बर्लिनालेमा 'ह्युमन रिप्रिन्ट'

प्रोजेक्सन कक्षसँगै जोडिएको यही सिटको करिब १० पंक्ति अघिल्तिर बस्न आइपुगे- ‘प्यारासाइट’ निर्देशक बोङ जोन हो र ‘ट्वाइलाइट’बाट ख्याति कमाएका रोबर्ट प्याटिन्सन । अरु के चाहियो । अनि सुरु भयो– ‘मिकी १७’ को विश्व प्रिमियर- ह्युमन रिप्रिन्टको कथा ।

फाल्गुन १३, २०८१

रीना मोक्तान

'Human Reprint' at Berlinale

जर्मनी — एक्सक्युज मी ! के तपाईं आफ्नो सिट मसँग बदल्न सक्नुहुन्छ ?

अर्ध उमेरकी यी महिलाको मलिन आग्रहले ‘बर्लिनाले पलास्ट’ भित्रको चहलपहलबाट ध्यान मोडियो ।

पलास्टको रेड कार्पेटमा ‘७५ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल-बर्लिनाले’को आकर्षणमध्ये एक रोबर्ट प्याटिन्सन हिँड्दै छन्, मनै लोभ्याउने मुस्कानसहित । फ्यानहरुसँग फोटो खिचाउँदै, अटोग्राफ दिँदै । उनी हिँड्दै गरेको भिडियो पलास्टको हलभित्र चल्दै छ । चर्चित कोरियाली निर्देशक बोङ जोन हो पनि रेड कार्पेटमै ।

दुईको यो भव्य रेडकार्पेट हिँडाइको साक्षी बन्ने हतारोमा सहजै तिनको आग्रह मानेँ । पर्दाको ठिक दायाँतिरको सिट जिम्मा लगाउँदै टिकटमा अंकित ठाउँ खोज्छु, आह्हा ! कस्तो संयोग, सिट त पर्दाको सिधा पो छ । प्रोजेक्सन कक्षसँगै जोडिएको यही सिटको करिब १० पंक्ति अघिल्तिर बस्न आइपुगे, बोङ र रोबर्ट । ‘प्यारासाइट’ निर्देशक हो र ‘ट्वाइलाइट’बाट ख्याति कमाएका रोबर्ट प्याटिन्सन ! अरु के चाहियो । अनि सुरु भयो– ‘मिकी १७’ को विश्व प्रिमियर- ह्युमन रिप्रिन्टको कथा ।

बर्लिनमा रहेको पोस्टड्यामर प्लाजमा अवस्थित ‘बर्लिनाले पलास्ट’मा फेस्टिभलका यस्तै मुख्य प्रतिस्पर्धाका फिल्महरु देखाइन्छन्, आज ‘मिकी १७’को पालो । 

ह्युमन रिप्रिन्टको कथा ? अर्थात् मान्छेको मुद्रण ! आखिर मान्छेको मुद्रण गर्न सके के हुन्थ्यो होला ! यो विश्व कस्तो बन्थ्यो होला ! सबैसँग मुद्रणको उस्तै शक्ति भइदिए, कतिले आफूलाई नै मुद्रण गर्थे होला ! आफ्ना प्रियजनको प्रिन्ट कति गरिन्थ्यो होला ! सजिलै कुनै कुराको मुद्रण गर्न सकिएको भए ती महिला किन सिट बदल्ने आग्रहसहित भौंतारिरहन्थिन् ? आफूलाई चाहिएको टिकटै मनग्य छपाउन सक्थिन् । टिकटै मुद्रण गर्न सकिएको भए सबैले रोबर्ट र बोङ छेवैको टिकट छपाउँथे होला । 

तर, वास्तविक संसारमा कहाँ यस्तो हुनु ! टिकट मुद्रण गर्दा सिट पनि मुद्रण गर्नैपर्‍यो, एउटै सिटको कहाँ प्रतिमुद्रण सम्भव हुनु ? सिट र टिकटको मुद्रण गर्न मिल्दो हो त, बर्लिनालेको प्रेस अफिससम्म ‘मिकी १७’को टिकट मिलाइदिऊँ भन्दै पुग्नु पर्थेन, मलाई ।

फेस्टिभलका चौतर्फी कार्यक्रम, पत्रकार भेला, अन्तर्वार्ताको भागदौडबीच ‘मिकी १७’को टिकट बुकिङ हातबाट खुस्कियो । बोङजस्ता निर्देशकद्वारा निर्देशित फिल्मको विश्व प्रिमियरमा अधिकांशको नजर पर्ने भइहाल्यो । टिकट खुल्नासाथ एकै क्षणमा ‘मिकी १७’को सो सोल्ड आउट, आफू हेरेको हेर्‍यै । एउटा सिट पाइन्छ कि भन्दै दिनभर अनलाइन बुकिङका साइट स्क्रोल गर्दैमा बित्यो । अन्तत: ‘ग्रान्ड हायत’मा रहेको प्रेस अफिसमा पुगेर टिकटका लागि अनुरोध गरेँ । प्रेस अफिसले भरोसा नगर्न भन्दै झिनो आशा देखायो । आशा निराशामा बदलिएन, सो सुरु हुनुभन्दा ठिक एक घण्टाअघि टिकट हात पर्‍यो । यो पक्का हो, उनीहरुले पनि टिकट ‘रिप्रिन्ट’ गरेर जुटाइदिएका होइनन् । 

तर, बोङ निर्देशित ‘मिकी १७’को संसार अजिबको छ ।यहाँ मान्छेको मुद्रण हुन्छ । अन्तरिक्ष अभियानसँग जोडिएका केही मानिस भेला भएका छन् । अन्तरिक्ष अभियानका मुख्य व्यक्ति छन् । डाक्टर छन् र तिनैबाट यहाँ मानिसको मुद्रण हुन्छ । ऋणबाट मुक्त हुने सोचले यो अभियानमा संलग्न भएका मिकी ती तमाममध्येमा फरक छन्, कारण मरिसकेपछि पुनमुद्रण गर्न सकिने शरीर उनीसँग मात्रै छ । मर्नेबित्तिकै डाक्टरहरुको समूहले मिकीको नयाँ भर्सनमा पुरानो सम्झना राखिदिँदै उनको नयाँ शरीर निर्माण गरिदिन्छ ।

अहिलेसम्म मिकी १६ पटक मरिसके, १७औं भर्सन नयाँ स्वरुप हो । अर्थात् उनी १७ औं पटकसम्म मुद्रित गरिएको मिकी नै हुन् । १७औं मिकी पनि लगभग मर्ने अवस्थामा पुगिसक्छन्, संयोगले उनी बाँच्छन् । तर, मर्ने र बाँच्ने यो चक्रमा तब समस्या आउँछ जब, मिकी १७ जीवितै हुँदा १८ औं भर्सन मुद्रित हुन्छ । अब मिकी १७ ले आफ्नो अस्तित्त्व बचाउन के गर्लान् ? मिकी १८ ले त्यसको प्रतिकार कसरी गर्लान् ? यो अन्तरिक्ष अभियानमा रहेकाहरुले यसलाई कसरी हेर्लान् ? आखिर मिकी १७ कै प्रेमिकाले पनि मिकीको नयाँ भर्सनलाई कसरी प्रेम जताउलिन् ?

बोङको यो साइफाइ (साइन्स फिक्सन) विधाको कमेडी फिल्ममा प्रेम छ, हाँसो छ, रोदन छ । सुन्दर सन्देश छ । गरिब र धनीबीचको खाडल छ । शक्तिमा रहेकाहरुले कमजोरमाथि कसरी अधिपत्य जमाउँदै आएका छन्, उनीहरुले पूरा विश्वलाई कसरी आफ्नो कब्जामा लिइरहेका छन् भन्ने सशक्त व्यंग्य छ । 

झट्ट हेर्दा फिल्मको कथा सामान्य छ, तर मिकी पात्रमार्फत फिल्मले मानवता हराउँदै गएको यो समाजसँग प्रश्न गर्छ- तिमीभित्रको मानवता कहाँ विलिन भयो ? फिल्मले सम्पन्न बन्दै गएको समाज, शक्ति संरचनाबीच कसरी मानवता गुम्दै जान्छ भन्ने देखाउँछ । फिल्ममा यस्ता केही दृश्य छन्, जसले हामीलाई आफूभित्रको मानवता खोतल्न लगाउँछ । एलियन जसलाई ‘क्रिपी क्रिएचर्स’को नाम दिइएको छ, उनीहरुसँगको मानव संघर्ष, एलियनले आफ्ना परिवारका लागि चालेका हर कदममा मानवतामाथिको ठूलो प्रश्न खडा गरिन्छ ।

फिल्मले एलियनमार्फत यो संसार जोगाउन रवातावरणलाई सन्तुलित राख्न के गर्नुपर्छ, वातावरणमा सबै प्राणी मिलेर बस्नुपर्छ भन्ने मिहिन पक्षमाथि विमर्श गर्छ ।

मिकी निकै निर्दोष स्वभावका छन्, उनी साधारणहरुको बीचमा असाधारण छन् । मिकीको बोली सुस्त छ, उनी विस्तारै बुझ्छन् सबै कुरा । तर, उनको त्यही निर्दोष शैलीमार्फत ‘मिकी १७’ले दर्शकलाई मानवता बचाइराख्नुपर्ने बलियो सन्देश दिन्छ । 

‘प्यारासाइट’मा झैं यसमा पनि बोङले यी वर्गीय भिन्नताले निम्त्याउने फरक आयाम पस्केका छन् । शक्ति, संरचनामाथिको पकड हुनेहरुले कसरी गरिबमाथि शाषण गर्दै आइरहेका छन् भन्ने उदाहरण हो, मिकी र केनेथ मार्सलको सम्बन्ध । केनेथ शक्तिको उन्मादमा जे पनि गर्न सक्ने सामर्थ्य राख्छन् । महत्त्वकांक्षा, शक्तिको दुरुपयोगमा उनीभित्रको मानवता हराइसक्यो । यो पात्र केवल आफ्नो स्वार्थका लागि गरिबहरुमाथि दमन गर्छ । शक्तिमा भएकाहरुले कसरी शक्तिको दुरुपयोग गर्छन्, उनीहरुद्वारा समाजको सन्तुलन कसरी बिग्रन्छ भन्ने विषय पनि फिल्म सुन्दर ढंगले देखाएको छ । 

‘द ब्याटम्यान’, ‘टेनेट’जस्ता फिल्ममा अभिनय गरेका रोबर्टले यो फिल्ममा आफ्नो आवाजमा सुन्दर काम गरेका छन् ।

बर्लिनालेमा यो वर्ष रोबर्टको मात्रै होइन, टिमोथी स्यामलेटजस्ता कलाकारले चरित्र चित्रणमा गरेको मेहनत, कथा वाचनमा त्यसले पारेको प्रभाव देखियो । बब डिलनमाथि अभिनय गरिरहँदा यी कलाकारले बबका गीत आफैले गाए, गितार बजाउन वर्षौं खर्चे । बबका चर्चित गीतलाई स्यामलेटले त्यही सुर र तालमा गाउँदै गर्दाका नतिजाको साक्षात्कार बने, दर्शक । त्यति मात्रै होइन, बेनिडिट कम्बरब्याचले ‘द थिङ विथ फेदर्स’मा बुवाको चरित्रमार्फत उक्त पात्रभित्रको जटिल अनुभव र भावनालाई व्यक्त गर्ने अभिनयको प्रस्तुत गरे ।

मिकीको निर्दोष स्वभावलाई प्रस्तुत गर्न ‘ब्याटम्यान’ले यहाँ बोलीमा काम गरे । तर, कताकता रोबर्टको यो चरित्र 'फरेस्ट गम्प'मा टम ह्यांक्सले उहिल्यै गरिसके जस्तो सुनिन्थ्यो । त्यसअर्थमा निर्देशक बोङले यो चरित्रलाई फरक तरिकाले प्रस्तुत गर्न सक्ने थुप्रै ठाउँ त्यसै छाडिदिएका छन् । मिकीको बोल्ने शैली फरेस्टकै बोलीसँग मिल्दो सुनिन्छ । तर, रोबर्टले दुई पात्रलाई नै बलियो ढंगले पस्केका छन् । मिकी १७ को निर्दोष शैली, लचिलो स्वभाव पस्किरहँदा ‘डुप्लिकेट’ मिकी १८ को कठोरपन, उग्रवादी व्यवहारलाई बाँचिदिए ।   

उपन्यास ‘मिकी ७’ माथि आधारित यो फिल्ममा केही त्यस्ता ठाउँ छन्, जहाँ बोङ कमजोर लाग्छन् । हराउँदै गएको मानवता, एलियन (क्रिपी क्रिएचर्स) र मानवले आफ्नो अस्तित्त्वका लागि गर्ने संघर्षमाथि यसअघि फिल्म नबनाएका होइनन् । त्यस अर्थमा बोङको यो फिल्म खासै नौलो त होइन । तर, जसरी यसले विषयवस्तुको गहिराइमा पुगेर दर्शकसँग गहन मुद्दामामा सञ्चार गर्छ, त्यस अर्थमा बोङ संवेदनशील, सचेत र सशक्त देखिन्छन् । 

वार्नर ब्रदरजस्ता हलिउडको ठूलो कम्पनीसँगको सहकार्यमा थुप्रै नाम चलेका निर्माताले निर्माण गरेको यो फिल्म संसारभर मार्च ७ देखि प्रदर्शनमा आउँदै छ । बोङले ६ वर्षअघि निर्देशन गरेको फिल्म ‘प्यारासाइट’, ‘मिकी १७’ भन्दा निकै फरक थियो । न त्यसमा रोबर्टजस्ता हलिउड कलाकार नै थिए, न हलिउडका ठूला कम्पनी फिल्मसँग जोडिएको थियो ।

यथार्थवादी फिल्म बनाएका अस्कर विजेता बोङलाई ‘मिकी १७’जस्तो साइन्स फिक्सन विधामा कसरी रुचि जाग्यो होला ? पत्रकार सम्मेलनबीच बोङले हाँस्दै जवाफ दिएका थिए, 'ह्युमन रिप्रिन्ट आफैमा रोचक र कमिक विषय हो । अनि रोबर्ट प्याटिन्सन प्रिन्टेबल पनि !'

१ सय ३७ मिनेटपछि पलास्टभित्रको हलको रातो पर्दा झर्‍यो । तालीको गडगडाहटबीच बोङ र प्याटिन्सन बस्दै गरेको ठाउँबाट विस्तारै उठे । दर्शकले करिब ५ मिनेटको स्ट्यान्डिङ ओभेसन दिए ।कतिले सिटीसमेत बजाउँदै हुटिङ गरे । बोङले दर्शकलाई हेर्दै हात हल्लाइरहे । प्याटिन्सन त दंग हुँदै रम्न थाले ।

त्यसपछि मञ्च उक्लेका बोङले दर्शकलाई आफ्नो कुराले हँसाइहाले, 'फिल्म हेर्न अन्तिमसम्म बसिदिनुभयो, धन्यवाद ।' बोङ र प्याटिन्सनको यो फिल्म उनीहरुसँग एउटै हलभित्र बसेर हेर्नुको मज्जा बोङलाई 'ब्याटम्यान' रिप्रिन्ट गरेजस्तै थियो । 'रोबर्ट प्याटिन्सन प्रिन्ट गर्दै धेरै रोबर्टहरु बनाउने कुरा सोच्नु नै निकै रमाइलो थियो,' बोङले यसो भन्दा पूरा पलास्ट हाँसोमय बन्यो ।

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully