइडे (२००७), देव–डी (२००९), गुलाल (२००९), ग्यांग्स अफ वासेपुर१,२(२०१२), अग्ली (२०१३), रमण राघव २.० (२०१६), मनमर्जियाँ (२०१८), दोबारा (२०२२), अलमस्ट प्यार विथ डिजे मोहब्बत(२०२२) लगायतका फिल्ममा काम गरिसकेका छन् ।

यस्तै, दक्षिण भारतीय फिल्महरूमा पनि उनको सहकार्य देखिन्छ । सन् २०२४ मा 'नयनतारा: बियोन्ड द फेरिटेल' नामक डकुमेन्ट्रीका सहनिर्माता रहेर, २०२२ कै तमिल सिनेमा 'कनेक्ट' मा निर्माता रहेर र २०२३ को विजय सेतुपतीसित तमिल फिल्म 'महाराजा' मा खलनायक भएर उनले साउथ इन्डियन फिल्महरूसँगको सहकार्य बढाउँदै आएको देखिन्छ । गत डिसेम्बरमै पनि उनी आशिक अबूको मलायलम फिल्म 'राइफल क्लब'मा समेत अभिनय गरेका थिए । सेतुपतीसँगको फिल्म 'महाराजा'मा निभाएको केमियोले कश्यपलाई राम्रै चर्चासमेत दिलाएको थियो । छोटो अवधिका लागि हुँदाहुँदै पनि उनले निभाएको चरित्रले फिल्मको कथामा फिल्ममा गहिराइ थपिदिएको थियो । फिल्मलाई आम दर्शक र समीक्षकहरूले पनि उत्तिकै रुचाएका थिए । 

'महाराजा'को सफलतासँगै कश्यप पछिल्लो समय दक्षिण भारतीय फिल्महरूमा विशेष रुचि देखाइरहेका छन् । अभिनयका साथै धमाधम फिल्म निर्माणमा समेत जुटेका छन् जसले उनको नयाँ यात्रालाई झनै रोचक बनाउने अनुमान गर्न सकिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully