काठमाडौँ — काठमाडौँमा पटकथा लेखन कार्यशाला सञ्चालन हुने भएको छ । शिक्षा फाउन्डेसन नेपालले कथासथाको सहकार्यमा आगामी चैत ४देखि ७ सम्म पटकथा लेखन कार्यशाला ‘गो टेल इट अन द माउन्टेन’को घोषणा गरेको हो ।
कार्यशालामा बलिउडकी प्रख्यात स्क्रिनराइटर भवानी अय्यरले प्रशिक्षण दिनेछिन् । उनी बलिउड फिल्म ‘ब्ल्याक’, ‘गुजारिश’, ‘लुटेरा’ र ‘राजी’की स्क्रिनराइटर हुन् ।
शिक्षा फाउन्डेसन विज्ञप्ति जारी गर्दै नेपाली फिचर फिल्मका लेखकहरूलाई आफ्नो कला निखार्न र थप व्यावसायिक लेखनलाई मजबुत बनाउन कार्यशाला सञ्चालन गर्न लागिएको जनाएको छ । ‘यो कार्यशालाले कथाको मूल खोज्ने कुरामा केन्द्रित हुँदै पटकथा लेखनका विभिन्न पक्षहरूलाई समेट्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस कार्यशालाको लागि लेखकहरूले आफ्ना पटकथाहरू अंग्रेजी वा नेपालीमा पेस गर्न सक्छन् । आयोजकका अनुसार सहभागी लेखकले आफूलाई सहज हुने कुनै पनि भाषामा कार्यशालामा सहभागी हुन सक्नेछन् ।
सञ्जय लीला भन्साली र करण जोहरजस्ता फिल्म निर्माताहरूसँग मुख्य सहायक निर्देशक र सह-निर्देशकको रूपमा काम गरेका फिल्म निर्माता प्रवेश गुरुङले कार्यशालालाई सहजीकरण गर्नेछन् ।
कार्यशालामा कम्तीमा एउटा फिचर फिल्मको स्क्रिप्ट लेखेका लेखकहरूले आवेदन दिन सक्नेछन् । कार्यक्रममा उपस्थितिका लागि कुनै शुल्क नलाग्ने जनाइएको छ ।
