'वर्ल्ड अफ डान्स नेपाल' सम्पन्न

माघ २५, २०८१

कान्तिपुर संवाददाता

'World of Dance Nepal' completed

काठमाडौँ — 'वर्ल्ड अफ डान्स नेपाल'को ग्रान्ड फिनाले सम्पन्न भएको छ । चर्चित अमेरिकी 'वर्ल्ड अफ डान्स'को यो नेपाली संस्करण नेपाली नृत्यकारहरुलाई विश्वसामु परिचित गराउने उद्देश्यसहित आयोजना गरिएको हो । 

सोका नेश्नल डाइरेक्टर रोशन गहतराजका अनुसार पूर्व नेपालको धनकुटादेखि पश्चिम कैलालीसम्मका ३३ नृत्य समूहले अन्तिम चरणका लागि प्रतिस्पर्धा गरेका थिए । नृत्यकारहरु जेडी तमू, निशान्त गौचन र मुकेश ढकाल प्रतिस्पर्धाका निर्णायक थिए । जेडीका अनुसार नृत्य जगतमा यो सोले फेरि नयाँ ऐतिहासिक सुरुवात कायम गरेको छ । 

प्रतिस्पर्धामा अपर टिम डिभिजन तर्फबाट बुटवलका 'द ब्रेभ गोरखा' विजेता बन्यो । काठमाडौंका 'ग्रुप ओभरडोज' दोस्रो बन्दा  ललितपुरका 'वाई स्ट्यांड क्रू' तेस्रो बने । त्यस्तै जूनियर टिम डिभिजनतर्फ काठमाडौंका 'नेपा डांस एकाडेमी' विजेता बन्दा मोरङका 'ह्याण्ड टु ह्याण्ड क्रु' दोस्रो र ललितपुरका 'क्रिएटर क्रु' तेस्रो बने ।

अपर डिभिजनतर्फ कैलालीका बब्लू एण्ड रोहित, काठमाडौंका स्वस्तिक अर्याल र झपाका एसएनएस क्विन्स क्रमश: पहिलो, दोस्रो तेस्रो बने । यी विजेताहरुले आगामी असारतिर अमेरिकामा हुने 'वर्ल्ड फाइनल'मा नेपालको प्रतिनिधित्त्व गर्ने बताइएको छ । ग्रान्ड फिनालेमा विजेताहरुलाई काठमाडौं माहानगरपालिकाका उपमेयर सुनिता डंगोलले विजयी टिमलाई ट्रफी, चेक तथा मेडल प्रदान गरिन् । 

मण्डला इन्टरटेन्टमेन्टको आयोजना सम्पन्न कार्यक्रममा भारतका विभिन्न डान्स रियालिटी सोहरु जितेकी डान्सर तेरिया मगर पनि उपस्थित थिइन् ।

कान्तिपुर

Link copied successfully