ट्रेलरबिनै फिल्म रिलिज

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Movie release without trailer

काठमाडौँ — पछिल्लो समय पोस्टर, टिजर र ट्रेलर रिलिज फिल्म प्रचारको महत्त्वपूर्ण सामग्रीका रुपमा लिइन्छ । अझ फिल्म रिलिजअघि ट्रेलर सार्वजनिक गर्नु निर्माण टिमलाई प्रचारको सबैभन्दा बलियो अस्त्र हो ।

तर यसपालि ट्रेलरै सार्वजनिक नगरी कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ प्रदर्शनमा ल्याइएको छ ।

‘लाज शरणम्’सँगै आजबाट प्रदर्शनमा आएका निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ र दिवाकर भट्टराई निर्देशित ‘मायावी’ दुवैले ट्रेलर सार्वजनिक गरे ।

यो फिल्मले ट्रेलर सार्वजनिक नगर्नुको कारण भने फिल्मलाई लिएर पूर्वमन्त्री अफताव आलमले हालेको मुद्दाको सन्दर्भसँग जोडिन्छ । पूर्वमन्त्री आलमले ‘लाज शरणम्’को पात्रमा आफ्नो आवरण हुबहु मिलेको भन्दै निर्माण टिमविरुद्ध मुद्दा हालेका थिए ।

निर्माण टिमले ट्रेलर रिलिजको मिति पनि घोषणा गरिसकेको थियो ।

तर ट्रेलर रिलिज हुने अघिल्लो दिन उच्च अदालत पाटनले सेन्सर बोर्डले अनुमति नदिई प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि निर्माण टिमले पूर्वनिर्धारित प्रचारप्रसारका सबै कार्यक्रम स्थगति गर्‍यो । त्यसअघि राखेका प्रचार सामग्री पनि हटायो । ‘यिनै झमेलाका कारण ट्रेलर रिलिज गर्न भ्याइएन,’ निर्माण टिमका एक सदस्यले भने । 

अब फिल्म रिलिजकै क्रममा केही दिनभित्र निर्माण टिमले ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully