काठमाडौँ — नेपथ्यले अस्ट्रेलियाको श्रृंखलाबद्ध सांगीतिक यात्रा गर्नेभएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्यान्डले सातवटा अस्ट्रेलियाका सहरमा आफूलाई प्रस्तुत गर्नेछ ।
आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ । त्यसबीच ब्यान्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफूलाई उभ्याउने छ ।
नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्यान्ड नेपथ्यको यो सातौँ अस्ट्रेलिया यात्रा श्रृंखला हो ।
‘नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुति दिँदै आएको भएता पनि ब्यान्डलाई विशिष्ट कलेवरमा पहिलोपटक उभ्याउने काम अस्ट्रेलियाले गरेको थियो,’ मुख्य गायक एवं अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यहाँका श्रोता दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविष्मरणीय छाप छोड्दै आएको छ ।’ अस्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्यान्डका सदस्य र आठजना प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ।
यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेसनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’ मा आयोजना हुनेछ । त्यसको छ दिनपछि अर्थात् मार्च महिनाको ९ तारिख पर्थको ‘मेट्रो सिटी’मा नेपाली लोकरकको चीरपरिचित स्वर गुञ्जिनेछ । यो सहर वेस्टर्न अस्ट्रेलिया राज्यको राजधानी हो ।
मुलुककै पश्चिमी किनारामा यसरी प्रस्तुत हुनासाथ ब्यान्ड फेरि पूर्वी किनाराको ब्रिस्बेन पुग्नेछ । क्विन्स्ल्यान्ड राज्यको यो राजधानीस्थित ‘दि टिभोली’ हलमा मार्चको १४ तारिख प्रस्तुति रहनेछ । त्यसको लगत्तै टोली दक्षिणवर्ती टापु तास्मानियाको यात्रामा हिँड्नेछ । राजधानी होबार्टस्थित ‘ओडिअन थिएटर’ मा मार्च १८ तारिख नेपथ्यका गीतहरु सुनाइने छन् । यो हलमा यसअघि पनि ब्यान्डले कार्यक्रम गरिसकेको छ ।
पाँचौँ प्रस्तुति भने साउथ अस्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुनेछ । मार्च २१ तरिखका दिन त्यहाँस्थित ‘हिण्ड्ले स्ट्रीट म्यूजिक हल’ मा ब्यान्डले प्रस्तुति दिनेछ । त्यसलगत्तै कन्सर्टका लागि ब्यान्ड भिक्टोरिया राज्यको राजधानी मेलबर्न पुग्नेछ । मार्च २४ तारिखका दिन त्यहाँस्थित ‘फेस्टिभल हल’ मा नेपथ्यले आफूलाई उभ्याउनेछ । त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलार्द्धमै ब्यान्डका सबैभन्दा धेरै प्रशंसकहरूले भरिएको सहर सिड्नीको हुनेछ ।
अस्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा नेपथ्य कन्सर्ट ‘होडर्न पेभिलियन’मा आयोजना हुनेछ । थुप्रै विश्वविख्यात कलाकारहरुले आफूलाई प्रस्तुत गरिसकेको मुर पार्क स्थित यो हलमा नेपथ्य दोश्रोपटक उभिन लागेको हो । यसरी सिड्नीमा व्यापक दर्शकको घेरा अनुभव गरिसकेपछि ब्यान्ड स्वदेश फिर्तिको तयारीमा लाग्नेछ ।
‘श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अस्ट्रेलियामा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृत थप्छन्, ‘त्यहाँका दर्शकहरुलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ ।’
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् । नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्यान्डसँग नेपालय आबद्ध भएको यो २५ औं वर्ष पनि हो । यसबीच ब्यान्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफुलाई उभ्याइसकेको छ ।
