युवामैत्री लोकदोहोरीमा कर्णाली पहिलो

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Karnali first in Yuvaamitri Folk Dohori

काठमाडौँ — राष्ट्रिय युवामैत्री लोकदोहोरी प्रतियोगितामा तारा थापा र सुमन खड्काको कर्णाली टिम पहिलो भएको छ । राष्ट्रिय युवा परिषद् र परिषद्‌मा आवद्ध कला, साहित्य युवा सञ्जालले संयुक्तरुपमा गरेको प्रतियोगितामा तारा र सुमनको समूह विजेता बनेको हो । उनीहरूले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

काठमाडौंमा दुई दिनसम्म भएको प्रतियोगितामा पृतम पोखरेल र सबिता परियार रहेको जनकपुर टिम दोस्रो भयो । उनीहरूले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए । त्यस्तै, घनश्याम परियार र जमुना विश्वकर्माको नारायणी टिम तथा प्रकाश दुरा र आशा केसीको राप्ती टिम तेस्रो भएका छन् । 

उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पुरस्कृत गरे । मन्त्री चौधरीले युवा जागरण र सशक्तिकरणका विषयमा आयोजित लोकदोहरीले कला संस्कृति जोगाउन र युवालाई देशभित्रै केही गर्ने उत्प्रेरणा सिर्जना गर्न भूमिका खेलेको बताए । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले लोकदोहरी मार्फत् नेपाली युवाहरुलाई मुलुकभित्रै आशा र भरोसाको सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको बताए।

देशभरबाट छनोट भएकामध्ये १२ समूहलाई राष्ट्रिय प्रतियोगितामा सामेल गराइएको थियो। 

कान्तिपुर

Link copied successfully