लमजुङ — उत्पीडित समुदायको ज्ञान, सीप, क्षमता र समाजप्रतिको योगदानलाई नेपाली सिनेमाले अस्वीकार गरिरहेको वक्ताहरूले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले लमजुङको क्व्होलासोथार गाउँपालिका-३, घलेगाउँमा शनिवार गरेको सिनेमा संवादमा वक्ताहरूले उत्पीडित समुदायलाई सिनेमामा कमजोर पात्रको रुपमा मात्रै उभ्याइने गरेको बताए।
‘सिनेमामा आदिवासी र सीमान्तकृतको स्वर’ शीर्षकमा भएको छलफलमा निर्देशक नवीन सुब्बा, नेता एवम् विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदीसँग कान्तिपुरकर्मी पत्रकार दीपक परियारले संवाद गरेका थिए ।
वक्ताहरूले सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृतरुपमा आउन नसकेको बताए । यसको मुख्य जड जातीय मात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव समेत रहेको उनीहरूको भनाइ थियो ।
निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले भने, ‘अहिले नेपाली सिनेमामा अत्यन्तै धेरै सेन्सर भएको छ । सिनेमामा २ चीज हुन्छ, भित्रबाट हेर्ने, बाहिरबाट हेर्ने । हामीले भन्नुपर्ने चिज भनिरहेका छैनौं, सम्झौता गर्छौं ।’
‘डोल्पाली असन्तुष्ट भए भन्दैमा मीन भामले फिल्म अब बनाउन नपाउने त ?,’ उनले प्रश्न गरे । उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए । भने, ‘चलचित्रकर्मीले समाजलाई अग्रगति दिने हो । यी समस्याहरु छन्, यसरी हेर्नुपर्छ भनी अघि बढ्नुपर्छ ।’
उनले दक्षिण भारतीय सिनेमाको नक्कल गरेर नेपाली सिनेमा नहुने बताए । सिनेमा त्यसभन्दा पर हुने भएकोले समाजशास्त्र र सौन्दर्यशास्त्रको ख्याल पुर्याउनुपर्ने उनको भनाइ थियो । उनले ‘दलन’ आइसकेपछि ६ सयवटा फ्यान क्लब बनेको स्मरण गरे ।
‘सौन्दर्य मारेर यही घलेगाउँमा ठूल्ठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व रहँदैन,’ उनले भने, ‘नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीले सम्बोधन गर्न नसकेको हो ।’ आदिवासी जनजातिले निर्माण गरेका चलचित्रले नेपाली मूलधारका भनिने चलचित्रले भन्दा राम्रा कमाइ गरिरहेका प्रसंग उल्लेख गर्दै उनले त्यसतर्फ सबैको चासो नपुगेको सुनाए ।
लेखक एवम् विश्लेषक आहुतिले आदिवासी जनजातिको मुद्दा नेपाली सिनेमामा आउन थाले पनि महिला र दलितका मुद्दा समेट्ने विषयमा अझैं पछि रहेको बताए । ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार गरिँदैन । जात व्यवस्थाले पनि अशिक्षित भन्छ । बेलायतबाट आएको शिक्षाले पनि अशिक्षित भन्छ,‘ उनले भने, ‘उनीहरुलाई ज्ञान नभएका र अज्ञानी भनी चित्रण गर्नु नेपाली सिनमाको विशेषता हो।’
उनले मूल कुरा सिनमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने मूल मुद्दा रहेको बताए । उनले भने, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरू अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छैन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ।’
उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ को उदाहरण दिए । 'गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको छ । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम भएको छ,' उनको भनाइ छ ।
पूर्णबहादुरको दिमागमा यस्तो सपना हालिदिन्छ, तराईको झा, सातविघाको मालिक यादव, स्याङ्जाको न्यौपाने परिवारले देख्ने सपना देखाइएको छ । जोकर जस्तो देखिन्छ । दलित पात्रलाई निरीह जोकर देखाइएको छ । मूल प्रवृत्ति त्यस्तो छ ।’
उनले समाजमा क्रान्तिकारी, यथास्थिति र पछाडि फर्किने वा दोमन पनि हुने प्रवृत्ति रहेको बताए । समाजमा चलिआएका विषय हल्का रुपमा प्रस्तुत गर्न नहुने उनको सुझाव थियो । उनले लेखकको पनि जाति र स्वार्थ हुने गरेको भन्दै आफूलाई प्रगतिशील बनाउन आफू रुपान्तरण हुन तयार हुनुपर्ने सुझाव दिए ।
कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘मेरो जस्तै कास्ट (जात) भएको कलाकार देख्न पाएको छु । राइटर पनि देख्न पाएको छ । पहिलेको तुलनामा अहिले धेरै बढिराखेको छ ।’ उनले पहिलेको तुलनामा सुधार भएपनि अपेक्षाकृत प्रगति भने हुन नसकेको बताइन् ।
लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०/६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । ‘प्रकाश’ लेखिरहँदा नेपालको पश्चिम डोल्पा, हुम्लामा शिक्षक मधेशबाट गएको देखेको र चरित्र निर्माण गर्दा कसैले पूर्वाग्रही ढंगले लेख्छ भन्ने आफूलाई नलाग्ने बताए ।
‘सिनेमा र संगीत : कति मौलिक, कति आधुनिक ?’ सेसनमा कलाकार रिमा विश्वकर्माले संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपूतसँग संवाद गरिन् । ‘रिलदेखि एआईसम्म : प्रविधि र प्राविधिक’ सेसनमा पत्रकार सुब्रत आचार्यले कलाकार कष्मा मानन्धर र विज्ञ अनिल न्यौपानेसँग भलाकुसारी गरे ।
अन्तिम सेसन थियो, ‘सिनेमा र सरकार : नीतिमा समस्या कि नियतमा ?’ उक्त सेसनमा पत्रकार अमृत सुवेदीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीसँग संवाद गरे ।
